|

चितवन  :  गएको स्थानीय तहदेखि चितवन जिल्ला राष्ट्रिय राजनीतिमा निकै चर्चित बनेको छ। भरतपुर महानगरपालिकाको चुनावदेखि अहिले प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म पनि चितवनको चर्चा घटेको छैन, झन् बढ्दो छ।

चर्चाको केन्द्रविन्दुमा रहेका छन् नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। स्थानीय तहको निर्वाचनमा उनकी छोरी रेणु दाहाल चर्चामा थिइन्। कांग्रेससँग मिलेकाले एमालेले अप्राकृतिक गठबन्धन भन्यो।

एमालेका नेता देवी ज्ञवाली उहाँका प्रतिस्पर्धी थिए। मतगणनका क्रममा मतपत्र च्यातियो। पछि फेरि मतदान भयो भरतपुर १९ मा। यस्तै यस्तै घटनाक्रम जोडिैदै अन्तत रेणु दाहालले महानगर प्रमुखमा जितिन् र उम्मेदवारी दर्तादेखि शुरु भएको राष्ट्रिय बहस चल्दै पनि छ।

त्यो विषय केही सेलाउँदै थियो एक्कासी बाम गठबन्धन घोषणा भएर अहिले सोही महानगरपालिकाको अधिकांश वडा पर्ने चितवन क्षेत्र नम्बर तीनमा उनी बुबा अर्थात माओवादीका अध्यक्ष प्रचण्ड चुनाव लड्न आइपुगे।

पात्र फेरियो, गठबन्धन फेरियो तर फेरिएका छैनन् मतदाता। माहोल फेरियो, क्षेत्र फेरियो, गठवन्धन फेरियो अब मतदाताको मत पनि फेरिन सक्छ। प्रचण्डकै कारण चितवनका अरु उम्मेदवार र चुनावी कार्यक्रम त ओझेलमा परे तर देशकै चुनावीवृत्तमा समेत प्रचण्डको क्षेत्रले चर्चा पाइरहेको छ।

के छ त प्रचण्ड सामु चुनौती?

प्रचण्ड बाबुछोरीको राजनीतिका कारण भरतपुरले चर्चा पाएको हो। पहिले कांग्रेस गठजोडमा छोरी थिइन्। अहिले एमाले गठजोडमा बाबु आइपुगेका छन्। अहिले प्रचण्ड सामु पनि परीक्षाको घडी छ।

पहिलो हाल मन्त्री समेत रहेका राप्रपा उपाध्यक्ष विक्रम पाण्डे, दोस्रो बाँदरमुढे घटना, तेस्रो स्थानीय तहको निर्वाचनको तिक्तताका कारण एमालेको मत सुरक्षित गर्नु र चौथो उनले कांग्रेसको पनि केही मत चोर्नुपर्ने छ।

त्यही रणनीतिका साथ अहिले चुनावी घरदैलोमा प्रचण्ड छन्। उनलाई कांग्रेसले समेत घरदैलोमा राम्रै स्वागत गरिरहेका छन्। केही कांग्रेस कार्यकर्ताहरु समेत खुलेरै भोट हाल्ने बताउँदै आएका छन्।

चर्चा बटुलेको भरतपुर १९ मा आइतबार उनी चुनावी घरदैलोमा गए। रेणु दाहालले उनलाई अगुवाई गरेका थिए  कांग्रेसका कार्यकर्ताहरुलाई भेटाउन रेणुले नै सहयोग गरेकी थिइन्। किनकी कांग्रेसको मत पनि आवश्यक छ भन्ने प्रचण्डलाई लागेको छ।

माडीबाट धोका भयो भने भरतपुरका कांग्रेसको मत उनलाई आवश्यक पर्छ। उनले कांग्रेसका कार्यकर्ताहरुलाई रिझाउन सो क्षेत्रमा अधिकांश भाषण कांग्रेस केन्द्रित नै गरेका थिए। गिरिजाबाबुले आफूलाई देश बनाउने जिम्मा सुम्पेको र त्यही जिम्मा पुरा गर्न आएको पनि उनले बताएका छन्। गणेशमान र बीपी कोइरालाको समेत स्मरण गरेका छन्।

