रवीन्द्रले राजनीति छोड्नेछन्, अनिल चुनावमा मुख देखाउन मात्र आए

|

काठमाडौं : कांग्रेस नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट जीतमा ह्याट्रिक गर्ने अभियानसहित घरदैलो अभियानमा छन्। २०६४ भन्दा २०७० को संविधानसभा निर्वाचनमा सहज रुपमा जीत हासिल गरेका उनी यसपटक अलि बढी नै सक्रिय भएर चुनावी अभियान चलाइरहेका छन्।

सोमबार बिहान साढे ७ बजे नै उनी मध्य बानेश्वरस्थित सचेतना मार्गमा मतदाताको घरदैलोमा भोट माग्दै हिँडिरहेका थिए। अघिपछि कांग्रेसको चारतारे झन्डा र चुनाव चिह्न रुख अंकित झन्डा बोकेका मतदाता र कार्यकर्ताको लाम थियो। मतदाताकोमा पुग्दा 'हाम्रो भोट तपाईंलाई नै हो' भन्ने जवाफ पाइरहेका उनी उत्साही देखिएका थिए। उनका साथमा प्रदेशसभा क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार दीपेन्द्र श्रेष्ठ पनि थिए।

वाम गठबन्धनबाट माओवादी नेता अनिल शर्मा र विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्रलाई प्रतिस्पर्धी पाएका उनी हारमा हैन जीतमा ह्याट्रिक गर्न लागिपरेका छन्। उनले २०४८ र २०५१ को निर्वाचनमा पराजय भोगिसकेका छन्। यसपटक उनले चुनाव हारे भने पनि उनको तेस्रो हार हुनेछ। 

नेपाली कांग्रेसको उपसभापति, महामन्त्री र नेपाल सरकारको उपप्रधानमन्त्री भइसकेका उनी फेरि चुनाव जितेर राजनीतिक उचाइ हासिल गर्ने ध्येयसाथ अभियानमा छन्। 

कतै सगुन त कतै सवाल

मध्य बानेश्वरस्थित मिलनचोकमा तीनजना महिला थालमा अक्षता र सगुन लिएर प्रकाशमान सिंहलाई पर्खिरहेका थिए। उनीहरुले सिंहलाई 'विजयी हुनु' भनि शुभकामना दिए। अक्षता लगाइदिए र सगुन खुवाए।

तीन घण्टाको घरदैलोमा प्रकाशमानलाई धेरै मतदाताले खादा लगाइदिएर 'विजयी हुनु' भनेर शुभकामना दिए। यसै मेसोमा एउटा घरमा भने कांग्रेस नेता महेश आचार्य पनि सामेल भए। मोरङ ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार आचार्यले मतदातासँग छोटो कुराकानी गरे। आफू र प्रकाशमानलाई चुनाव जित्न सहजता र असहजताका कुरा गरे र शुभकामना दिएर बाटो लागे।

नेता आफ्नो घरदैलोमा आएका बेला सगुन खुवाउनेमात्रै थिएनन् सवाल गर्नेहरु पनि थिए। सिंह भोट माग्न आएपछि एक महिला मतदाता भन्दै थिइन्, 'जितेपछि घर नम्बर २५९ पनि छिर्ने गर्नु हजुर, हामीलाई काम पर्छ नि।'

भोट माग्न घरदैलोमा आएका नेतासँग मतदाताले विगतमा भोगेका समस्या पनि राख्दै थिए। त्यस्तै मध्येकी एक थिइन् लक्ष्मी खरेल। उनी भूकम्पमा पाएको दुःख पोखिरहेकी थिइन् र, काम लिएर नापी कार्यालय जादा सरकारी अधिकारीहरुले दिएका दुःख उम्मेदवारसँग सुनाइन्। 'यो घरको हाल साविक गराउन नापी कार्यालय जादा कहिले कतै चुच्चो देखाउने त कहिले कुनै ठाउँमा खोट देखाउने अन्ततः पचास हजार माग्यो', उनी भन्दै थिइन्, 'हामी जनताको यस्तो छ हालत।'

