|

जनकपुरधाम : धनुषा क्षेत्र नं. ३ मा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिबीच चुनावी भिडन्त हुँदैछ। जनकपुर उपमहानगर क्षेत्रमा पर्ने यस निर्वाचन क्षेत्रमा स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको भन्दा दोब्बर बढी मत ल्याएर राजपा विजयी भएको थियो। 

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले समेत साथ दिएपछि महतोलाई यस क्षेत्र सुरक्षित हुनुपर्ने हो। तर अवस्था त्यति सहज छैन। किनकी महतोको प्रतिस्पर्धी छन् मधेसका लोकप्रिय नेता महेन्द्रनारायण निधिका छोरा तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधि।

विमलेन्द्रको यो पुस्तैनी क्षेत्र हो। जहाँ उनका बाबुले समेत राजनीति गरेका थिए। उक्त क्षेत्रबाट निधि पटक–पटक निर्वाचित भइसकेका छन्। निधि– २०५१ सालको मध्यावधि चुनावमा विजयी भए भने २०५६ सालमा राप्रपाका कृष्णप्रताप मल्लसँग पराजित भए। २०७० सालको चुनावमा पनि निधि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यसरी बुबाको लिगेसी र आफैँले निर्वाचन जित्दै आएको क्षेत्र निधिलाई विश्वस्त हुने आधार हो। निधिका लागि महतो नयाँ तर बलिया प्रतिस्पर्धी हुन्।

उता निधिलाई पराजित गर्न वाम गठबन्धनको मत आफूलाई पर्ने आशमा राजेन्द्र महतो छन्। वाम गठबन्धनले पनि उम्मेदवार नै नउठाएको भने होइन। निधि र महतो जस्ता हेभीवेट भिडिरहेको मैदानमा वाम गठबन्धनबाट माओवादीका रामसिंह यादव उम्मेदवार छन्। दुई भेट्रानका तुलनामा यादव कमजोर उम्मेदवार हुन्।

राजेन्द्र महतो संविधानसभा निर्वाचन – २०६४ मा सर्लाही ४ बाट निर्वाचित भएका थिए। संविधान निर्माणपछिको मधेस आन्दोलनका क्रममा अग्र मोर्चामा देखिएका महतो मधेसमा लोकप्रिय उम्मेदवार हुन्। उता निधि भने मधेस आन्दोलनका बेला गृहमन्त्री थिए। मधेस आन्दोलनमा सरकारले बल प्रयोग गरेको र त्यसका नेतृत्वकर्ता निधि भएको कुरा महतोको चुनावी प्रचारको विषय भएको छ।

निरन्तर निवार्चित भएर पनि निधिले धनुषा क्षेत्र नं. ३ लगायत सांस्कृतिक नगरी जनकपुरको विकास गर्न नसकेकाले आफू आएको मतदातालाई बताउँदै आएका छन्। उनको चुनावी नारा मधेस मुद्दा त छँदैछ त्यसमा धेरथोर विकासका मुद्दा पनि जोडिएका छन्।

जीवनाथको जिविसदेखि सञ्जयको जेलसम्म

पहिलो र दोस्रो संविधानसभामा हाल क्षेत्र नम्बर मा पर्ने धनुषाको साविकको क्षेत्र नं. ४ बाट राजेन्द्र महतोकै पार्टी सद्भावनाबाट सञ्जयकुमार साह विजयी भएका थिए। सञ्जयकुमारले दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेसको सभापति तथा पूर्वसांसद रामसरोज यादवलाई हराएका थिए।

निवर्तमान सांसद तथा तत्कालिन सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहेका साह र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग एकजना व्यक्ति जोडिएका छन्, जीवनाथ चौधरी। जिल्ला विकास समितिको ठेक्कापट्टाको विषयमा विमलेन्द्र निधिले होटेल व्यवसायी जीवनाथ चौधरीलाई साथ दिएपछि निधि र साहको बीचमा द्वन्दव बढेको थियो।

त्यसलगत्तै जनकपुरको रामानन्द चोकमा भएको बम काण्डको आरोपमा तत्कालिन सभासद सञ्जयकुमार साह तानिए। यस विषयमा चौधरी र साहका बीचमा एक अर्कोलाई दोषी ठहर्‍याउन बम काण्डसंग जोडिएको विभिन्न अडियो क्लिप, घटनाका तथ्य, आधार र प्रमाण सार्वजनिक गर्ने क्रम चल्यो। साह बमकाण्डमा संलग्नताको आरोपमा प्रहरीले पक्राउ गरेको केही दिन नबित्दै जनकपुरको एक मिडिया ग्रुपको सञ्चालक अरुण सिंघानियाको हत्या अभियोग लागेपछि हाल पूर्वपक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका छन्।