चितवनको साविक क्षेत्र नम्बर ४ (हाल क्षेत्र नम्बर ३ मा पर्छ) नेपाली कांग्रेसको पकड क्षेत्र हो। २०७० सालको निर्वाचनमा सुरक्षित स्थान भएकाले सुशील कोइराला उम्मेदवार हुँदा कांग्रेसले सहज रुपमा जितेको थियो। अहिले त्यही क्षेत्रमा चुनावी प्रचारमा प्रचण्ड छन्। उनले आज मात्रै भनेका छन्, “गिरिजाबाबुले, प्रचण्डजी यो देश तपाईलाई जिम्मा लगाएर जाँदैछु भन्नुभएको थियो, गिरिजाबाबुको गणतन्त्रप्रतिको निष्ठा थियो, अहिले राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिबद्धता भूल्न खोजेको छ।’

बाहिर एमाले नेता देवी ज्ञवालीले खुला समर्थन गरे पनि तल्लो स्तरमा संघर्ष गरेका कार्यकर्ताहरु सन्तुष्ट नहुन सक्छन्। एमाले र माओवादीबीच भावनात्मक एकता हुनुपर्छ। नेतृत्व पंक्ति एक भएझैं तल्लो स्तरमा त्यो देखिएको छैन।

प्रचार समितिमा रहेका एमालेका कार्यकर्ता प्रचण्डको प्रचारमा देखिंदैनन् न त सामाजिक सञ्जालमै उनीहरुले राम्ररी प्रचार गर्न सकेका छन्। यसले तिक्तता बाहिर देखिन्छ। अन्य कम्युनिष्ट पार्टी वैद्य निकटका र नेकपा मालेका नेता पनि उनकै प्रतिष्पर्धीमा रहेकाले केही भोट उनीहरुले पनि काट्छन्।

सबल पक्ष पनि धेरै छन्

प्रचण्ड चितवनबाट उठ्नु र जित्नु विकासका दृष्टिले पनि राम्रो हो। खाँटी कांग्रेसका कार्यकर्ताहरु समेत यसलाई नकार्दैनन्। मात्रै एउटा राजनीतिक आस्था जोडिएको हो। हरेक चुनावी घरदैलोमा स्थानीयहरुको भव्य स्वागत छ प्रचण्डलाई। अरु पार्टीका कार्यकर्ता पनि सक्रिय छन्।

यसअघि पनि आफ्नो मत आफ्नै चिह्नमा हाल्न नपाएका कांग्रेस कार्यकर्ताहरुले यसपाली पनि पाउने भएनन्। त्यसैले उनीहरु स्वतन्त्र छन्। राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश गर्नु, कांग्रेसको गढ भनेर चिनिएको ठाउँमा पनि राम्रै स्वागत सम्मान पाउनु, राष्ट्रिय नेता केन्द्रीय राजनीतिमा प्रभाव पार्ने नेता हुनु र मताधार पनि लोकतान्त्रिक गठबन्धन भन्दा बढी हुनु लगायत कारणले उनका लागि चुनाव जित्न केही सहज देखिन्छ।

देवी र बद्री दाहिने हात

स्थानीय निर्वाचनका बेलाका कडा प्रतिस्पर्धी भनौं वा राजनीति भाषाका दुश्मन देवी ज्ञवाली अहिले प्रचण्डका दाहिने हात भएर भोट भाग्दै छन्। त्यो बेलामा महानगरका उम्मेदवार राप्रपा (प्रजातान्त्रिक)का जिल्ला अध्यक्ष बद्रि तिमिल्सिना अर्का हात बनेर प्रचण्ड जिताउन अभियानमा छन्।

सरसर्ती हेर्दा यी दुई पात्रका कारण प्रचण्डलाई चुनाव जित्न सहज छ। अनि स्थानीय तहको मत हेर्दा पनि वाम गठबन्धन ७ हजार र केही सयको अन्तरले अगाडि छ। तर यतिको आधारमा मात्र प्रचण्ड बलियो छन् भनेमा त्यो कमजोरी हुनेछ।

एमालेका देवी ज्ञवाली नगरप्रमुखको प्रतिष्पर्धी थिए। शुरुमा जित्ने आधार खडा गरेका देवी एकाएक मतपत्र च्यातेपछि भरतपुर १९ मा पुन चुनाव भयो र केही सयमतले पराजित हुन पुगे। उनलाई यो कुरा पत्याउनै हम्मेहम्मे परेको थियो। त्यो बेलाका त्यस्ता कट्टर अहिले मिल्न सक्कदा म किन नसक्ने भन्ने कुरासँग तिमिल्सिनाले प्रसंग जोडेका थिए।

प्रचण्डका चुनाव प्रचार समितिका उपसंयोजक देवीले प्रचण्ड अन्तै जान लागेका बेला म निर्वाचनको परिचालको प्रमुख बन्न तयार छु, प्रचण्डलाई ल्याउनैपर्छ भनेर यहाँ ल्याएको भन्न पनि भ्याए। प्रचण्ड चितवनबाट पछि हटे भने देवीकै कारण अफवाह फैलिने भएकाले मैले ल्याउनलाई जोड गरेको समेत उनले खुलाए।

