|

कास्की : जिल्लामा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारको बाक्लो प्रचार थियो, २०७० सालको चुनावताका। चोक र सडकमा अन्य दलको भन्दा जातीय, क्षेत्रीय मुद्दा उठाउने दलका पोस्टर, ब्यानर र माइकिङ बढी देखिन्थे। ‘तमुवान’ र ‘अखण्ड पश्चिम’ भन्ने दुई छुट्टाछुट्टै नारासहित आन्दोलन चर्किएको मुख्य केन्द्र कास्कीको दृश्य यो चुनावमा भने बदलिएको छ।  

यसपालि जातीय, क्षेत्रीय मुद्दा उठाउनेहरू मत्थर देखिएका छन्। कांग्रेस र वाम गठबन्धनमै उनीहरूको विलय भएको छ। ‘स्थानीय तह र यो निर्वाचनमा जातीय सवाल ओझेलमा परेको छ। त्यसैले जातीय मतको प्रभाव यो निर्वाचनमा पर्लाजस्तो मलाई लाग्दैन,’ पृथ्वीनारायण क्याम्पसकी उपप्राध्यापक शान्ताकुमारी खत्रीले भनिन्, ‘सबै क्षेत्र र वर्गका मतदाता आफ्नै मोर्चामा बाँधिइरहेका छन्। संगठित भइसकेका छन्।’

बहालवाला मन्त्री यज्ञबहादुर थापा कांग्रेस र वाम गठबन्धनका युवा नेता रवीन्द्र अधिकारीसम्म यहाँ प्रतिस्पर्धामा छन्। कास्की १ मा मन्त्री थापासँग एमाले नेता पूर्वमन्त्री खगराज अधिकारी भिड्दै छन्। २ मा दुई पटक लगातार सांसद जितेका एमालेका युवा नेता अधिकारीसँग पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् कांग्रेसका देवराज चालिसे। ३ मा एमालेका जगत विश्वकर्मासँग कांग्रेसका पुराना नेता शुक्रराज शर्मा प्रतिस्पर्धामा छन्।

विगतमा मिश्रित परिणाम आउने गरेको कास्कीमा यस पटक पनि स्पष्ट तस्बिर देखिइसकेको छैन। ‘यस पटक जातीय मतले त्यति प्रभाव पार्दैन। ठूला पार्टीका आफ्ना भोट बैंक सुरक्षित नै हुन्छन्,’ राजनीतिकशास्त्रका प्राध्यापक पदमशरण रेग्मीले भने, ‘सहरी मत अस्थिर हुने गर्छ। त्यसैले नयाँ मतदातालाई आकर्षित गर्नेले परिणाम आफ्नो पक्षमा पार्न सक्छन्।’

कास्कीमा सहरी मतदाता बढी रहेकाले उनीहरूलाई प्रभावित पार्न दुवै गठबन्धनको प्रचार बलियो छ। मत आफ्नो पक्षमा पार्न स्थानीयदेखि राष्ट्रिय राजनीतिका मुद्दासमेत उम्मेदवारहरूले प्रचार गरिरहेका छन्। ‘मुलुकलाई स्थिर सरकार दिएर कास्कीलाई प्रदेश ४ को केन्द्र र पर्यटकीय राजधानी बनाउन वामपन्थी गठबन्धनले मात्र सक्छ,’ एमाले युवा नेता अधिकारीले भने, ‘त्यसैले सबै क्षेत्रमा हामीलाई जनताले जिताउँछन् भन्ने विश्वास छ, विगतको परिणामका आधारमा पनि जित सुनिश्चित छ।’

कांग्रेस गठबन्धनका नेताहरू पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्। कांग्रेस उम्मेदवारहरूले विकासका मुद्दासँगै वामपन्थी गठबन्धनले लोकतन्त्र ध्वस्त पार्छ भन्ने प्रचार गर्न छुटाएका छैनन्। ‘भर्खरै हामीले संविधान जारी गरेका छौं, यो संविधान कार्यान्वयनकै लागि चुनाव हुन लागेको हो तर चुनावपछि यो व्यवस्था नै फेर्ने कुरा कम्युनिस्टहरूले गर्न थालेका छन्,’ कानुनमन्त्रीसमेत रहेका कास्की १ का उम्मेदवार थापाले भने। कम्युनिस्टहरूलाई जिताए लोकतन्त्र नै सुरक्षित नहुनेबारे आफूहरूले मतदातालाई बुझाउने कोसिस गरेको उनी बताउँछन्।  

संविधानसभाको दोस्रो निर्वाचनमा कास्कीमा कांग्रेस र एमालेले २र२ सिट जितेका थिए। पहिलो संविधानसभा निर्वाचनमा भने माओवादीले ३ र एमालेले एक गरी चारै सिट जितेका थिए। ०५६ को संसदीय निर्वाचनमा भने कांग्रेसले तीनै सिट जितेको थियो। ०४८ देखि ०५६ सम्मका निर्वाचनमा कास्कीमा ३ क्षेत्र थिए। संविधानसभाका दुवै निर्वाचनमा ४ क्षेत्र कायम गरिएकोमा पछिल्लो संरचनाअनुसार ३ क्षेत्र कायम गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.