|

काठमाडौं: मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर- ३ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका कृष्ण राई र प्रजतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी अम्बिका बस्नेत चुनावी मैदानमा छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिकका भनिएका राई र शेरबहादुर देउवाको नजिकका भनिएका बस्नेतबीचको प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ। बस्नेत बहालवाला सहकारी तथा गरिबी निवारणमन्त्री हुन् भने राई नेकपा एमालेका काठमाडौंका बहालवाला अध्यक्ष हुन्।  

को हुन् कृष्ण राई?

आगामी मंसिर २१ गते काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ। उक्त निर्वाचनका लागि वाम गठबन्धनका तर्फबाट काठमाडौं क्षेत्र नम्बर- ३ मा कृष्ण राई (४८) चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेकपा एमाले काठमाडौं जिल्लाका अध्यक्ष राई २०५४ सालमा भएको स्थानीय चुनावमा तत्कालीन जोरपाटी गाविसको उपाध्यक्षमा निर्वाचित भएका थिए।

गोकर्णेश्वर- ८ का स्थायी बासिन्दा कृष्ण काठमाडौंको राजनीतिमा लोकप्रिय युवा नेता हुन्। सांस्कृतिक आन्दोलनबाट भूगोलको राजनीतिमा प्रवेश गरेका राई दुई दशकदेखि काठमाडौं जिल्लाको राजनीतिमा क्रियाशील छन्। काठमाडौंकै बासिन्दा भएकाले लामो समयदेखि यस क्षेत्रका जनताको सुखदुःखमा सँगै रहेकाले जनताले आफूलाई नै बिजयी गराउने कृष्णको दाबी छ।

चुनाव जित्ने आत्मविश्वासका साथ आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको उनको भनाइ छ। 'म यही क्षेत्रको व्यक्ति हुँ। राजनीतिमा आइसकेपछि यही क्षेत्रका जनताको सुखदु:खमा सँगै रहेर काम गर्दै आएको छु', कृष्ण भन्छन्, 'मलाई जनताको साथ भएकाले म यो चुनाव जित्छु।'

गएको स्थानीय तहको निर्वाचनमा काठमाडौंमा एमालेलाई बिजयी गराउन नेतृत्व गरेका राईले चुनावी दौरानमा काठमाडौं महानगरको कमाण्ड सम्हालेका थिए। गएको चुनावदेखि पार्टीलाई हरेक मोर्चामा बिजयी बनाउनका लागि भूमिका खेलेको उनी बताउँछन्।

चुनावी अभियानकै क्रममा थाहाखबरसँग टेलिफोनमा कुरा गर्दै राईले भने', 'हिजोदेखि पनि काम गर्दै आएका छौँ। अहिले पनि जनताकै काम गर्नका लागि म यो चुनावी प्रतिस्पर्धामा छु। हामीले गरेको काम, जनताको विश्वास हरेक हिसाबले चुनाव हामी नै जित्छौँ।'

सबै अवस्थाको अध्ययन गरेर पार्टीले टिकट दिएको भन्दै चुनावमा प्रतिस्पर्धा भए पनि चुनाव भने आफूले नै जित्ने राईको दाबी छ। 'हिजोदेखि नै मसिनोसँग अध्ययन गरेर हामी चुनावी प्रतिस्पर्धामा उत्रिने गरेका छौँ', नेता राई भन्छन्, 'अहिले पनि यस क्षेत्रको सबै अवस्था अध्ययन गरेर पार्टीले मलाई यस क्षेत्रमा टिकट दिएको हो।'

को हुन् अम्बिका बस्नेत?

कांग्रेस नेता अम्बिका बस्नेत (६७) काठमाडौं क्षेत्र नम्बर- ३ मा प्रजातान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन्। बहालवाला सहकारी तथा गरिबी निवारणमन्त्री बस्नेत चुनावमा आफ्नो जीत सुनिश्चित भएको बताउँछिन्। वि. सं. २०२९ सालबाट नेपाली कांग्रेसको राजनीति सुरु गरेकी बस्नेत शेरबहादुर देउवा नेतृत्वको मन्त्री मण्डलमा कांग्रेसबाट एक्ली महिला मन्त्री हुन्।

काठमाडौं बौद्धकी स्थायी बासिन्दा वर्षकी बस्नेतले अर्थशास्त्रमा स्नातक तहसम्मको अध्ययन गरेकी छन्। २०४२ सालको सत्याग्रहमा जेलसमेत परेकी नेता बस्नेत नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघकी पूर्व अध्यक्ष हुन्। कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी बस्नेत २०६४ र २०७० को संविधानसभामा समानुपातिकबाट सभसद् भएकी थिइन्।

