|
फाइल फोटो

काठमाडौं : चितवन–३ निर्वाचन क्षेत्र मंगलपुरका दिनेश चौधरी आइतबार झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए। उनी कतार एयरवेजको बिहान ११ः४० बजेको उडानबाट वैदेशिक रोजगारीका लागि दोहा हानिएका हुन्।

विगत तीन वर्ष कतारमा काम गरी दसैं–तिहार र छठ पर्वका लागि घर बिदामा आएर पुनः विमानस्थलबाट फर्किंदै गरेका चौधरी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्रका मतदाता हुन्।

आगामी १० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिए पनि उनलाई निर्वाचन रौनकले छोएन। मुलुक निर्वाचनमय भएर विभिन्न दलका नेता कार्यकर्ताहरू आकर्षक चुनावी नारा लिएर भोट माग्न घर आँगनमा पुग्न थालेको उनलाई थाहा छ। तर निर्वाचनमा मताधिकारभन्दा उनको रोजीरोटी प्राथमिकतामा पर्‍यो। ‘चुनावी माहोलमा दुई दिन भुलिएर के गर्नु ?  परिवार पाल्नै पर्‍यो, मत दिएर जिताएका नेताले विगतमा केही गरिदिएको भए चुनावको मुखैमा म किन विदेशिनु पर्थ्यो र र?’ उनको दुखेसो छ।

विमानस्थलबाट वैदेशिक रोजगारीका लागि पहिलोपटक कतार जाँदै गरेका रसुवाका नवराज न्यौपाने पनि निर्वाचनभन्दा आफ्नो दैनिक घर खर्च चलाउने पैसा कमाउने विषय प्राथमिकतामा रहेको बताउँछन्।

उनले आफ्नै गाउँका कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका मोहन आचार्यलाई सहयोग गर्न छिमेकीले दबाब दिँदादिँदै पनि आगामी तीन वर्षका लागि कतार जान लागेको बताए। यहाँ बसेर अनेक दुःख गर्दा पनि परिवार पाल्न मुस्किल भएपछि बाध्य भएर वैदेशिक रोजगारीमा हिँडेको उनको भनाइ छ। उनी आइतबार दिउँसो साढे १ बजे जेट एयरवेजको नियमित उडानबाट दोहा गएका हुन्।

उनले आगामी निर्वाचनमा विभिन्न दलले आफ्ना घोषणापत्रमा नै उल्लेख गरी विदेशमा कार्यरत करिब ४० लाख नेपालीलाई घर फर्काएर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था मिलाउनेसम्मका आश्वासन दिएपछि अहिलेसम्म स्वदेशमा रोजगारी प्राप्त हुने कुनै संकेत नदेखिएको गुनासो गरे। दलका नेताहरूले यहाँका युवालाई स्वदेशमै रोजगारीको अवसर उपलब्ध हुने वातावरण मात्र बनाइदिएको भए हामी चुनाव आउन जम्मा १३ दिन मात्र बाँकी रहँदा किन विदेशिन बाध्य हुन्थ्यौं र !’ विदेशिनुको पीडा सुनाउँदै उनी भन्छन्।

घरेलु कामदारका रूपमा दुबई जाने क्रममा त्रिभुवन विमानस्थलमा भेटिएका ताप्लेजुङका आशिष राई पनि निर्वाचनभन्दा परिवार पाल्ने विषय प्रमुख रहेको भन्दै बिदेसिए। विमानस्थल मूल गेटबाट बिदा हुँदै गर्दा उनलाई विदाइ गर्न आएका परिवारसामु उनी भन्दै थिए, ‘म त हिँडे गाउँमा गएर तपाईंहरूले उम्मेदवार भेट्नुभयो भने सोध्नुहोला, तपाईंलाई मत दिएर जिताएपछि हामीजस्ता युवाले परिवार पाल्न खाडी राष्ट्र धाउने दिन जान्छन् त?’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.