'अरु ठाउँमा प्रचार गर्न ढिला भयो, उहाँका कुरा पछि सुनौला' भन्दै प्रचारमा हिँडेका कांग्रेस कार्यकर्ता हतारिन थालेपछि लक्ष्मी 'भोट माग्न आएको बेला त हात जोड्न दिनुस् न कति कराएको' भन्दै थिइन्। उनले घरको हाल साविक 'पैसाको बिटो' दिएपछि मात्रै भएको बताइन्। उनको सरकारी कार्यालय बेहाल र कर्मचारी भ्रष्ट भएकोमा दुखेसो थियो।

त्यतिबेला आफूसँग कुरा लिएर नआएको भन्दै सम्झाए प्रकाशमानले। उनले भविष्यमा काम परे सम्पर्क गर्न आग्रह गरे। उनले 'सिस्टम बसाल्न लागिपरेको' समेत आश्वासन दिए।

मतदाताको आंकलन : सिंहलाई वाम बलियो प्रतिस्पर्धी कि रवीन्द्र

प्रकाशमान सिंह आफै त सहज जीतको दावी गरिरहेका थिए। विगतका चुनावमा भन्दा यो चुनावमा बढी मतका साथ विजयी हुने उनको दावी थियो। पहिलो पटक पार्टी राजनीतिमा लागेका वाम गठबन्धनका उम्मेदवार माओवादी नेता अनिल शर्मा र पत्रकारिता छोडेर राजनीतिमा लागेको केही समयमा नै निर्वाचनमा होमिएका विवकेशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई उनले बलियो उम्मेदवारका रुपमा नलिएको बताए।

तर, प्रतिस्पर्धी बनेर मैदानमा उत्रिएपछि कसैलाई पनि कम आँक्न नहुने भनाइ थियो स्थानीय पदम कार्कीको। कार्कीको भनाइमा वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले एक पुराना र अर्का सामाजिक सञ्जालमा चर्चा कमाइरहेका उम्मेदवारका बीचबाट विजय हासिल गर्ने आशंका जनाए।

नेपाली कांग्रेसका मतदाता बताउने कार्कीले प्रकाशमानलाई सहज जीत भए पनि ढुक्क भने भइहाल्न नहुने सुझाव दिए। उनले भने, 'यहाँ भोट काट्नेमा प्रतिस्पर्धा छ, सौता भने पनि हुन्छ। रवीन्द्र मिश्र प्रकाशमानको भोट काट्न बीबीसी छोडेर आएजस्ता छन्।' रवीन्द्रले भोट काटे पनि देशको नेतृत्व र विकास गर्ने भने दुई दल मात्रै भएको उनको धारणा थियो। उनले आफ्नो आशा व्यक्त गरे, 'दुईओटा पार्टी (नेपाली कांग्रेस र वाम गठबन्धन) बाट मात्रै आश हो अरुको आश छैन।'

रवीन्द्र मिश्र सामाजिक सञ्जालमा मात्रै चर्चामा रहेको तर ग्राउन्डमा भने प्रकाशमान नै बलियो भएको विश्लेषण गरे कांग्रेसका पूर्व सांसद तारिणीदत्त चटौतले। दुई पार्टी मिलेपछि वाम गठबन्धनका उम्मेदवार पनि बलियो प्रतिस्पर्धी बनेको उनको भनाइ छ। उनले भने, 'अहिले जीत त सुनिश्चित नै लागेको छ तैपनि मिहिनेत त पहिलेभन्दा धेरै गर्नुपरेको छ र गर्नुपर्छ।' वाम गठबन्धनका उम्मेदवार नयाँ हुनु भने कांग्रेसलाई फाइदाको कुरा भएको उनको विश्लेषण थियो। रवीन्द्रका बारेमा उनले भने, 'रवीन्द्र मिश्रलाई भोट दिनुपर्छ भन्ने सामाजिक सञ्जालमा होलान् तर ग्राउन्डमा त्यस्तो छैन।'

घरदैलोका क्रममा रवीन्द्र मिश्र बलियो हो कि भन्ने धारणा भन्ने सुन्न पाइयो। कांग्रेसका कार्यकर्ता र मतदाताले पनि रवीन्द्र मिश्रको नाम लिइरहेका थिए। प्रकाशमान सिंहसँग पनि चासो राखिरहेका थिए। उनलाई युवा मतदाता 'रवीन्द्रलाई रोज्ने कि!' मनसायमा रहेकोले समयमै ध्यान दिन र युवाहरुसँग अन्तर्क्रिया गर्न सुझाव दिइरहेका थिए भने कतिले रवीन्द्रबारे आफ्ना धारणा राख्न आग्रह गरिरहेका थिए।

