|

विराटनगर : मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को चुनावी भिडन्त रोचक बन्दै गएको छ। स्थानीय तहको मतलाई आधार मान्ने हो भने वामपन्थीको मत ४२ हजार र कांग्रेस गठबन्धनको मत २२ हजारको हाराहारीमा छ।

तर, यस पटकको निर्वाचनमा त्यही मतको आधारमा जीत हारको आँकलन गरेमा त्यो गल्ती हुनेछ। प्रतिनिधिसभाका ३ नम्बर क्षेत्रबाट मेडिकल सञ्चालक नोबेल अस्पतालका सञ्चालक सुनिल शर्मा कांग्रेसबाट र भानुभक्त ढकाल वाम गठबन्धनबाट चुनावी मैदानमा छन्।

शर्माको हल्लीखल्ली नै बढी

स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा सुरक्षित स्थान खोजेर आएका वाम गठबन्धनका उम्मेदवार तथा एमालेका नेता भानुभक्त ढकाललाई शर्माले सजिलै चुनाव जित्न नदिने देखिएको छ। शर्माको हल्लाखल्ला र चुनाव प्रचार शैली आक्रामक छ।

चुनाव जित्न शर्माले साम, दाम, दण्ड, भेद कार्यशैली अपनाएका छन्। नजिककालाई संगठित गर्ने र विपरीत ध्रुवका पार्टीका नेता तथा कार्यकर्तालाई सकेसम्म कांग्रेसमा भित्र्याउने, नसके प्रलोभनमा पारी निष्क्रिय राख्ने उनको चाहना कतिपय ठाउँमा पूरा समेत भएको छ। 

शर्मा पूर्वतयारीसहित, ढकालको आकस्मिक मात्र

गत दोस्रो संविधानसभाको निर्वाचन हुँदै गर्दा सुनिल शर्माले पनि सोही ठाउँबाट चुनाव लड्नका लागि आधार बनाउन सुरु गरेका थिए। निर्वाचन क्षेत्र निर्धारणसँगै कांग्रेस नेताहरुले मोरङको क्षेत्र नम्बर ३ मा एमाले अगाडि रहेकोले उम्मेदवारी दिने मनसाय राखेनन्। उसैबेला शर्मा अघि सरे। विभिन्न पार्टीका कार्यकर्ता तथा नेताको नाडी छामेका सुनिल शर्माले त्यस क्षेत्रमा सडक मर्मत, विद्युतका गाडीदिनेदेखि कल्भर्ट बनाउनेसम्म गरेका छन्।

त्यतिमात्रै होइन, सरकारले निर्वाचनको मिति तोक्नुभन्दा अगाडिदेखि शर्माले त्यस क्षेत्रका प्रत्येक सुकुम्बासीको गाउँमा पुग्ने र निःशुल्क स्वास्थ्य शिविर राख्ने गरेर एक हिसाबले विपक्षीलाई मनोवैज्ञानिक दवाब दिँदै आएका थिए। अहिले पनि निर्वाचन आचारसंहिताविपरीत स्वास्थ्य शिविर र उपचारको प्रलोभन दिएको शर्मामाथि आरोप छ। 

एमालेका उपल्लो नेता भए पनि भानुभक्त ढकालको निर्वाचन परिचालन र प्रचार कमजोर देखिएको छ। उनलाई आन्तरिक कार्यकर्ता व्यवस्थापनमा गाह्रो पर्दै गएको छ भने टुरिस्ट उम्मेदवारको ट्यागले हैरान छन्। स्थानीय जनताले आवश्यकता महसुस गरेर गिट्टी, बालुवा, विद्युत् पोलका कुरा गरे शर्मा तत्कालै गरिदिन सक्छन् तर ढकालले त्यो गरेका छैनन्। 

मोरङको क्षेत्र नम्बर ३ मा दुवै उम्मेदवार नयाँ हुन्। दुवै पात्रलाई विश्लेषण गर्ने हो भने ढकाल लामो समयदेखि राजनीतिमा नै संलग्न व्यक्ति हुन् भने शर्मा दलीय राजनीति भन्दा बाहिरका मानिस हुन्। 

के भन्छन् वाम गठबन्धनका उम्मेदवार भानुभक्त ढकाल?

आफू विजयी हुनेमा ढकाल ढुक्कजस्तै देखिन्छन्। ‘चुनावको आन्तरिक तयारी सकेर अब हामी जनस्तरमा पुग्ने योजना बनाइरहेका छौं। कांग्रेससँग मेरो प्रतिस्पर्धा छैन। सुनिल शर्मालाई उठाउनु भनेको कांग्रेसभित्रका निष्ठावान कार्यकर्ताको भावना विपरीतको काम हो' ढकालले भने 'त्यहाँका निष्ठावान कांग्रेसका नेता कार्यकर्ता शर्मालाई उठाएपछि धेरै असन्तुष्ट छन्।

आधारभूत हिसाबले कांग्रेसले यसअघि जितेर पनि केही गरेको जस्तो लाग्दैन। यसअघिको निर्वाचनबाहेक ०४८ सालदेखि नै वामपन्थीहरुले जित्दै आएका छन्। भर्खरै सकिएको स्थानीय तहको निर्वाचनमा पनि हामी २१ हजार मत अन्तरले अगाडि छौं। वामपन्थी मिलेर देश चलाउने र स्थिरता ल्याउने कुराले जनतामा थप उत्साह छ। त्यस कारण हामीले चुनाव जित्छौं।’

३ नम्बर क्षेत्रमा बृहत् आदिवासी संग्रहालय निर्माण गर्ने, सुकुम्बासी समस्या, खोला कटानको समस्या र वन कटान तथा विस्तारको पहल, ऐतिहासिक सांस्कृतिक स्थानको संरक्षणमा आफ्नो दायित्व हुने उनले सुनाए। पार्टीले दिएको जिम्मेवारी पूरा गर्नका लागि आफू मोरङमा आएको र त्यो दायित्व पूरा गरेरै छाड्ने ढकालले सुनाए।

के भन्छन् सुनिल शर्मा?

आफूले चुनाव जित्नेमा शर्मा पनि उत्तिकै ढुक्क देखिन्छन्। ‘म यहीँको स्थानीय हुँ। ताप्लेजुङबाट आएर उम्मेदवार बन्नेलाई जनताले भोट दिन्छन् भन्ने मलाई लाग्दैन’ उनले भने, ‘चुनाव जित्ने वातावरण बनिसकेको छ अब कति मत अन्तरले जित्ने भन्ने मुख्य कुरा हो।’

यहाँका जनताका लागि आफूले ३ वर्षभित्रमा स्वास्थ्य बिमा लागू गर्ने, ३ सयभन्दा बढी बेरोजगार युवालाई आफ्नै क्षमताका आधारमा रोजगारी दिने, स्वास्थ्य सेवाको पूर्ण  ग्यारेन्टी गर्ने आफ्नो योजना रहेको उनले सुनाए। 

स्वास्थ्य शिविर राखेको कुरामा विपक्षीहरुले धेरै हल्लाखल्ला गरेकोमा शर्माले असन्तुष्टि जनाए। क्षमताअनुसार जनताको सेवामा काम गर्नु आफ्नो अपराध नभएको सुनिलले सुनाए। उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा जनतालाई सेवा दिनु मेरो धर्म हो, शिविर गरिन्छ। एमाले, माओवादीका साथीहरुले पनि आ-आफ्नो लगानी भएका अस्पतालका डाक्टरहरु ल्याएर शिविर राखे भयो।' 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.