|

बाँकेः विगतका निर्वाचनमा चर्चामा रहने बाँके क्षेत्र नं.– २ आगामी मंसिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने गुमनाम जस्तै छ। नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृहक्षेत्रसमेत रहेको यस क्षेत्रमा अहिले कांग्रेसले उम्मेदवार नै नउठाएपछि कांग्रेसी नेता, कार्यकर्तामा निराशा छाएको छ।

चुनावी तालमेलका कारण नेपाली कांग्रेसले पूर्व प्रधानमन्त्री कोइरालाको निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छाडेपछि कांग्रेस कार्यकर्ता असुन्तष्ट मात्र छैनन्, यस क्षेत्रले चर्चासमेत पाउन छाडेको छ। कांग्रेस नेता, कार्यकर्ताले कांग्रेस–राप्रपाका साझा उम्मेदवार ओमप्रकाश आजादको खुलेर प्रचार गरेका छैनन्। 
कांग्रेस कार्यकर्ता बाँके क्षेत्र नं.– २ का उम्मेदवारको प्रचारभन्दा क्षेत्र नं.– १ का उम्मेदवार माधवराम खत्रीको प्रचार प्रसारमा खटिएका छन्। कांग्रेस कार्यकर्ताले क्षेत्र नं.– २ का कांग्रेस–राप्रपा उम्मेदवार आजादको मौन असमर्थन गरिरहेको कांग्रेस नेताको भनाइ छ। 

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले उम्मेदवार छनोटमा पार्टी सभापति शेरबहादुर देउवाले अत्याचार गरेको बताएकी छन्। उनले पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको अपमान हुने गरी सभापति देउवाले राप्रपालाई उम्मेदवार बनाउने सहमति गरेको बताएकी हुन्। उनले कांग्रेसका पकेट क्षेत्रमा राप्रपालाई उम्मेदवार बनाउँदा धेरै नेता, कार्यकर्ता निराश भएको बताउँदै पार्टी सभापतिले कांग्रेसलाई घाटा हुने निर्णय पार्टी सभापतिले गरेको गुनासो गरिन्। ‘सुशील दाको अपमान त पार्टी सभापतिले गर्नुभयो नै नेपाली कांग्रेसको शाखसमेत गिराउने काम गर्नुभयो’, कोइरालाले भनिन्। 

निवर्तमान सांसद एवं मुस्लिम संघका नेता अब्दुल हमिद सिद्धिकीले बाँके क्षेत्र नं.– २ मा कांग्रेसले राप्रपालाई टिकट दिएकै कारण नेता तथा कार्यकर्ता निराश भएको बताएका छन्। उनले केन्द्रको निर्णयलाई मान्न नसकिने बताउँदै गाईको प्रचार प्रसारमा जान नसकिने स्पष्ट पारेका छन्। ‘आफ्नो अस्तित्व समाप्त पार्ने गरी गाईको प्रचारमा जान सकिँदैन’, आफ्नो फेसबुक पेजमा उनले लेखेका छन्। 

एमालेले पनि स्वतन्त्र समूहको नाममा पशुपतिदयाल मिश्रलाई बाँके क्षेत्र नं.– २ को उम्मेदवार बनाएपछि एक तहका नेता, कार्यकर्तामा नैराश्य छाएको छ। मिश्रले मधेस आन्दोलनको नाममा भारतीय भूमिबाट नेपालीमाथि नै ढुंगा हानेको आरोप लागेका व्यक्तिलाई एमालेले उम्मेदवार बनाएपछि नेता, कार्यकर्ता द्विविधामा परेका छन्। 

तैपनि, मिश्र विकासप्रेमी भएको र विगतमा भएका गल्तीलाई सच्याएर एमालेको चुनाव चिह्नबाट चुनावी मैदानमा उत्रिएपछि एमाले र माओवादीका नेता, कार्यकर्ता संयुक्त निर्वाचन परिचालन समिति गठन गरेर तीब्रताका साथ चुनावी अभियानमा जुटेका छन्। विगतका गल्तीलाई भन्दा अहिलेको अवस्थालाई मध्यनजर गरी चुनावी प्रचार प्रसारमा होमिएको एमाले बाँकेका सचिव रत्न खत्रीले बताए। ‘पार्टीले टिकट दिएका उम्मेदवारलाई जिताउने पार्टी सदस्यको जिम्मेवारी हो, हामीले नेताभन्दा पार्टीको चुनाव चिह्नमा चुनावी मैदानमा रहेका उम्मेदवारलाई जिताउँछौँ’, उनले भने। 

