|

दार्चुला : दार्चुलाको उत्तरवर्ती बस्ती व्यासका मतदाताहरु अस्थायी मतदान केन्द्र नहुँदा मतदानबाट वञ्चित हुन सक्ने समाचार सार्वजनिक भएपछि मूल्य निर्वाचन अधिकृतको कार्यालयले व्याँसका दुवै मतदान केन्द्र खलंगामा सार्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ।

केन्द्रीय अनुगमन प्रतिनिधिसहितको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार बसेको सर्वदलीय बैठकले व्याँसका दुवै मतदान केन्द्रलाई जिल्ला सदरमुकाम खलंगामा सार्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको हो।

मंसिर सुरुदेखि नै व्यासी समुदाय खलंगा झर्न सुरु गर्दछन्। ६ महिना व्यास र ६ महिना सदरमुकाम खलंगामा बस्ने यो समुदायका लागि व्यासमा दुई मतदान केन्द्र तोकिएका छन्। सबै व्यासी समुदाय मतदानको दिनसम्म खलंगा झर्ने तथा खलंगामा यो पटक अस्थायी मतदान केन्द्र नतोकिएकाले उनीहरु मतदानबाट वञ्चित हुने अवस्था आएको थियो।

‘सबै मतदाता खलंगा झर्ने तथा खलंगामा मतदान केन्द्र नहुने अवस्थाले मतदाता मतदानबाट बञ्चित हुन अवस्था आएकाले वस्तुस्थिति हामीले आयोगमा पठाएका छौं। जिल्लाको वस्तुस्थिति बुझेर आयोगले सकारात्मक कदम लिनेछ।’ मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले भने।

‘व्यासमा हिमपात सुरु भएको छ। हिमपात सुरु भएकाले तिंकरमा रहेको सीमा प्रहरी चौकी पनि तल झरेको छ।’ जिल्ला प्रहरी कार्यालय प्रमुख जनकबहादुर शाहीले भने। हिमपात भएपछि व्यास मानवशून्य बस्तीमा परिणत हुन्छ।

‘सबै गाउँलेहरु पैसा उठाएर पाले राख्छन् र घर छोडी सदरमुकाम खलंगा आउँछन्।’ नेपाली कांग्रेस जिल्ला कार्य समिति सभापति ललितसिह बोहराले भने। निर्वाचन आयोगले खलंगामा अस्थायी मतदान केन्द्र राख्ने निर्णय कार्यान्वय भएपछि ५ सय ४१ मतदाताले मतदाधिकार प्रयोग गर्न समस्या झेल्नुपर्नेछैन ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.