यसकारण विक्रम पाण्डे प्रतिस्पर्धी 

कालिका कन्स्ट्रक्सन र कालिका ग्रुपका अध्यक्ष विक्रम पाण्डे क श्रेणीका निर्माण व्यवसायी हुन्। नेपालदेखि अमेरिकासम्म उनको व्यवसाय फैलिएको छ। राप्रपा (प्रजातान्त्रिकका)का उपाध्यक्ष रहेका हालका वन मन्त्री विक्रम पाण्डे प्रचण्डसँग चुनावी मैदानमा छन्। नेपाली कांग्रेसका नेताहरुले प्रचण्डविरुद्ध उम्मेदवारी दिनै डराएकाले विक्रम पाण्डे अगाडि आएका हुन्।

कांग्रेसका एकजना जिम्मेवार नेताले उम्मेदवारी टुंग्याउनु एक साता अघि नै भनेका थिए, ‘हाम्रा कोही नेताले उठ्ने आँट नै गरेनन्, विक्रम पाण्डेले हिम्मत गरेका छन्, अब उनैले पाउँछन् टिकट।’

नभन्दै त्यही भयो। एकातर्फ जिल्लामा केही लोकप्रिय रहेका पाण्डे अर्कोतर्फ माडीमा राम्रो भोट भएका व्यक्ति हुन्। अरु कांग्रेसकै नेताभन्दा बलिया नै हुन्। त्यसैले पनि उनका सामु पाण्डे चुनौतीका नेता हुन्।

पाण्डे पैसा पनि खर्च गर्न सक्ने नेतामा पर्छन्। यहाँका मतदातामा आर्थिक प्रलोभन नहोला भन्न सकिन्न। चितवनको माडीमा मात्रै केन्द्रित गरेका विक्रम पाण्डेका लागि भरतपुरको मत बाँडिन सक्छ। अहिले प्रचण्ड जे बोल्छन् पाण्डेले त्यही खण्डन गरिरहेका छन्।

माडी एउटा चुनौती 

२०६२ साल जेठ २३ माडीको बाँदरमुढे खोलाको बम विष्फोटको घाउ अहिले प्रचण्ड सामु बल्झिएको छ। उनले  अघिल्लो हप्ता माडीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै घटना त्रुटिपुर्ण भएको भन्दै माफी मागेका थिए। उनले जनयुद्धकै सबैभन्दा ठुलो गल्ती नै यही घटना भएको पटकपटक दोहोर्‍याए। पनि। घाउ पुर्न अहिले अनेक प्रयासमा छन्।

उनको क्षेत्र सिंगै माडी नगरपालिका पर्छ। अनि भरतपुर महानगरका २९ वडा मध्ये १९ वडा उनको निर्वाचन क्षेत्रमा परेको छ। स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा झिनो मतले नेकपा माओवादी केन्द्रले जितेको छ। एमाले र राप्रपा पछिपछि थियो। तर मतान्तरमा धेरै फरक छैन।

माडीको पकड क्षेत्र र बलियो नेता विक्रम पाण्डेसँग प्रतिस्पर्धा हुँदैछ। उनलाई बुद्धिले जित्ने योजना प्रचण्डको हुन सक्छ। अघिल्लो शनिबार विक्रम पाण्डेको पार्टी राप्रपा (प्रजातान्त्रिक)का जिल्ला अध्यक्ष बद्रि तिमिल्सिनालाई नै  उनले माओवादी केन्द्रमा प्रवेश गराए। भरतपुरका तिमिल्सिनालाई माडी लगेर पार्टी प्रवेश गराउनुमा खास अर्थ छ।

एक त राप्रपामा ३८ बर्षदेखिको राजनीतिक गरेका र १९ बर्षदेखि पार्टी अध्यक्ष भएका नेता। त्यसमाथि प्रष्ट वक्ताका रुपमा चिनिन्छन्। कट्टर राजावादी भए पनि तिमिल्सिना कसरी प्रवेश गरे होलान् भन्ने आम आश्चर्यको कुरा चितवनमा यद्यपी छ। उनकै नेतृत्वमा विभिन्न ठाउँबाट अहिलेसम्म २०० राप्रपाका कार्यकर्ता माओवादीमा आइसकेका छन्।