अनिल, हरिबोल र रवीन्द्रले घरदैलोमा ल्याए प्रकाशमानलाई

प्रकाशमान सिंहलाई विगतका चुनावमा यसरी घरदैलो गरेको नदेखेको एक मतदाताले बताए। विगतका चुनावमा कांग्रेसको गढ भएकोले सजिलै जितेको र यसपालि प्रकाशमान घरदैलोमा आइरहेकोमा नौलो लागेको उनको भनाइ थियो।

नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, 'खासगरी २०७० सालको संविधानसभा चुनावमा यसरी सक्रिय भएर घरदैलोमा आउनुभएन।' विगतमा घरदैलो नगर्नुको कारण एक त कांग्रेसको गढ हुनु र अर्को कांग्रेस कार्यकर्ताले आएर माइकिङ गरे भोट रुखमा हाल्छन् भन्ने सोचाइ भएको उनको भनाइ थियो। 

यसपालि वाम गठबन्धन एक भएर प्रकाशमानलाई पराजित गर्ने गरी लाग्नु र अर्कोतर्फ रवीन्द्र मिश्र चुनावी मैदानमा हुनुले प्रकाशमानलाई मतदाताको घरदैलोमा पुर्‍याएको उनको धारणा थियो। आफू कांग्रेसलाई नै भोट हाल्दै आएको र अबको चुनावमा पनि कांग्रेसलाई नै भोट हाल्ने तर छोराछोरीले के गर्छन् भन्ने थाहा नभएको बताउने उनले भने, 'अब त उहाँका प्रतिस्पर्धी उम्मेदवार आए, उहाँले हार्न सक्ने सम्भावना पनि छ। वाम गठबन्धन पनि तगडा भएर आएको छ, तर मलाई रवीन्द्रदेखि डर छ।'

त्यसो त कांग्रेसका एक नेता नै प्रकाशमानलाई पूराना कांग्रेस हरिबोल भट्टराईले गर्दा पनि घरदैलोमा आउनुपरेको बताइरहेका थिए। 'गणेशमानको लौरो' उपमा पाएका पाका नेताप्रति भावनामा बगेर आफ्ना मतदाता जालान् कि भनेर मनाउन भए पनि कांग्रेसका कटिबद्ध कार्यकर्ता र मतदाताकोमा प्रकाशमान पुगिरहेका छन्।

मैले विकास गरेकोले मतदाता भोट दिन्छन्

घरदैलोपछि हौसला थपिएको थियो प्रकाशमानमा। मतदाताका कुरा सुनेर उनी उत्साही बनेका थिए। अधिकांश मतदाताले 'हामीले हिजो पनि भोट दिएर जिताएका हौं र अब पनि तपाईंलाई नै' भनेपछिको उत्साह थियो त्यो।

स्थानीय स्तरमा खानेपानी, ढल, सडक, सडक बत्ती लगायतका विकास निर्माणका काममा आफूले ध्यान दिएकोले नै मतदाता रुखमा भोट हाल्न प्रतिवद्ध रहेको उनको भनाइ थियो। त्यस्तै शिक्षा क्षेत्रमा आफूले गरेको ठोस काम पनि मतदाताले देखेको उनले दावी गरे। 

काठमाडौं क्षेत्र नम्बर १ का जनतासँग अन्तर्क्रिया गर्नका लागि सम्पर्क कार्यालय समेत खोलेको र सधै जनतासँग पहुँचमा रहेको उनको भनाइ थियो। 'खबर पाउँदा जहाँ पनि म उपस्थित हुन्छु, मसँग पुग्न इजी एक्सेस भएको कारणले र मेरो कामबाट प्रभावित भएकोले भोट दिने गरेको छ', सिंहले भने। उनले अझै पनि कतिपय काम गर्न बाँकी रहेको भन्ने मतदाताका गुनासा आएकोमा तिनलाई जनता र जनप्रतिनिधि मिलेर समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।