मिश्र राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा जिल्ला विकास समितिका सभापति भएका थिए। उनी नेपालगन्ज विश्वविद्यालय स्थापना संघर्ष समितिका संयोजकका साथै उद्योगी, व्यापारीका रूपमा परिचित छन्। वाम गठबन्धनका साझा उम्मेदवार मिश्र कानुन व्यवसायीसमेत हुन्। सरल र मिजासिला स्वभावका मिश्रलाई विकासप्रेमी नेताको रूपमा लिइन्छ। 

नेपाली कांग्रेसको समेत साथ पाएर राप्रपाका ओमप्रकाश आजाद प्रतिनिधिसभा बाँके क्षेत्र नं.– २ को चुनावी मैदानमा छन्। लामो समयदेखि राप्रपामा रहेर काम गरेका आजाद अहिलेसम्म निर्णायक पदमा आसिन हुन पाएका छैनन्। कसैलाई नराम्रो व्यवहार नगर्ने आजाद सरल र सरस स्वभावका छन्।

उनको स्वच्छ छविका कारण राप्रपाले उनलाई प्रतिनिधिसभा बाँके क्षेत्र नं.– २ को उम्मेदवार बनाएको हो। उनलाई कांग्रेसले साथ दिए पनि तल्ला तहका कांग्रेसी नेता, कार्यकर्ता सन्तुष्ट देखिँदैनन्। कांग्रेस कार्यकर्ताको भोट आजादलाई भन्दा अन्य उम्मेदवारलाई जाने संकेत देखिएको छ। ‘कांग्रेसी कार्यकर्ताको भोट बाँडिने संकेत देखिएको छ’, कांग्रेसका एक सक्रिय सदस्यले भने, ‘आजादको खुलेर विरोध नगर्ने, तर भित्रभित्रै असहयोग गर्ने रणनीति कांग्रेस नेता, कार्यकर्ताको देखिन्छ।’ 

संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहम्मद इस्तियाक राई उदाउँदो नेताका रूपमा अगाडि देखिएका छन्। मधेस आन्दोलनबाट सक्रिय राजनीतिमा आएका राईको राजनीतिक यात्रा भने लामो छैन। उनी राजनीतिमा आउनुभन्दा पहिले पशुको व्यापार गर्दथे। भारतबाट पशु ल्याएर नेपालमा बिक्री गर्दै आएका राईलाई मधेस आन्दोलनले नेताको रूपमा स्थापित गरेको थियो। उनको सरल स्वभावका कारण जनतामाझ लोकप्रिय बन्दै गए पनि उनलाई धार्मिक कट्टरताको आरोप लाग्ने गरेको छ। यही आरोपका कारण उनलाई एक पक्षको मत कम आउने संभावना देखिन्छ।

लोकतन्त्रपछि छोटो समयमै चर्चामा आउन सफल राई पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन बाँके क्षेत्र नं.– २ बाट विजयी भएका थिए। पहिलो संविधानसभा निर्वाचनमा पशुपतिदयाल मिश्रलाई पराजित गरेका राई अहिले तिनै मिश्रसँग प्रतिस्पर्धा गर्दै छन्। संविधानसभा सदस्य भएका बेला उनी फोरम नेपालको तर्फबाट श्रम तथा रोजगारमन्त्री भएका थिए। 

संविधानसभाको पहिलो निर्वाचनमा विजयी भएका उनी दोस्रो संविधानसभा निर्वाचनमा एमालेका दिनेशचन्द्र यादवसँग पराजित भए। तर, त्यति बेलाको निर्वाचन क्षेत्र र अहिलेको क्षेत्र फरक छ। नेपालगन्ज उपमहानगरपालिका पनि निर्वाचन क्षेत्र नं.– २ मै पर्छ। 

मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टीको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका पूर्व प्रमुख विजय गुप्ता चुनावी मैदानमा छन्। उनी २०४९ सालमा नेपाली कांग्रेसको तर्फबाट नेपालगन्ज नगरपालिकाको प्रमुखमा विजयी भएका थिए। वरिष्ठ अधिवक्ता गुप्ता लामो समय नेपाली कांग्रेसको सक्रिय राजनीति गरे पनि मधेस आन्दोलनपछि कांग्रेसबाट विचलित भएर मधेसवादी दल तराई–मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका हुन्। 

उनी कुशल संगठकभन्दा जातीय, क्षेत्रीय राजनीतिमा सक्रिय देखिन्छन्। मधेसी र पहाडी मूलका जनताबीच भएको सुमधुर सम्बन्धमा दरार ल्याउने भूमिका खेलेको आरोप उनीमाथि लाग्ने गरेको छ। संविधान जारी भएपछि असन्तुष्टि स्वरूप मधेसमा भएको आन्दोलन र नाकाबन्दीका बेला भारतमा बसेर नेपाली भूमिमा ढुंगा प्रहार गर्न लगाउने एवं मधेसी र पहाडीबीच द्वन्द्व बढाउने कार्यमा गुप्ताले भूमिका खेलेको आरोप छ। 