यी सम्पुर्ण घटनाहरुले निधिप्रति रुष्ट भएका सञ्जयकुमार साहको परिवार र समर्थकले स्थानीय तहको निर्वाचनमा राजपालाई समर्थन गरेको थियो। तर अहिले साहले नेपाली कांग्रेसका नेता निधिलाई समर्थन गरेको चर्चा जनकपुरमा छ। साह परिवारले भने सार्वजनिक रुपमा यो विषयलाई स्वीकार गरेको छैन। पूर्व सांसद संजय कुमार साहका परिवारका एक सदस्यले भने 'अहिले नेपाली कांग्रेसका केही व्यक्तिहरुले हामीलाई बदनाम गराउन एउटा प्रोपोगण्डा फैलाउँदैछन्। नत अहिले हामीले राजपालाई समर्थन गरेको छौं, नत कांग्रेसलाई नै। हामीलाई प्रयोग गरेर हाम्रो मत डाइभर्ट गर्न खोजिरहेका छन्।'

स्थानीय तहको निर्वाचनमा सञ्जय साहकी पत्नी रंगीदेवी साहले प्रमुखमा उम्मेदवारी दिने चर्चा चले पनि उनी निर्वाचनमा आइनन्। यसैगरी प्रतिनिधिसभाको निर्वाचनमा समेत उम्मेदवारी दिने पक्कापक्की भएको समयमा राजेन्द्र महतो धनुषाको क्षेत्र नं. ३ मा उम्मेदवारी दिने भएपछि उनी पछि हटेकी थिइन्।

सञ्जयका समर्थकको विमलेन्द्र निधिलाई समर्थन!

जीवनाथ चौधरी र सञ्जयकुमार साहको सम्बन्ध जिल्ला विकास समितिको ठेक्कापट्टादेखि नै बिग्रिएपछि दुवै एक अर्काका प्रतिद्वन्द्वीजस्तै उभिएका थिए। जीवनाथ चौधरीलाई विमलेन्द्र निधिको साथ भएपछि सञ्जय साह एक्लिएका थिए। निधिले जीवनाथलाई सहयोग गर्दा सञ्जय प्रतिपक्षीको भूमिकामा थिए। सो हिसाबले समेत स्थानीय तहको निर्वाचनमा राजपालाई भरपुर मात्रामा सहयोग गरेको सञ्जय साहको परिवारले यस पल्ट भने राजेन्द्र महतोलाई सहयोग नगरी नेपाली कांग्रेसका नेता निधिलाई सहयोग गर्ने सञ्जय साहका विश्वास पात्र नविन यादवले दावी गरेका छन्।

शनिबार मात्र जनकपुरमा नेपाली कांग्रेसले सञ्जय साहको केही समर्थकलाई पार्टी प्रवेश गराएको चर्चा व्यापक भएको छ। सञ्जयका विश्वास पात्र मानिने नविनले भने पार्टी प्रवेश नगरेको दावी गर्दै नेपाली कांग्रेसलाई समर्थन मात्र गरेको दावी गरे। सञ्जय साहको परिवारका सदस्य भने हालसम्म मौन नै देखिएका छन्।

के भन्छन् उम्मेदवार र विश्लेषक?

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले निर्वाचनको समयमा साहले नेपाली कांग्रेसलाई सहयोग गरेको चर्चा चल्नु चुनावी चालबाजी भएको बताए। निर्वाचनमा दुई पक्षीय वा त्रिपक्षीय भिडन्त हुने भएकोले आफ्नो जनमत निर्माणका लागि कांग्रेसले चलेको चालको संज्ञा दिए। 'सञ्जय साह हिजो पनि मधेसी जनताको पक्षमा वकालत गर्ने मानिस थियो र आज पनि छ, केही एक–दुई व्यक्तिले कांग्रेसलाई समर्थन गर्दैमा सञ्जय साहले नै समर्थन गरेको भन्नु गलत हुनेछ' उनले भने।   

नेपाली कांग्रेसका क्षेत्र नं. ३ (२) प्रदेशसभा उम्मेदवार रामसरोज यादवले सञ्जय साहको समर्थकले समर्थन गर्दैमा नेपाली कांग्रेसको हार र जित नहुने दावी गरे। उनले स्थानीय निर्वाचनमा अन्य सम्पुर्ण दलहरु मिलेर कांग्रेसलाई घेरेका कारण जनकपुर उप–महानगरपालिकामा हार व्यहोर्नुपरेको भन्दै अहिले कांग्रेसले नै जित्ने दावी गरे।

कांग्रेसको जिल्ला सभापति समेत रहेका यादवले सञ्जय साहका समर्थकको सहयोगले नेपाली कांग्रेसलाई बल पुग्ने विश्वास व्यक्त गरे। यादवले भने 'सञ्जय साहको २–३ जना समर्थकले कांग्रेसलाई समर्थन गरे तर त्यही पार्टीबाट करिब ४ सय जनाले पार्टी प्रवेश गर्दा अरुको भूमिका पनि कम हुँदैन।'

यता देश र मधेसको लागि दुवै नेता उत्तिकै आवश्यक रहेको राजनीतिक विश्लेकहरुको तर्क छ। एउटै क्षेत्रबाट दुई नेताले निर्वाचनमा टकराव गर्नु दुर्भाग्यपूर्ण भएको राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा बताउँछन्। निधि र महतोको समर्थकका बीचमा हाल अमर्यादित कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनु स्वभाविक भए पनि कार्यकर्ताहरुले समाजिक सञ्जालमा देखिएको प्रचार प्रसारको शैली संस्कारविहीन भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.