खेलकुद

गोल्डकपको 'हब' प्रदेश नं. १, कसरी चल्छन् दर्जनभन्दा बढी फुटबल प्रतियोगिता?
SHARES

कात्तिक २८, २०७४

    इलाम : पूर्वमा फुटबल प्रतियोगिताको लहर नै चल्न थालेको छ। नेपाली फुटबलमा सबैभन्दा बढी राष्ट्रिय खेलाडी जन्माएको झापामा मात्र बर्सेनि ५ वटा गोल्डकप प्रतियोगिता हुने गर्छन्। यस वर्षदेखि दुधे गोल्डकपसमेत थपिएको छ।

    पूर्वका हरेकजसो जिल्लामा फुटबलका ठूला प्रतियोगिता आयोजना भइरहेका छन्। चर्चित टीमहरूको सहभागितामा सामान्यतया दसैंपछि हुने ठूला प्रतियोगिता आयोजनासँगै प्रदेश नं. १ फुटबलमय बन्छ।

    पछिल्लोपटक सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा झिलझिलेमा कार्तिक २८ देखि मंसिर ७ गतेसम्म दोस्रो सताक्षी गोल्डकप प्रतियोगिता हुँदैछ। भारतको एकसहित १० वटा ए डिभिजका टिमहरु सहभागी रहने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गर्नेछन्।

    उदयपुरमा छैटौँ नारदमुनी गोल्डकप प्रतियोगिता केही दिनअघि सम्पन्न भयो। प्रतियोगितामा रुपन्देही ११ लाई २–० ले हराउदै ब्वाइज युनियन क्लबले २ लाख नगदसहित उपाधि पार्‍यो। २०७२ बाट सुरु भएको झापा गोल्डकप दोस्रो संस्करण २०७३ मा आइपुग्दा मोफसलकै सबैभन्दा ठूलो पुरस्कार राशी (विजेतालाई ७ लाख) को प्रतियोगितालाई बनेको थियो।

    झापा गोल्डकपलाई पछि पार्दै मंसिर ६ गतेबाट मोफसलकै सर्वाधिक राशीको मेची नेत्रालय काकँरभिट्टा गोल्डकप तेस्रो संस्करण हुँदैछ। प्रतियोगितामा आयोजक सहित ए डिभिजनका ८ टिम र भारतको सुभाषचन्द्र ब्वाइज क्लबको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले ८ लाख १ हजार नगद, ट्रफी र प्रमाणपत्र, दोस्रोलाई ४ लाख १ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

    इलाममा वि.सं. १९९० को दशबाट फुटबल खेल्न थालिएको इतिहास छ। झण्डै ८ दशकपछि आइपुग्दा इलामका लागि फुटबल एउटा पर्वजत्तिकै बनेको छ। ठूला–ठूला प्रतियोगिता हुन थालेका छन्। तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित महावीर सिल्ड, कमल सिल्ड, ज्ञानीराम सिल्ड हुँदै भूकम्पपीडित कप फुटबल प्रतियोगितासम्म भएको इतिहास छ।

    वि.सं. १९९५ को इलामको टिम। फोटो : माईभ्याली फुटबल क्लबको फेसबुक पेजबाट


    पछिल्लो समय माईभ्याली गोल्डकप पूर्वकै प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित छ। इलाममा मात्रै माइभ्यालीसहित बर्सेनि ३ वटा गोल्डकप प्रतियोगिता हुन्छन्। मेची र कोशीका महिला टीमलाई सहभागी गराएर माङसेवुङ गाँउपालिकामा पवित्राहाङमा गोल्डकप र पुरुषहरुलाई सहभागी गराएर आत्मानन्द गोल्डकप प्रतियोगिता विगत १० वर्षदेखि हुँदै आएको छ।

    पूर्वमा गोल्डकपको इतिहास

    झापामा २०२४  सालबाट  त्रिभुवन गोल्डकपको सुरुवातबाट पूर्वमा गोल्डकप प्रतियोगिताको लहर सुरु भएको मानिन्छ। त्यति बेला भद्रपुरमा स्थानीय क्लबहरु बीच प्रतिस्पर्धा हुने गरेको थियो। ७ वर्षसम्म स्थानीय क्लबहरुलाई सहभागी गराई सञ्चालन गरिएको प्रतियोगिता मेची रंगशालामा सुरु भएपछि अन्तराष्ट्रिय स्तरको गोल्डकप प्रतियोगिता बन्यो। तत्कालीन महेन्द्र पुलिस क्लब, त्रिभुवन आर्मी, जनकपुर चुरोट कारखाना लगायतका नेपालका चर्चित क्लबका साथै भारत, बंगलादेश र भुटानका टोली सहभागी हुन्थे। ०३१ सालदेखि निरन्तर सञ्चालित प्रतियोगिता ०३६ को जनमत संग्रहका बेला स्थगित भयो। त्यसपछि पुनः २०४७ सालसम्म चल्यो। २०४७ सालपछि एकैचोटि प्रतियोगिता ०५९ सालमा आयोजना भयो। २०६० मा पुनः एकवर्ष रोकिएर २०६१ सालमा भयो। त्यसपछि त्रिभुवन गोल्डकप हुन सकेको छैन। २०३८ सालदेखि सुरु भएको महेन्द्र गोल्डकप २०६९ पछि आएर विराट गोल्डकपमा रूपान्तरण भयो। त्रिभुवन गोल्डकप र महेन्द्र गोल्डकप राजनीतिक परिर्वतनपछि अनियमित हुँदै गए। पूर्वमा नरोकिइकनै नियमित सञ्चालन हुने प्रतियोगिता बुढासुब्बा गोल्डकप हो। यो प्रतियोगिता १९ वर्षदेखि हरेक निरन्तर सञ्चालन हुँदै आएको छ।

    झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, उदयपुर, धनकुटालगायत जिल्लामा हुने यस्ता प्रतियोगितामा देशका पहिलो श्रेणीका टीमहरु समेत सहभागी भइरहेका छन्। हरेक वर्षजस्तो पूर्वमा ठूला प्रतियोगिता थपिएका छन्। गाउँ, जिल्ला र क्षेत्रीयस्तरका खेल प्रसस्तै हुन्छन्। इटहरीमा इटहरी गोल्डकप, इलामको माईभ्याली, पाँचथरको फाल्गुनन्द गोल्डकप, ताप्लेजुङको पाथिभरा गोल्डकप, धनकुटाको सहिद भीमनारायण गोल्डकप, उदयपुरको उदयपुर गोल्डकप पूर्वका प्रतिष्ठित प्रतियोगितामा हुन्।

    पूर्वमा हुने हरेकजसो फुटबल प्रतियोगितालाई व्यवस्थित गर्न चार दशकयता सक्रिय हुँदै आएका पूर्व राष्ट्रिय खेलाडी दिलीप राईका अनुसार यस क्षेत्रमा फुटबल क्रेज अचम्मको छ। ‘यस क्षेत्रमा प्रतिभाशाली खेलानी त छँदैछन्,’ उनी भन्छन्, ‘प्रतियोगिता आयोजना गर्न सघाउने अनि दर्शकका रूपमा उपस्थित भएर हौस्याउने पनि फुटबल विकासका महत्वपूर्ण पक्ष हुन्।’

    पूर्वमा फुटबल लोकप्रिय हुनुमा स्थानीय टोल, वडादेखि गोल्डकपसम्मै नियमित प्रतियोगिता र त्यसमा राखिने आकर्षक पुरस्कार नै हो। विजेताले कम्तिमा १ लाख रुपैयाँ पाउने प्रतियोगिता पूर्वमा वार्षिक दुई दर्जन बढी हुन्छन्। यस्ता प्रतियोगिता आयोजनाले स्थानीय खेलाडीलाई प्रतिभा देखाउने अवसर दिएको छ भने गतिलो पुरस्कार राशीले व्यावसायिक बन्न सहयोग गरेको छ। खेलाडीले फुटबलकै कमाइले घर बनाउन सक्ने पनि भएका छन्। ‘म्याच फी’ को लोभमा राष्ट्रिय टिमका खेलाडीहरू पनि खेल्न पूर्व आइपुग्ने गर्छन्।

    कसरी चलेका छन् यति धेरै प्रतियोगिता?

    पूर्वमा हुने प्रतियोगितालाई औद्योगिक प्रतिष्ठानहरुले समेत प्रायोजन गर्दै आइरहेका छन्। धरानको बूढासुब्बा, इलामको माईभ्यालीलगायत अन्य कतिपय प्रतियोगिता गोर्खा बु्रअरीले प्रायोजन गर्दै आएको छ। विराटगरकै उत्पादन रमपम चाउचाउ झापा गोल्डकप, दुहबी गोल्डकप, उदयपुर गोल्डकप लगायतका धेरै प्रतियोगितासँग जोडिएको छ। रमपम उत्पादक एसियन थाइफुड्सले झापा– ११ फुटबल क्लबलाई पनि ३ वर्षका लागि प्रायोजन गरेको छ। टिमका लागि चाहिने सबै सहयोग यो अवधिमा कम्पनीले गर्नेछ।

    औद्योगिक प्रतिष्ठान मात्र होइन फुटबल भनेपछि हुरुक्कै हुने खेलप्रेमीले पनि प्रतियोगितामा सघाउँदै आएका छन्। देश–विदेशमा रहेका फुटबल आयोजना हुने स्थानका बासिन्दाले पनि सक्दो सहयोग जुटाउने गरेका छन् । बूढासुब्बा गोल्डकपका लागि हङकङ, बेलायतलगायत देशमा रहेका धरानेहरूले सहयोग जुटाएर पठाउँछन् भने इलामको माईभ्याली गोल्डकपलाई मलेसिया, बेलायतलगायत मुलुकमा रहेका इलामेहरूले सहयोग अभियानै चलाउने गरेका छन्।

    माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङ विदेशमा रहने इलामेलीहरुको मायाले निरन्तर ३ वटा माइभ्याली गोल्डकप सञ्चालन गर्न सम्भव भएको बताउँछन्। यसपवर्ष चौथो संस्करण सञ्चालनका लागि खेल मैदानमा रोपिएको दुबो संरक्षणमा आयोजकहरु लागेका छन्।

नमिन ढकाल

ढकाल थाहाखबरका इलाम संवाददाता हुन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]