गुप्ताले लामो समय नेपाली कांग्रेसमा बसेर सक्रिय राजनीति गरेका कारण उनको प्रभाव कांग्रेसमा अझै बाँकी छ। नेपालगन्ज नगरपालिकाको प्रमुख भएका बेला उनले न्यूरोड, रानी तलाउ र वाटरपार्कमा बोटिङ गर्ने योजना अघि सारेका थिए। उनकै योजनालाई तत्कालीन प्रमुख धवलशम्शेर राणाले कार्यान्वयनको प्रयास गरेका थिए। 

प्रतिनिधिसभा बाँके क्षेत्र नं.– २ मा चार पक्षीय भीडन्त
प्रतिनिधिसभा बाँके क्षेत्र नं.– २ मा चार राजनीतिक दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ। वाम गठबन्धन र लोकतान्त्रिक गठबन्नका साथै मधेसवादी दलबीच यस क्षेत्रमा कडा टक्कर हुने देखिएको हो। यस क्षेत्रमा एमाले र माओवादीले पशुपतिदयाल मिश्रलाई उम्मेदवार बनाएका छन् भने कांग्रेस र राप्रपाले ओमप्रकाश आजादलाई उम्मेदवार बनाएका छन्। कांग्रेसले संघीय फोरम र राष्ट्रिय जनता पार्टीसँग गठबन्धन गर्ने भने पनि सफल नभएपछि संघीय समाजवादी फोरमले मोहम्मद इस्तियाक राई र राजपाले विजय गुप्तालाई उम्मेदवार बनाएको छ। 

नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मिलाएर बनाइएको प्रतिनिधिसभा क्षेत्र नं.– २ मा २७ वटा वडा रहेका छन्। यस क्षेत्रबाट नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ नंं. वडा झिकिएको छ। स्थानीय तहमा निर्वाचनमा नेपाली कांग्रेसले यहाँबाट सबैभन्दा धेरै मत प्राप्त गरेको छ। 

यस क्षेत्रमा एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजवादी फोरमले प्राप्त गरेको मत संख्या लगभग हाराहारीमै छ। गत स्थानीय तह निर्वाचनमा कांग्रेसले १२ हजार ७०० मत प्राप्त गर्दा राप्रपाले आठ हजार ५००, फोरम लोकतान्त्रिकले एक हजार, संघीय समाजवादी फोरमको आठ हजार १०० र एमालेको मत नौ हजार ४०० रहेको छ। 

डुडुवा गाउँपालिकामा संघीय फोरमले राम्रो मत प्राप्त गरेको थियो। यस निर्वाचन क्षेत्रमा माओवादी केन्द्रको सात हजार १०० मत रहेको छ।

स्थानीय निर्वाचनको मत परिणामअनुसार यस क्षेत्रमा कांग्रेस र राप्रपाको कुल मत २१ हजार २०० हुन आउँछ। एमाले र माओवादी केन्द्रको मत जोड्दा १६ हजार ५०० हुन्छ। कांग्रेसले पाएको मत स्थिर भए पनि राप्रपाले पाएको मत पार्टीगतभन्दा प्रमुखका उम्मेदवार डा. धवलशम्शेर राणाको व्यक्तित्वले पाएको मत भनेर बुझ्ने गरिएको छ। नेपालगन्ज उपमहानगरपालिकामा राप्रपाको संगठन त्यति बलियो मानिँदैन। 

निर्वाचन क्षेत्र नं.– २ मा कांग्रेस र राप्रपा गठबन्धनको मत धेरै देखिए पनि यस क्षेत्रमा संघीय समाजवादी फोरम र एमाले–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। यस क्षेत्रमा राप्रपा–कांग्रेस गठबन्धनका उम्मेदवार त्यति लोकप्रिय नभएका र कांग्रेस नेता, कार्यकर्ता रुष्ट भएकाले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ओमप्रकाश आजादलाई जाने मत एमाले–माओवादी केन्द्रका उम्मेदवार मिश्रलाई जाने देखिन्छ। मुस्लिम समुदायको मत संघीय समाजवादी फोरमका उम्मेदवार मोहम्मद इस्तियाक राईलाई जाने अनुमान गरिएको छ। 

कांग्रेसको भोट राजपा, राप्रपा, एमाले–माओवादी केन्द्र र एकीकृत राप्रपामा बाँडिने खतरा औँल्याइएको छ। कांग्रेसको मत चारैतर्फ बाँडिने भएकाले बाँके क्षेत्र नं.– २ मा कांग्रेस–राप्रपा उम्मेदवारभन्दा एमाले–माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.