|

काठमाडौं :  आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा र पाँच जना पूर्वप्रधानमन्त्री प्रतिस्पर्धामा छन्।  निरन्तर राजनीतिमा सक्रिय पूर्वप्रधानमन्त्री केही आफ्नै पूर्ववत् निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने केहीले नयाँ क्षेत्र रोजेका छन्।

यसअघिका चुनावी परिणाम र हालैको स्थानीय निर्वाचनको मत परिणामले पूर्वप्रधानमन्त्रीहरूको ‘सेफ’ र ‘डेञ्जर जोन’ भने मिश्रित छ। 
प्रधानमन्त्री देउवा आफ्नो नियमित निर्वाचन क्षेत्र डडेलधुराबाट चुनावमा प्रतिस्पर्धा गर्दैछन्।  देउवासँग वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार खगराज भट्ट तेस्रोपटक चुनावी मैदानमा छन्।  भट्ट २०६४ र २०७० को संविधानसभा निर्वाचनमा देउवासँग पराजित भएका थिए।  दोस्रो संविधानसभा २०७० को मतान्तर ११ हजारभन्दा बढी थियो।  

तर, हालैको स्थानीय निर्वाचनको नतिजाअनुसार देउवालाई सजिलो नभएको पनि आँकलन गरिँदै  छ।  यसपटक वाम गठबन्धन एकै ठाउँमा रहेका कारण प्रधानमन्त्री देउवाका लागि चुनावी परिणाम यसअघिको जस्तो सहज नदेखिएको हो।  अङ्क गणितका हिसाबले स्थानीय निर्वाचनमा वाम दल कांग्रेसभन्दा आठ हजार मतले अघि छन्।  

अहिलेसम्मका पाँचवटा संसदीय निर्वाचनमा अविजित देउवा अङ्क गणितमा योपटक ‘डेञ्जर जोन’मा देखिन्छन्।  भट्टलाई दुई पटकको हारपछि जित हासिल गर्ने अवसर पनि छ।  डडेलधुरामा प्रतिनिधिसभामा छ उम्मेदवार प्रतिस्पर्धामा छन्।    

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौं–२ बाट प्रतिस्पर्धामा छन्।  नेता नेपालको मुख्य प्रतिस्पर्धी कांग्रेसका दीपक कुइँकेल छन्।  दोस्रो संविधानसभा उपनिर्वाचनमा पाँच हजारभन्दा बढी मतले कुइँकेल यही क्षेत्रबाट निर्वाचित भएका हुन्।  संविधानसभा सदस्यमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित नेता नेपालले उक्त क्षेत्र छाडेका थिए। 

पहिलो संविधानसभा ९२०६४० मा दुई क्षेत्रबाट अनपेक्षित हार बेहोरेका नेता नेपाल २०७० को निर्वाचनमा रौतहट–१ र काठमाडौँ–२ बाट निर्वाचित भएका थिए।  दुई क्षेत्रबाट निर्वाचित नेपालले कानुनी व्यवस्थाअनुसार काठमाडौँ–२ छाडेका थिए।  उक्त स्थानमा भएको उपनिर्वाचनमा कांग्रेसका कुइँकेल विजयी भएका थिए।  स्थानीय तहको अङ्क गणित र २०७० मा आठ हजारभन्दा बढीको मतान्तर नेपालको पक्षमा भए पनि निर्वाचित क्षेत्र छोड्नुले नेपालमाथि मतदाताले प्रश्न उठाएका छन्।  काठमाडौँ–२ मा प्रतिनिधिसभाका लागि २४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।  

