राजनीति

बाँके क्षेत्र नं २, जहाँ छैनन् कांग्रेस र वाम गठबन्धनको आफ्नै उम्मेदवार, कसले मार्ला बाजी?
SHARES

कात्तिक २७, २०७४

    बाँके : पूर्वपधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति सुशील कोइराला जीवित रहुन्जेल चर्चामा रहने बाँके क्षेत्र नं. २ मा मुख्य चार राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस–राप्रपा र एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएपछि बाँकेमा चार राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको हो।

    एमाले–माओवादी केन्द्रको तर्फबाट जिल्ला विकास समितिका पूर्वसभापति पशुपति दयाल मिश्र चुनावी मैदानमा छन्। भने, कांग्रेस–राप्रपा गठबन्धनको तर्फबाट राप्रपाका ओमप्रकाश आजाद प्रतिस्पर्धामा छन्।

    गठबन्धनसहित मुख्य ठूला राजनीतिक दल चुनावी मैदानमा भए पनि बाँके क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको राम्रो उपस्थिति रहेको छ। राजपाभन्दा बाँके क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम बलियो भएको आममतदाताको विश्लेषण छ।

    संघीय फोरमको तर्फबाट पूर्वश्रममन्त्री मोहम्मद इस्तियाक राई र राजपाले केन्द्रीय उपाध्यक्ष विजय गुप्तालाई उम्मेदवार बनाएको छ। गुप्ता नेपालगञ्ज नगरपालिकाका पूर्वप्रमुख हुन्। नेपालगञ्ज उपमहानगरपालिका समेत रहेको प्रतिनिधिसभा क्षेत्र नं. २ मा १७ जना प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धामा रहेका चारजना उम्मेदवारले आफूले जित्ने दाबी गर्दै प्रतिबद्धता सार्वजनिक गरेका छन्।

    ओमप्रकाश आजाद, नेपाली कांग्रेस–राप्रपाका उम्मेदवार

    बाँके सुगम जिल्ला भए पनि यहाँ दुर्गम गाउँहरु धेरै छन्। मेरो पहिलो प्राथमिकता क्षेत्र नं. २ का सबै ठाउँमा सडक पुर्‍याउनु रहेको छ। सदरमुकामसँग जोड्न डुडुवा गाउँपालिकालाई समेत समेटेर बृहत रिङ्गरोड बनाउने मेरो पहिलो योजना छ।

    नेपालगञ्ज एयरपोर्टको स्तरोन्नती गरि अन्तर्राष्ट्रिय स्तरको बनाउन मैले पहल गर्ने छु। नेपालगञ्जमा सभा, सम्मेलन गर्ने ठाउँ नभएकोले मैले अन्तर्राष्ट्रिय स्तरको बहु उपयोगी सभागृह निर्माणमा जोड दिने छु।

    नेपालगञ्जलाई हराभरा, सफा र ब्यवस्थित नगरीका रुपमा विकास गर्न पहल गर्नेछु। राप्ती नदी कटान, पटान रोक्न स्थायी समाधान खोजिनेछ। साथै रोजगारी सिर्जना गर्न औद्योगिक विकासमा जोड दिइने छ भने कृषकहरुका लागि आवश्यक वस्तुहरुमा सहुलियत प्रदान गरि कृषि क्षेत्रको विकासमा जोड दिइनेछ।

    नेपालगञ्जमा स्थापनाको पहल भइरहेको नेपालगञ्ज विश्वविद्यालय संसदबाट पारित गराउन मुख्य भूमिका खेल्ने र नेपालगञ्ज भारतीय पर्यटकको गन्तब्य बनाउन पर्यटन पूर्वाधारको विकास र जीर्ण बनेका सडकहरुको स्तरोन्नती गरि आवत जावतलाई सहज बनाउन तन, मनका साथ अगाडि बढ्ने मेरो योजना छ।

    पशुपति दयाल मिश्रवाम गठबन्धनका साझा उम्मेदवार

    उनले आफ्नो चुनावी प्रतिबद्धतामा भनेका छन्, ‘बाँकेको समग्र विकास र बाँकेवासीको हितमा काम गर्न मेरो उम्मेदवार हो। नेपालगञ्जलाई प्रदेश ५ को राजधानी बनाउन, नेपालगञ्ज विश्वविद्यालय स्थापना

    गर्न, नेपालगञ्ज विमानस्थको स्तरोन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मैले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको हुँ। मैले जितेमा राप्ती नदीमा पक्की तटबन्ध निर्माण, बाँकेमा बिशेष आर्थिक क्षेत्र (सेज) को स्थापना गर्ने र सुख्खा बन्दरगाह स्थापना गर्नेछु।’

    यस्तै उनका अन्य काममा वर्षौंदेखिको नेपालगञ्जवासीको सपना साकार पार्न नेपालगञ्जमा चक्रपथ बनाउने, हुलाकी सडक, राप्ती नदीको डुडुवा क्षेत्रमा पक्की पुल निर्माण गरिनुका साथै हुलाकी सडक

    अन्तरगत सर्वे गर्न छुटेको पुरैना, बेतहनी हुँदै दाङको गढवासम्म जोड्ने सडक कालोपत्रे गरिने भनिएको छ। नेपालगञ्जमा सरकारी मेडिकल कलेज, निर्वाचन क्षेत्र नं. २ भित्र पिकनिक स्पट, पार्क स्थापना, बृहत खाने पानी आयोजना सञ्चालन र नेपालगञ्ज क्षेत्रलाई लोडसेडिङमुक्त गराउन मेरो उम्मेदवारी हो।

