|

रुपन्देही : मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरु मतदातामाझ पुगेका छन्। प्रतिनिधिसभा तर्फ ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा पनि चुनावी माहोल तातेको छ। रुपन्देहीमा अधिकांश निर्वाचन क्षेत्रमा पूरानै प्रतिस्पर्धी छन्। त्यसमध्येको एक हो, निर्वाचन क्षेत्र नं. १।

यहाँ २०७० सालका प्रतिस्पर्धी मैदानमा छन्। कांग्रेसका अब्दुल रज्जाकले दोस्रो संविधान सभा निर्वाचनमा २ सय ४ मतान्तरले एमालेका छविलाल विश्वकर्मालाई हराएका थिए। 

लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका रज्जाक खानेपानी तथा सरसफाई राज्यमन्त्री छन् भने विश्वकर्मा पूर्व कृषि मन्त्री हुन्।  २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादी केन्द्रले जितेको रुपन्देही १ मा अहिले देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका वडा नं. ७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिका वडा नं. १, ३, ४, ५ र ६ र रोहिणी गाउँपालिका रहेका छन्।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा देवदहमा कांग्रेस र माओवादी केन्द्रको तालमेल थियो। तिलोत्तमामा कांग्रेस र जनमुक्ति पार्टीको तालमेल थियो भने ओमसतिया माओवादी एक्लैले जितेको तह हो। रोहिणी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी भएको थियो। स्थानीय तहको मतअनुसार वाम गठबन्धन अगाडि छ। लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन ५ हजार मतले अगाडि छ।

एमाले–माओवादीको मत ३३ हजार ८ सय ३८ मत छ भने कांग्रेस–राप्रपाको मत २८ हजार ७ सय ४६ छ। संघीय समाजवादी फोरमले मत ५ हजार १६ मत ल्याएको थियो। यो क्षेत्रको प्रदेशमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा र वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार छन्।

प्रदेशतर्फ १ मा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका ताहिर अली र वाम गठबन्धनका कृष्णप्रसाद न्यौपाने उम्मेदवार छन्। प्रदेशतर्फ २ मा लोकतान्त्रिकबाट हरि न्यौपाने र वामबाट माओवादी केन्द्रका दधिराम न्यौपाने उम्मेदवार बनेका छन्।

प्रदेशको १ नम्बरतर्फ वाम झण्डै ३ हजार २ सय मतले अघि छ भने २ नम्बरतर्फ १ हजार ८ सय मतको अन्तरले वाम नै अघि छ। तर स्थानीय तहको नतिजाभन्दा धेरै फरक नतिजा आउने लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको दाबी छ।

मुस्लिम र मधेशी समुदायको पनि प्रभाव रहने भएकाले यहाँ अब्दुल रज्जाकको पक्षमा माहोल बन्ने तर्क उनीहरुको छ। यसअघि जितेपछि निरन्तर जनताको साथमा रहेको र विकासका काममा खटिएकोले जनताले रज्जाकलाई मत दिने उनीहरु बताउँछन्।

‘म यहीँकै बासिन्दा हुँ, मैले यहाँ हरेक हिसाबले सामाजिक सद्भाव कायम राख्नेदेखि यहाँका बासिन्दाको सुखदुःखमा साथ दिएको छु',रज्जाक भन्छन् ‘मेरो लागि यो क्षेत्र नै सबैभन्दा प्राथमिकतामा पर्छ, म पदीय जिम्मेवारीमा रहँदा पनि र नरहँदा पनि।’

वाम गठबन्धन पनि आफुलाई कम आँक्दैन। २०७० सालको हारको बदला लिने तयारीस्वरुप चुनाबी अभियानमा खटिएको वाम गठबन्धनका नेताहरु बताउँछन्। ‘म यो क्षेत्रका जनताका लागि निरन्तर क्रियाशील छु, उम्मेदवार विश्वकर्मा भन्छन् ‘मलाई यसपटक जिताउनुहुनेछ भन्ने विश्वास छ, मैले जितेपछि यहाँ विकासका लागि नयाँ योजनाहरु ल्याउनेछु।’ उनी गठबन्धनकै बलमा जित हात पार्ने दाउमा छन्। ‘कम्युनिष्टहरु एकैठाउँ भएका छौं, हामी सहजै जित्नेछौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.