|

दमक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापामा एक सरो चुनाव प्रचारप्रसार सकेर काठमाडौं फर्किएका छन्। गत शुक्रबारदेखि मंगलबारसम्म झापामा रहँदा उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी र राप्रपाका नेताको पनि भोट माग्न भ्याए।

वाम गठबन्धनको तर्फबाट झापा क्षेत्र नं. १ मा उम्मेदवार बनेका सुरेन्द्रकुमार कार्की र वाम गठबन्धनको सहयोगमा उम्मेदवार बनेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई पनि क्षेत्र नं. ३ मा पुगेर उनले भोट मागिदिए। उनी भने वाम गठबन्धनका तर्फबाट क्षेत्र नं. ५ मा प्रतिनिधिसभाको उम्मेदवार छन्।

गाउँ सकियो, सहर बाँकी

आफ्नो क्षेत्रमा रहँदा भने एमाले अध्यक्ष क्षेत्र नं. ५  (१) मा दुई दिन मिहिनेत गरे। अधिकांश ग्रामीण भेग रहेका क्षेत्र नं. ५  (१) मा प्रदेश सभाका लागि एमाले केन्द्रीय सदस्य तथा युवा नेता हिक्मत कार्की उम्मेदवार बनेका छन्। कार्की प्रदेशका लागि उम्मेदवार बनेको क्षेत्रमा उनी १८ वर्षपछि प्रतिनिधिसभाको उम्मेदवार बनेर पुगेका हुन्।

अधिकांश सहरी र सुगम रहेको क्षेत्र नं. ५ (२) मा भने उनले तोपगाछिका केही स्थानमा भएका सभा मात्र भ्याए। यस भुगोलबाट लगातार उम्मेदवार बन्दै आएकाले पनि ओली यहाँ अलिक ढुक्क देखिए। क्षेत्र नं. ५ (२)  मा वाम गठबन्धनका तर्फबाट एमाले अनुशासन आयोगका सदस्य अर्जुन राई प्रदेश सभाको उम्मेदवार बनेका छन्। उनी तत्कालिन जिल्ला विकास समितिका सभापति पनि हुन्।

पीडित परिवारसँग भेट

झापामा रहँदा एमाले अध्यक्ष ओलीले आफ्नै गृहनगरमा कात्तिक २५ गते दमक–६ स्थित त्रिवेणी गेस्ट हाउसमा हत्या गरिएका राजेश मल्लिकको परिवारलाई भेटे। दमक–७ स्थित मल्लिक निवासमा पुगेर उनले समवेदना व्यक्त गरेका हुन्। सो क्रममा पीडित परिवारको तर्फबाट घटनामा संलग्नलाई चाँडो भन्दा चाँडो नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाउने वातावरण बनाइदिन ओलीलाई आग्रह गरेका थिए। सो क्रममा ओलीले घटना निन्दनीय भएको भन्दै दोषी उम्कन नपाउने विश्वास व्यक्त गरे।

माओवादी र राप्रपाको साथ

एमालेका अध्यक्ष ओलीलाई यस पटकको झापा बसाइका क्रममा माओवादी केन्द्र र राप्रपाका नेता कार्यकर्ताको साथ पनि बलियो रह्यो। देशैभरी माओवादीसँग गठबन्धन गरे पनि झापाको हकमा राप्रपासँग पनि बाम गठबन्धनको सहकार्य छ। त्यसैले अधिकांश कार्यक्रममा माओवादी र एमालेका मात्र होइन राप्रपाका नेता कार्यकर्ताको पनि बाक्लो उपस्थिति रह्यो।

यस पटक झापा आएकै दिन राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनका लागि क्षेत्र नं. ३ मा भोट मागिदिएका ओलीले फर्कदै गर्दा समेत माओवादी केन्द्रको अग्रसरतामा भएको संयुक्त चुनावी अभियान परिचालन समितिको कार्यालयमा पुगेर संवोधन गर्न भ्याए। ग्रामीण क्षेत्रमा पुग्दा समेत माओवादी र राप्रपाका स्थानीय नेताहरु पनि फूलमालासहित ओलीको स्वागतका लागि आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.