वार्ताको प्रयास

२०६९ सालमा उनी माडी महोत्सवमा उद्घाटन गर्न गएका थिए। त्यसैले निर्वाचन परिचालन कमिटिका संयोजक अमिक शेरचन माडीका बाँदरमुढे घटना पीडितसँगै भेटेका थिए। 

शेरचन पहिलेका चितवन क्षेत्र नम्बर ५ का लोकप्रिय नेता हुन्। चुनाव जितेर उनी सांसद पनि भएका थिए भने उपप्रधानमन्त्रीसम्म पुगेका थिए। जनमोर्चा नेपाल भएकाले पनि उनको आलोचना कम हुन्छ र उनले भनेका धेरैले मान्छन्। जसको परिणाम जनमोर्चाबाटै माओवादीमा आएका ठाकुर ढकाल नगरप्रमुखमा विजयी हुनुले पनि देखाउँछ ।

त्यसैले अमिक शेरचन र बाँदरमुढे घटना पीडितसँग वार्ता भएको हो। यो विषय सार्वजनिक भएको छैन। तर प्राप्त सूचना अनुसार एक चरणको वार्ता सकिएको थियो। वार्तामा पीडितहरुको तर्फबाट १२ बुँदे माग प्रस्तुत भएको स्रोतले बताएको छ। अहिलेसम्म माडीमा चुनावी घरदैलोमा नगएका प्रचण्डले केही प्याकेज घोषणा गरेर जाने तयारी गरेका छन्।

पीडितले मृतकहरुको सम्झनामा स्मारक सहितको संग्रहालय बनाउनुपर्ने, उचित न्याय पाउनुपर्ने, घाइतेहरुको निशुल्क उपचार हुनुपर्ने, बालबालिकालाई निशुल्क पठनपाठन र पीडित परिवारलाई रोजगारीको व्यवस्था, परिपूरण, राहत, दोषीहरुलाई कारवाही लगायतका विषय उठाएका छन्। त्यसलाई सम्बोधन गर्ने तयारीमा प्रचण्ड छन्।

मतले भन्छ प्रचण्डको जित निश्चित छ

मुख्यतयाः भरतपुर महानगरका २९ वडामध्ये अधिकांश वडा (१९ वडा) चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा परेको छ। यसमा माडी नगरपालिका पनि जोडिएको छ। यो निर्वाचन क्षेत्रमा माओवादीको एकल मत तेस्रो दलमै सीमित छ।  जित्न कुनै न कुनै दलसँग तालमेल आवश्यक थियो। त्यही योजना प्रचण्डले विगतमा पनि अपनाए र अहिले पनि अपनाए। 

वडाध्यक्षले प्राप्त गरेको मत हिसाब गर्दा यो निर्वाचन क्षेत्रमा वाम गठबन्धन ७ हजार ३६५ मतले अगाडि देखिन्छ। यद्यपी यही मत कायम राख्नका लागि पनि गठबन्धन सामु निकै चुनौती छ।

भरतपुर महानगरको १९ वडामा नेपाली कांग्रेसले २३ हजार ४८७ मत ल्यायो। माडी नगरपालिकामा कांग्रेसले ल्याएको  ३ हजार ४३६ मत जोड्दा काँग्रेसको मत २६ हजार ९२३ हुन जान्छ। राप्रपाले ल्याएको ८ हजार ३१० मत जोड्दा कांग्रेस राप्रपाको संयुक्त मत ३५ हजार २३३ हुन्छ।

यता भरतपुर महानगरको १९ वटा वडामा नेकपा एमालेले २० हजार २५६ मत प्राप्त गरेको छ। उसले माडी नगरपालिकामा प्राप्त गरेको मत ४ हजार २३८ हो। यो दुई क्षेत्रको मत जोड्दा एमालेले कुल २४ हजार ५९८ मत प्राप्त गरेको छ।

माओवादी केन्द्रले भरतपुर महानगरको १९ वटा वडामा १४ हजार ३३८ मत ल्याएको छ। माडी नगरपालिकामा माओवादीको मत ३ हजार ७६६ हो। यो दुई ठाउँको मत जोड्दा माओवादी केन्द्रको कुल मत १८ हजार १०४ हुन आउँछ।

यसरी माओवादी र एमालेले पाएको मत जोड्दा वाम गठबन्धनको कुल मत ४२ हजार ५९८ पुग्छ। यसमा कांग्रेस राप्रपाले पाएको संयुक्त मत ३५ हजार २३३ घटाउँदा बाम गठबन्धनको पक्षमा ७ हजार ३६५ मत प्लास छ। यो मतले ढुक्क हुने अवस्था भने छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.