    नेपालगञ्जमा सुलभ शौचालयको व्यवस्था, महिलाका लागि कलेज, पर्यटन क्षेत्रको विकास, आधुनिक अग्नि नियन्त्रण उपकरणसहितको वारुणयन्त्रको व्यवस्था, राप्तीको सिधनिया घाटमा व्यवस्थित दाहसंस्कारको व्यवस्था र विद्युतीय शवदाह गृह निर्माण गरिने छ।

    बाढीपीडितलाई स्थायी बसोवासको ब्यवस्था गरिने छ, दलित समुदायको लागि आवासको व्यवस्था, गरिवीको रेखामुनि रहेकाहरुलाई रोजगार प्रदान, नेपालगञ्जमा सुगर फ्याक्ट्री स्थापना र तरकारी तथा फलफूल भण्डारणको लागि कोल्ड स्टोर स्थापना गरिनेछ।

    कृषकलाई मल र बिउमा अनुदान दिइने, सिँचाइको समुचित ब्यवस्था गर्न, कृषिको आधुनिकीकरण गरि कृषि उद्योग स्थापना गरिने छ। नेपालगञ्जलाई पर्यटिकय क्षेत्रको हव बनाउन विशेष योजना बनाउने र

    बागेश्वरी मन्दीर, मानसरोवर, रारा, सेफोक्सुन्डो, स्वर्गद्वारी, लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज लगायतका धार्मिक र पर्यटकीय स्थलमा जाने भारतीय पर्यटकलाई आकर्षित गर्ने गुरुयोजना बनाई नेपालगञ्जलाई भारतीय पर्यटकको प्रवेशद्वारको रूपमा बिकास गर्ने लक्ष्य रहेको छ।

    नेपालगञ्जलाई शिक्षा, स्वास्थ्य, र पर्यटनको हबको रुपमा विकास गरिने छ। गुरु नानक जयन्तीमा सार्वजनिक बिदा दिने ब्यवस्था मिलाउने, तराई–मधेसका शोषित, उत्पिडित जनताको अधिकार स्थापित गराउने र देश तथा जनताको आवश्यकता अनुसार संविधान परिमार्जन गर्न पहल गर्नेछु। तराई मधेसका जनताको सामाजिक न्याय सुनिश्चित गरी सम्पूर्ण नेपालीको सुख र समृद्धिका लागि सदैव प्रतिबद्ध र प्रयत्नशील रहने प्रतिबद्धता जनाउँदछु।

    विजय गुप्ता–राष्ट्रिय जनता पार्टी    

    कोहलपुर–नेपालगञ्जसम्म औद्योगिक करिडोर निर्माण गर्ने मेरो पहिलो प्राथमिकतामा रहेको छ। बाँके जिल्लामा उखु खेतीलाई बढावा दिन नेपालगञ्जमा चिनी मिल स्थापना गर्नेछु। संसदमा अड्किएको नेपालगञ्ज विश्वविद्यालय विधेयक पारितका लागि पहल गरिनेछ।

    बाँके कृषिको लागि उर्वर भूमि भएकोले किसानलाई मल, विउविजन र सिँचाईमा  अनुदानको व्यवस्था गरिनेछ। नेपालगञ्जमा भारतीय रेलको ट्रयाक जोड्ने, राँझा विमान स्थलाई अन्तर्राष्ट्रिय बिमान स्थल बनाउने, हरेक गाउँपालिकामा एम्वुलेन्स र दमकलको ब्यवस्था मिलाइने छ। नेपालगञ्जलाई शिक्षा र स्वास्थ्यको हवका रुपमा विकास गरिने छ।

     प्रत्येक वडामा बालबालिकाका लागि ग्रिन पार्क निर्माण गरिने छ। साथै विदेशीने यूवालाई नेपालमै टिकाइ राख्न स्थानीय तहमै रोजगारी सिर्जना गरिने छ भने ज्येष्ठ नागरिकका लागि नेपालगञ्जमा सुविधा सम्पन्न वृद्धाश्रको व्यवस्था मैले गर्नेछु।

    मोहम्मद इस्तियाक राई– संघीय समाजवादी फोरम नेपाल

    प्रतिनिधिसभा सदस्यमा मलाई जिताएमा नेपालगञ्जलाई प्रदेश राजधानी बनाउने मेरो पहिलो अभियान हुनेछ। बाँकेवासीले आन्दोलन गर्दासमेत पारित हुन नसकेको नेपालगञ्ज विश्वविद्यालय स्थापनाका लागि मैले पहल गर्नेछु। राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमान स्थलको रुपमा स्तरोन्नति गरिनेछ।

    वर्षौँदेखि बाँकेबासीले चाहे पनि योजनामा पर्न नसकेको नेपालगञ्ज–कोहलपुर जोड्ने चक्रपथ निर्माणलाई अगाडि बढाउनेछु। हुलाकी सडकको कामलाई तीव्रता दिइनेछ भने राप्ती नदीमा आवश्यक ठाउँहरुमा थप पुल निर्माणमा मेरो जोड रहनेछ।

    पश्चिम क्षेत्रमा सरकारी मेडिकल कलेज नहुँदा यस क्षेत्रका सर्वसाधारणले एमविविएस अध्ययन गर्नबाट बन्चित भइरहेकोले भेरी अंचल अस्पताललाई सरकारी मेडिकल कलेजको रुपमा विकास गर्नेछु। साथै क्षेत्र नं. २ लाई लोड्सेडिङमुक्त गर्न र ग्रामीण जनतासम्म स्वास्थ्य सेवाको पहुँच विस्तार मैले गर्नेछु। खेलकुदको पूर्वाधार तयार गर्न, नगर र डुडुवा गाउँपालिकाको सडक स्तरोन्नति गर्न, बाढीपीडितलाई स्थायी बसोबासको प्रवन्ध मिलाउने, सिँचाईको व्यवस्था मिलाउने प्रतिवद्धता जाहेर गर्दछु।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]