|
गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, आफ्नै कार्यकक्षमा।

गोरखा : पहिलो चरणको निर्वाचन नजिकिँदै जाँदा गोरखाको सुरक्षा सतर्कता बढाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। निर्वाचनको मुखैमा पेस्तोल र घरेलु हतियारहरु भित्रिन थालेको र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चुनावी प्रतिस्पर्धाले पनि गोरखामा चुनावी सुरक्षा चुनौती रहेको बस्नेतले जानकारी दिए।

२१ कात्तिकमा माओवादी केन्द्रकी प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सुशीला सिंखडा चढेको मोटरसाइकलमा तीन राउन्ड गोलीसहित पेस्तोल भेटियो। चुनावी कार्यक्रममा गएर आरुघाटबाट भीमसेन गाउँपालिकातर्फ जाँदै गरेकी थिइन्, उनी।

केहि दिन अघि बाम गठबन्धनको तर्फबाट समानुपातिक उमेद्वार रहेकी माओवादी केन्द्रकी नेत्री शुसिला सिंखडा पेस्तोल सहित भेटिनु, गत कात्तिक २२ मा सुलिकोट गाउँपालिकाको पन्द्रुङमा ठूलो आवाजमा विस्फोट हुनु केही व्यक्ति खुकुरीसहित पक्राउ पर्नुले गोरखामा सुरक्षा चुनौती थपिएको देखिन्छ।

हेभिवेट’ नेताको प्रतिस्पर्धाले चुनौती

अहिले सबैको ध्यान गोरखा क्षेत्र नं. २ मा छ। कुनै वेलाका राजनीतिक सहयात्री पूर्वप्रधानमन्त्री भट्टराई र माओवादी नेता श्रेष्ठ मैदानमा हुनुले पनि सुरक्षा चुनौती थपिएको प्रजिअ बस्नेत स्वीकार्छन्।

‘दुवै राष्ट्रका ठूला नेता हुनुहुन्छ’ उनले भने ‘उहाँहरुको चुनावी प्रतिस्पर्धा र अन्य क्षेत्रमा पनि सोही अनुसारको वाम र लोकतान्त्रिक गठबन्धनको टकरावसँगै प्रतिस्पर्धाले गोरखामा अहिले सबैको नजर परेको छ।

 गोरखा प्रशासनले सुरक्षामा कुनै कसर बाँकी नराखी आफ्नो शक्ति प्रयोग गर्छ। कसैको धम्की, फोनको भरमा अपराधी पक्रिसकेपछि छुट्दैन। बरु मेरो कुर्सी म छोड्न तयार छु।’

यसैबीचमा घटेका पेस्तोल काण्ड, भीमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा भएको खुकुरी हानाहान लगायतका विषयमा आफूलाई विभिन्न राजनीतिक दलका नेताले टेलिफोनबाटै गाली तथा धम्की दिएको प्रजिअ बस्नेतले बताए।

यतिवेला भट्टराई र नारायणकाजीको चुनावी लडाईँलाई प्रतिष्ठाको लडाईँको रुपमा हेरिएको छ। बाबुराम नेपाली कांग्रेसको समर्थनमा र नारायणकाजी एमालेको समर्थनमा गोरखा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। स्थानीय तहको निर्वाचनमा देखिएका भाडाका गुण्डाहरु झिकाउने, जिल्लाका मतदातालाई सशंकित पार्ने जस्ता घटनाहरु हुन सक्ने भन्दै सुरक्षा सतर्कता अपनाइएको बस्नेतले बताए। 

गोरखा २ का सबै मतदान केन्द्र अतिसंवेदनशील

गोरखा क्षेत्र नं. २ का अधिकांश मतदानस्थल अतिसंवेदनशील मानिएका छन्। जहाँ भट्टराई र नारायणकाजी चुनावी मैदानमा छन्।  त्यस्तै, चुनावी विशेष सुरक्षा योजनाअनुसार जिल्लामा चेकजाँचसँगै  जिल्ला भित्रिने नाकाहरुमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारी बताउँछन्। जिल्लामा दुई सय १३ मतदानस्थल र दुई सय ८२ मतदान केन्द्र छन्। ६८ मतदान स्थल अतिसंवेदनशील, १ सय १३ संवेदनशील र १२ लाई सामान्य मानिएको छ। 

उम्मेदवारले मागे अंगरक्षक

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाका अधिकांश उम्मेदवारले अंगरक्षक मागेका छन्। अहिलेसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रका सबै उम्मेदवारले प्रशासनसँग अंगरक्षक माग गरेका छन्। 

‘गोरखा २ मा हेभिवेट उम्मेदवारहरु लोकतान्त्रिक गठबन्धनबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामगठबन्धनबाट पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीच चुनावी भिडन्त हुने हुँदा यहाँका सबै मतदान केन्द्र अति संवेदनशील छन्। सोअनुसार नै सुरक्षाको व्यवस्थापन मिलाएका छौं’ उनले भने।

हवाई गस्ती गरिने

प्रजिअ बस्नेतका अनुसार सडक सञ्जाल नजोडिएको जिल्लाको उत्तरी क्षेत्रमा हवाई गस्ती गर्नको लागि हेलीकोप्टरको माग गरिएको छ। ‘स्थानीय तहको निर्वाचनमा पनि हामीले हवाई गस्तीसमेत गरेका थियौँ’ उनले भने ‘यसपटक पनि हामीले हेलीकोप्टरको माग गरेर पठाइसकेका छौँ।’

निर्वाचनमा असर पु¥याउन सक्ने आँकलन गर्दै नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका ७ जना नेता, कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुलाई निर्वाचन अवधिभर थुनामा राख्ने तयारी छ।

दलहरुबीच भएको गठबन्धनले हुने अस्वस्थ चुनावी प्रतिस्पर्धा, निर्वाचनविरोधी समूहबाट हुने हर्कत, भौगोलिक विकटता र हिउँ पर्न सक्ने सम्भावना चुनावका चुनौती रहेको जिल्ला सुरक्षा समितिको ठहर छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.