|

दमक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको मुद्धा बोकेर राप्रपा कहिँ पुग्न नसक्ने बताएका छन्। चुनाव प्रचारका क्रममा चार दिनदेखि झापामा रहेका ओलीले सोमबार जिल्लाको दक्षिणवर्ती गौरादहको चप्रामारी बजारमा आयोजित सभामा राप्रपालाई प्रश्न गरे ‘उहिले महादेवले सतीदेवी बोकेर हिँड्ता त पार लागेन, अहिले राप्रपाले राजतन्त्र बोकेर पार लाउँछ?’

झापामा बाम गठबन्धनसँग राप्रपाले पनि साझेदारी गरेको भन्दै उनले भने ‘झापाको क्षेत्र नं. ३ मा हामीले राप्रपालाई समर्थन मात्र गरेको होइन भोटै हालेर जिताउने गरी साझा उम्मेदवार बनाएको हो। यसरी एमालेले भोट हालेर राप्रपालाई जिताउँछन् भन्ने लागेको भए किन बोक्थ्यो र फालेको राजतन्त्र।’ चुनाव जित्ने कुनै मुद्धा नभेटेकाले देशभरी राप्रपा राजतन्त्र मुद्धा बाकेर हिँडेको भन्दै यो यात्राले उ कहिँ नपुग्ने ठोकुवा गरे। पुराना, थोत्रा कुरामा पछाडी फर्कनेसँग जनता नजाने भन्दै देश र परिवर्तनको गतिलाई कसैले रोक्न नसक्ने बताए।

मतदाता शिक्षामा जोड

अध्यक्ष ओलीले चुनावी प्रचारमा लाग्ने मात्र होइन, नागरिकलाई कसरी भोट हाल्ने भनेर सिकाउन कार्यकर्तालाई निर्देशन पनि दिए। सही ढंगले भोट हाल्ने तरिका प्रत्येक मतदातालाई सिकाउन आजैदेखि लाग्नु भन्दै उनले तीन ओटै पार्टीका कार्यकर्तालाई निर्देशन दिए। यस्तै भोट हाल्न आफूले पत्र पठाउने भन्दै ती पत्र प्रत्येकका घर घरमा पुर्‍याउनसमेत उनले कार्यकर्तालाई आग्रह गरे।

हाल ओली झापाका ग्रामीण क्षेत्रमा चुनावी प्रचारका क्रममा छन्। उनको साथमा माओवादी केन्द्रका नेता रामनारायण बिडारी समेतसँगै खटिएका छन्। चप्रमारीमा विभिन्न पार्टी छोडेर एमालेमा आउनेलाई उनले स्वागत पनि गरे।

चिया पिउँदै उहिलेका कुरा

आइतबार साँझ भने ओली चुनावी अभियानलाई घटाउँदै गौरीगञ्ज ५ मा रहेको खजुरगाछी बजारको एउटा चिया पसलमा पुगे। आफूले भुमिगतकालमा २०२५ सालदेखि कयौंपटक यहाँ आएर चिया पिएको र त्यही स्वाद मेट्न फेरि आएको सुनाउँदा पसलवाला आनन्द साह दंग परे।

१४ वर्षको जेल जीवनपछि समेत खजुरगाछी आएर चिया पिएको भन्दै पहिले जस्तो चियाको स्वाद तिख्खर नभएको प्रतिक्रिया दिए। ‘पहिले दाउराको आगोमा पकाएर स्टिलका गिलासमा दिइन्थ्यो, अहिले ग्यासमा पकाएर प्लाष्टिकका गिलासमा आउँदो रहेछ, यसले पनि स्वाद फरक पार्‍यो’ उनको प्रतिक्रिया थियो। उनी गौरीगञ्ज ५ को चिलहरामा रहेको ताजपुरिया बस्ती पनि पुगे। त्यहाँ उनले आफ्ना सहयोगी गोविन्द ताजपुरियाका बुवा जेठियाको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.