|

काठमाडौं : नेपालमा गर्भवती महिलाहरुको स्वास्थ्य संस्थासम्मको पहुँच बढेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले पाँच वर्षपछि सोमबार सार्वजनिक गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा प्रति १० मध्ये ८ जना गर्भवती महिलाले डाक्टर, नर्स, अनमीजस्ता स्वास्थ्यकर्मीबाट सेवा लिइरहेका छन्।

सन् २००१ मा गरिएको सर्वेक्षणमा १० महिलामध्ये ३ जनाले मात्र दक्ष प्रसुतिकर्मीबाट सेवा लिने गरेका थिए। सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार ७५ प्रतिशत बच्चाहरु स्वास्थ्य संस्थामा जन्मिएको पाइएको छ। सन् १९९६ मा ८ प्रतिशत बच्चाहरुमात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए।

सर्वेक्षण अनुसार हाल १० जनामध्ये झण्डै ४ जना बच्चाहरु अझै पनि घरमै जन्मिने देखिएको छ। जसले महिला तथा नवजात शिशु दुवैलाई जन्माउने बेलामा हुने जटिलताको जोखिम रहेको पाइएको छ।

यस्तै सर्वेक्षणले नेपालमा हाल बालबालिकाको स्वास्थ्यमा पनि सुधार भएको देखाएको छ। सन् १९९६ मा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा एक सय १८ को मृत्यु हुने गरेकोमा हाल आएर उक्त मृत्युदर तीन गुना घटेर ३९ मा झरेको छ। बालमृत्युदर घटाउन सबैभन्दा ठूलो भूमिका खोप सेवाले खेलेको स्वास्थ्य मन्त्रालयका अनुगमन तथा मुल्याकंन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिहंले बताए।

उनले भने 'बालमृत्युदर घटाउन सबैभन्दा ठूलो भूमिका खोप सेवाले खेलेको छ, हामीले बच्चालाई जन्मने वित्तिकै विभिन्न खालका रोगप्रतिरोधात्मक खोपको पहुँच बढाएकै कारणले पनि यो अवस्था आएको हो।'

पाँच वर्ष लगाएर गरिएको सर्वेक्षणले हाल नेपालको प्रजनन दर घट्दै गएको समेत देखाएको छ। सन् १९९६ मा एक जना नेपाली महिलाले सरदर ४.६ बच्चा जन्माउँथे भने हाल उक्त संख्या घटेर २.३ मा झरेको छ। प्रजनन् दर घट्नुमा परिवार नियोजनका साधन तथा सेवाको पहुँच तथा प्रयोगमा वृद्धि हुनु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सर्वेक्षणका क्रममा १७ प्रतिशत महिला र २३ प्रतिशत पुरुषमा उच्च रक्तचाप भेटिएको छ। रक्तचाप  मुलुकमा पहिलो पटक १५ वर्ष र सो भन्दा बढी उमेरका पुरुष तथा महिला दुवैको रक्तचाप मापन गरिएको छ।

उक्त सर्वेक्षण स्वास्थ्य मन्त्रालयको नेतृत्वमा, अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा गरिएको थियो। सर्वेक्षणको नतिजाबारे छलफल गर्न काठमाडौंमा दुई दिने कार्यक्रम आयोजना गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.