झन् बढी मत ल्याएर ह्याट्रिक गर्छुं

अधिकांश मतदाताको मुखबाट 'यहाँको  भोट अन्त जादैन', आश्वासन पाएका प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट ह्याट्रिक गर्नेमा ढुक्क देखिए। उनी २०६४ र २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं १ बाट विजय हासिल गरेका थिए। उनले दृढताका साथ भने, 'पहिलो भन्दा दोस्रो पटक झन् भोट बढी आएको हो। दोस्रोमा कुल सदर मतको ५२.३ प्रतिशत भोट मलाई आएको हो। तेस्रो पटकमा मैले राम्रोसँग आफ्नो क्षेत्र घुमेको कारणले गर्दाखेरि अझ राम्रो भोट आउनेछ।' सांसद भएपछिका र चुनावको मुखमा गरिएका घरदैलो कार्यक्रम र अन्तर्क्रियाले यसपटक झन् बढी मत आफ्नो पक्षमा पर्ने उनको दावी थियो।

'रवीन्द्र मिश्र राजनीति पनि छोडेर जानेछन्'

सामाजिक सञ्जाल र विभिन्न बहसहरुमा प्रकाशमान सिंहको मुख्य प्रतिस्पर्धी बीबीसी नेपालीका पूर्वप्रमुख एवं विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई हेरिएको छ। विवेकशील साझा पार्टीका उम्मेदवार मिश्रले नेपाली कांग्रेसका भोट आफ्नो पक्षमा पारेर विजयी बन्छन् भन्ने अड्कल काटिन थालेको छ।

बुबा गणेशमान सिंह र मिश्रका बुबा मनुजबाबु मिश्रको तुलना गरेर आफू अब्बल भएको दावी गर्दा विभिन्न तहबाट आलोचना खेपेका सिंहले आज भने रवीन्द्रबारे त्यतिधेरै टिप्पणी गर्न चाहेनन्। रवीन्द्र मिश्रबारे उनले भने, 'उहाँले बीबीसी छोडेर आउनुभयो अब राजनीति पनि छोडेर जानुहुनेछ चाँडै।'

उनले आफ्ना प्रतिस्पर्धी मिश्रसँगै शर्मालाई पनि लक्षित गर्दै भने, 'उहाँहरुजस्तै चुनावको मुखमा आएर घुम्ने खालको उम्मेदवार होइन भन्ने यहाँका स्थानीय मतदाताहरुले राम्रोसँग चिनिसकेका छन्।'

अनिल भन्दा गठबन्धनप्रति आक्रोशित

प्रकाशमान सिंहका प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनले माओवादी नेता अनिल शर्मालाई मैदानमा उतारेको छ। सिंहले भने शर्माको भन्दा पनि वाम गठबन्धनको आलोचना गरे। वाम गठबन्धनप्रति लक्षित गर्दै उनले नेपाली कांग्रेस कुनै किसिमको र कुनै स्वरुपको अधिनायकवादको विरोधी भएको बताए। जनताको प्रजातान्त्रिक अधिकारका लागि कांग्रेसको गठन भएको बताउदै उनले भने, 'स्वतन्त्रता हनन गर्छु, निजी सम्पति राख्न दिँदैनौं भन्ने खालका र एक पार्टीबाहेक र अरु पार्टीको उपस्थिति हुँदैन भन्ने अधिनायकवादी शासनको विरुद्धमा लडेको पार्टी हो कांग्रेस।'

उनले प्रतिस्पर्धीबारे भने, 'यिनीहरु भर्खर चुनाव आएको बेलामा देखा परेकाहरु हुन्। म त दुईपटक यहाँबाट प्रतिनिधित्व गरिसकेको हो।' स्थानीयसँग मिलेर स्थानीय समस्या समाधान गर्न आफू वर्षौंदेखि लागेको उनको भनाइ थियो। उनले दोहोर्‍याएर भने, 'मैले भनिहाले नि प्रथमपटक भन्दा दोस्रोपटक बढी भोट ल्याएको तेस्रोमा झनै बढी भोट दिन्छन् भन्ने लाग्छ।'

पढ्नुहोस् : 

घरदैलोमा रवीन्द्र मिश्र : मतदाता भन्छन् - मान्छे जोखेर मात्रै भोट हाल्छौं, 

 

प्रकाशमान र रवीन्द्रका प्रतिस्पर्धी अनिल शर्मा भन्छन्, 'म ओजश्वी उम्मेदवार'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.