|

काठमाडौं : एसीसी यु १९ युथ एसिया कप क्रिकेटको मंगलबारको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ।

मलेसियाको राजधानी क्वालालाम्पुरमा भएको समूह चरणको अन्तिम खेलमा पाएको ४६ रनको लक्ष्य नेपालले ५.३ ओभरमा २ विकेट गुमाएर भेट्टायो। नेपालका लागि अनिलकुमार साहले आउट नभइ सर्वाधिक २६, कप्तान दीपेन्द्रसिंह ऐरीले १२, आशिफ सेखले ४ र भीम सार्कीले नटआउट ३ रन जोडे। नेपालका लागि साहले १५ बलमा २६ र कप्तान ऐरीले जम्मा ३ बलमा १२ रन जोडेका थिए।

पहिले ब्याटिङ गरेको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाएर जम्मा ४५ रनमात्र जोड्न सक्यो। मलेसियालाई सस्तैमा समेट्न सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए भने सहाब आलमले २ र अनिल कुमार साहले १ विकेट लिए। ४.३ ओभर बलिङ गरेका सन्दीपले जम्मा ८ रन खर्चेर ५ विकेट लिएका हुन्।

मलेसियाका लागि सइद अजिज सइद मुबारकले २० र विरन्दिप जगजित सिंहले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोरसमेत छुन सकेनन्। यसअघि समूह चरणकै अघिल्लो खेलमा नेपालले भारतलाई पराजित गरेको थियो।

नेपालले समूह चरणमा बंगलादेशसँग भने पराजय ब्यहोरेको थियो। यो नतिजापछि पनि नेपाल सेमिफाइनमा पुग्ने वा नपुग्ने टुंगो छैन। त्यसका लागि मंगलबार नै भइरहेको भारत र वंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.