|

लहान : जिल्ला समन्वय समिति सिरहामा वाम गठबन्धनको प्यानल विजयी भएको छ। नौ सदस्यीय जिल्ला समन्वय समितिमा वाम गठबन्धनबाट प्रमुखसहित माओवादी केन्द्रका चार र उपप्रमुखसहित एमालेका पाँच जना विजयी भएका हुन्। 

निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार जिसस प्रमुखमा माओवादी केन्द्रका रामचन्द्र ठाकुर १८ मतसहित विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका बादलप्रसाद यादवले १४ मत प्राप्त गरेका छन्। 

उपप्रमुख पदमा एमालेका सरोजकुमार यादव १८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका बिसुन साह बनियाले १३ मत पाएका छन्। जिससको महिला सदस्यमा माओवादी केन्द्रकी कृष्णमाया विक, एमालेकी गीताकुमारी पासवान र नुरजहाँ खातुन १८\१८ मत प्राप्त गरी विजयी भएका छन्। 

जिससको अन्य सदस्यहरुमा माओवादी केन्द्रका उमेशकुमार सिंह र एमालेका  छविलाल यादव तथा शुभनारायण साह विजयी भएका छन्। समन्वय समितिमा दलित वा अल्पसंख्य सदस्यमा माओवादी केन्द्रका तेतर मोची निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सुरदर्शनराज पाण्डेले जानकारी दिए। 

जिल्लाका ८ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष गरी ३४ मतदाता रहेको निर्वाचनमा ३३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचनमा वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र एमालेको क्रमशः ११ र ९, फोरम १० र कांग्रेसको चार मतदाता रहेका थिए। 

को हुन् प्रमुख ठाकुर ?
सिरहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– ८ गौताडी स्थायी घर रहेका ६४ वर्षीय रामचन्द्र ठाकुर २०५४ को स्थानीय निकायको निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चा नेपालबाट गौताडी गाविस अध्यक्ष निर्वाचित भएका थिए। गाविस अध्यक्ष निर्वाचित भएपछि इमानदारीपूर्वक जनताको पक्षमा गरेको कामले नै उनलाई लोकप्रिय बनाएको सिरहाको पश्चिमी भेगका स्थानीय बताउँछन्। 

किसान अन्दोलनका नेता मानिने तत्कालीन नेकपा (चौथो महाधिवेशन) का पोलिटब्यूरो सदस्य समेत रहेका कर्जन्हाका जयगोविन्द साहको राजनीतिक छत्रछायाँमा हुर्किएका जिसस प्रमुखमा निर्वाचित प्रमुख ठाकुर इमान्दार नेता मानिन्छन् ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.