पूर्वप्रधानमन्त्री झलनाथ खनाल २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा इलाम–१ बाट निर्वाचित भएका थिए।  योपटक पनि खनाल त्यही क्षेत्रबाट प्रतिस्पर्धामा छन्।  खनालका मुख्य प्रतिस्पर्धी कांग्रेसका भूपेन्द्र कट्टेल छन्।  लगातार दुईपटक सोही क्षेत्रबाट निर्वाचित खनाल ह्याट्रिकको दौडमा छन् भने कट्टेल पहिलो जितको दौडमा छन्।  यसअघिको मतपरिणाम र स्थानीय तहको नतिजा भने खनालको पक्षमा छ।  प्रतिनिधिसभामा त्यस क्षेत्रबाट आठ जना प्रतिस्पर्धी छन्।   
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचनमा झापा–७ बाट तत्कालीन एमाओवादीका युवानेता विश्वदीप लिङ्देनसँग पराजय बेहोरेका थिए।  २०७० को निर्वाचनमा भने ओली विजयी भए।  

तुलनात्मक रूपमा ओली सुरक्षित निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा छन्।  ओलीका मुख्य प्रतिस्पर्धीमा कांग्रेसका डा। खगेन्द्र अधिकारी छन्।  शिक्षण पेसामा संलग्न अधिकारी उम्मेदवार बन्न त्रिभुवन विश्वविद्यालयको जागिर छाडेर झापा पुगेका हुन्।  झापा–५ बाट प्रतिनिधिसभामा ओलीसहित १४ प्रतिस्पर्धी छन्।  

जन्मथलो चितवनमा पहिलोपटक उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसामु कडा चुनौती छ।  कांग्रेसको बलियो क्षेत्र मानिएको चितवन–३ मा कांग्रेसकै समर्थनमा उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे प्रचण्डका लागि चुनौती छन्।  

सशस्त्र सङ्घर्षपछिको पहिलो संविधानसभा सदस्य निर्वाचनमा प्रचण्ड रोल्पा–१ र काठमाडौं–१० बाट निर्वाचित भएका थिए।  दोस्रो संविधानसभामा रोल्पा छोड्नुभएका प्रचण्डलाई काठमाडौँका मतदाताले अस्वीकार गरे पनि सिरहा–५ का मतदाताले जनप्रतिनिधि चुने।  योपटक प्रचण्ड पुरानो निर्वाचित क्षेत्र सिरहा पनि छोडेर जन्मथलो चितवन पुगेका छन्।  एमालेको सहयोगमा उम्मेदवार बनेका प्रचण्डलाई लोकतान्त्रिक गठबन्धनको चुनौती कमजोर नहुँदा ‘डेञ्जर जोन’का रूपमा हेरिएको छ। 

शान्तिपूर्ण राजनीतिमा रूपान्तरण भएपछि पहिलोपटक गोरखा–२ का मतदाताले डा। बाबुराम भट्टराईलाई दुई तिहाइ मत दिएका थिए।  गोर्खाली जनताको मतमा भट्टराई अर्थमन्त्री हुँदै प्रधानमन्त्री बने।  दोस्रो संविधानसभा निर्वाचनमा उनले  दुई क्षेत्र रोजे।  रूपन्देही–४ का मतदाताले पराजित गर्दा उनी गोरखाबाट पुनः बहुमत मतका साथ विजयी भए।   

संविधान जारीपछि भट्टराईले राजनीतिक दिशा परिवर्तन गर्दैै संसदबाट पनि बाहिर आएपछि नयाँ दल गठन गरे।  अहिले उनीनयाँ शक्ति पार्टीका नामबाट पुनः गोर्खाली जनताको घरदैलोमा छन्।  भट्टराईको प्रतिस्पर्धीमा उनकै मूल पार्टीका नेता नारायणकाजी श्रेष्ठ छन्।  

भट्टराईका लागि श्रेष्ठ कडा चुनौती छन्।  एमालेको सहयोगमा उम्मेदवार बनेका श्रेष्ठ पछिल्लो अङ्क गणितमा केही अघि छन्।  भट्टराईलाई कांग्रेसको बलियो साथ छ।  पहिलो चरणमा निर्वाचन हुने ३७ क्षेत्रमध्ये अत्यन्तै रोचक निर्वाचन क्षेत्रका रूपमा गोरखा–२ लाई हेरिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.