हाल चुनावी प्रचार प्रसारमा व्यस्त रहेकी नेता बस्नेत राजनीति गरेदेखि नै आफू काठमाडौं- ३ का जनताको सुखदु:खमा साथसाथै भएकाले आफूले जित्नेमा ढुक्क रहेको बताउँछिन्। महिला, दलित, जनजातिलगायतका पछाडि परेका वर्गलाई माथि उठाउनका निम्ति निरन्तर काम गरेकाले आफूलाई जनताले जिताएर पठाउने उनी बताउँछिन्।

यसपालिको निर्वाचनमा थोरै महिला मात्रै चुनावी मैदानमा उत्रिएको भन्दै नेता बस्नेतले आफु महिलाको प्रतिनिधि भएकाले पनि काँग्रेसले जित्ने आधार देखेर नै उठाएको बताइन्। 'यो निर्वाचनमा थोरै महिलाहरूले मात्र प्रत्यक्षमा उठ्न पाउनुभएको छ। त्यसमध्ये म पनि हुँ, यो भनेको सिङ्गो महिलाका लागि गर्वको कुरा हो', बस्नेत भन्छिन्, 'मेरो चुनाव जित्ने आधार भनेको मैले यस क्षेत्रमा गरेको काम नै हो। यहाँको विकास निर्माण होस् वा अन्य काम, सबै काममा म जनतासँगै रहेर काम गरेकी छु।'

महिलालाई प्रत्यक्षमा टिकट दिइरहँदा कमजोर ठाउँमा दिइएको छ भन्ने आरोप लागिरहँदा बस्नेत भने उक्त कुरा गलत भएको बताउँछिन्। 'कमजोर क्षेत्रमा महिला उठाइयो भन्ने कुरा गलत हो। सबैले आफूले काम गरेको क्षेत्रमै टिकट पाउनुभएको छ', उनी भन्छिन्, 'हामीले काम गरेका छौँ, त्यसकारण हामीले नै चुनाव जित्नेमा ढुक्क छौँ। नभए पनि जित्ने ढुक्क बनाउनुपर्छ, त्यो पार्टीको पनि दायित्व हो।'

यस्तो छ काठमाडौं- ३ को मतको अवस्था

काठमाडौं महानगरपालिकाको वडा नम्बर- ६, कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा गोकर्णेश्वर नगरपालिका मिलेर काठमाडौं निर्वाचन क्षेत्र नम्बर- ३ बनाइको छ। यस क्षेत्रमा २०६४ को संविधानसभाको निर्वाचनमा एमालेका रामेश्वर फुयाललाई पराजित गर्दै कांग्रेसका चक्रबहादुर ठकुरी विजयी भएका थिए। २०७० को संविधानसभाको निर्वाचनमा एमालेका रामेश्वर फुयाल बिजयी भए।

यही क्षेत्रमा अहिले एमालेका कृष्ण राई र कांग्रेसकी अम्बिका बस्नेत प्रतिस्पर्धामा उत्रिएका छन्। गएको स्थानीय तहको निर्वाचनको नतिजालाई हेर्दा यस क्षेत्रमा वाम गठबन्धन अघि देखिन्छ। स्थानीय निर्वाचनमा एमालेले ल्याएको १२ हजार ७०७ मत र माओवादी केन्द्रले ल्याएको चार हजार ४५१ मत जोड्दा वाम गठबन्धनको जम्मा मत १७ हजार १५८ छ।

यस्तै, सोही निर्वाचनमा कांग्रेसले १४ हजार ३२४ र राप्रपाले एक हजार ४४१ मत जोड्दा प्रजातान्त्रिक गठबन्धनको जम्मा मत १५ हजार ७६५ देखिन्छ। यसरी हेर्दा एक हजार ३९३ मतले वाम गठबन्धन अगाडि देखिन्छ। यस्तो अवस्थामा दुवै प्रतिस्पर्धी आफूले नै चुनाव जित्ने भन्दै मतदाता रिझाउन लागिपरेका छन्। तर संसदीय चुनावी प्रतिस्पर्धा भनेको स्थानीय तहभन्दा अलिक फरक हुने भएकाले मत परिणाममा तलमाथि आउन सक्ने विश्लेषकहरूको मत छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.