|

काठमाडौं : मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ललितपुरका क्षेत्र नम्बर- १ र ३ निकै चर्चामा छन्। क्षेत्र नम्बर- १ मा नेपाल प्रहरीका पूर्व डीआइजी नवराज सिलवाल र बहालवाला अर्थ राज्यमन्त्री उदयशमशेर राणाबीच प्रतिष्पर्धा भएका कारण १ नम्बर क्षेत्र चर्चामा छ। प्रहरीको जागिर छाडेर सिलवाल राजनीतिमा आएका कारण अब के हुन्छ भनेर यो क्षेत्र चर्चामा आएको हो।

यस्तै, नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल निर्वाचन लडेको क्षेत्र भएका कारण क्षेत्र नम्बर- ३ पनि धेरै चर्चामा छ। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित कांग्रेसका मदनबहादुर अमात्यबीच प्रतिष्पर्धा हुँदैछ। 

तर त्यही ललितपुरमा रहेको निर्वाचन क्षेत्र नम्बर- २ भने खासै चर्चामा छैन। त्यही जिल्लामा भए पनि यो निर्वाचन क्षेत्र भने चर्चामा नआएको हो। यो निर्वाचन क्षेत्रमा निवर्तमान सांसद तथा कांग्रेसका उम्मेदवार चन्द्र महर्जन र कृष्णलाल महर्जनबीच प्रतिष्पर्धा हुँदैछ। उनीहरू एकअर्काका प्रतिष्पर्धी त हुँदै हुन्, त्यससँगै नातामा कृष्णलाल दाइ र चन्द्र भाइ हुन्। यसकारण पनि यो निर्वाचनमा दुई जनाबीच रोचक प्रतिष्पर्धा हुँदैछ। 

को हुन् चन्द्र महर्जन?

चन्द्र महर्जन १७ वर्षको उमेरदेखि कम्युनिस्ट आन्दोलनाबाट राजनीतिमा होमिएका हुन्। २०२८ सालमा कम्युनिस्ट पार्टीले गरेको आन्दोलनबाट प्रभावित भएर उनी राजनीतिमा होमिएको बताउँछन्। पञ्चायत सरकारले जनतामाथि गरेको थिचोमिचोको विरोध गर्दै आन्दोलनमा उत्रिएको कम्युनिस्ट पार्टीको एजेण्डा उनलाई मनपर्‍यो। तर २०३६ सालमा कम्युनिस्ट पार्टीले जनमतसंग्रह बहिष्कार गरेपछि उनलाई कम्युनिस्ट पार्टी मनपरेन। २०३३ सालको वीपी कोइरालाले ल्याएको मेलमिलापको नीति खुबै मनपरेको चन्द्र बताउँछन्। उनी त्यसबेला रत्न राज्यलक्ष्मी क्याम्पसमा पढ्थे।

पञ्चायत सरकारका पक्षधरले बैठक गरेर वीपीलाई फाँसी दिनुपर्ने माग गरेको उनले सुने। वीपीलाई पक्राउ गरेको पनि उनले देखे। त्यसपछि वीपीको नीति मनपरेकाले २०३९ सालबाट कांग्रेसबाट उनले राजनीति सुरु गरे। २०४६ सालमा नेपाली कांग्रेस ललितपुर इकाई ८ को अध्यक्ष पनि भए। त्यसपछि २०४८ सालको पार्टीको महाधिवेशनबाट उनी ललितपुर क्षेत्र नम्बर- २ को कोषाध्यक्षमा निर्वाचित भए। उनले २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको उपप्रमुखको टिकट पाए। निर्वाचन जिते पनि। तर उनले पूरा कार्यकाल उपप्रमुख चलाएनन्।

२०५१ सालमा भएको आम निर्वाचनमा ललितपुर- २ बाट पार्टीले उनलाई टिकट दिने भयो। उनले मानेका थिएनन् तर पार्टीका सन्तनेता कृष्णप्रसाद भट्टराईले नै कर गरेपछि उनले निर्वाचन लड्ने निधो गरे। उनी पराजित भए। ‘मलाई स्थानीय निकायमा नै पाँच वर्ष काम गर्न जनताले जिताए पनि मैले आम निर्वाचनमा उहाँहरूको मतको सम्मान नगरी उठेँ’, उनले भने, ‘त्यसकारण जनताले हराए।'

यसमा उनको कुनै गुनासो छैन। उनले पार्टीका विभिन्न जिम्मेवरी सम्हाल्दै २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन लडे। तर निर्वाचनमा उनी पराजित भए। भन्छन्, ‘त्यसबेला माओवादीका उम्मेदवार राजकाजी महर्जनले मलाई हराए। मतान्तर त्यत्रो धेरै छैन। म नहार्ने थिएँ, उहाँहरूले बुथ कब्जा गर्नुभयो', उनी भन्छन्, 'त्यति मात्र होइन, हाम्रा साथीहरूलाई मत गणना स्थलमा बस्नसम्म दिनुभएन। अरू पनि धेरै छन् कारण।’

उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा ललितपुर- २ बाट नै विजयी भए। उनले आफ्नो चार वर्षे कार्याकालमा धेरै विकास निर्माण गरेको बताउँछन्। ‘बाटो निर्माण, संस्कृतिक संरक्षण तथा संबर्द्धनलगायतका काममा योगदान गरेँ’, उनी भन्छन्, ‘काम त धेरै गरेँ तर प्रचार गर्न जानिनँ।’

अब के छ योजना?

आफ्नो चार वर्षे कार्यकालमा गर्न नसकेका अधुरा योजना पूरा गर्नेमा अब आफ्नो ध्यान केन्द्रित हुने उनी बताउँछन्। ‘धेरै योजनाहरू अपूरा रहे। खानेपानी, ढल निकासलगायत योजनाहरू अधुरा रहे। अब मेरो पहिलो काम यी योजना पूरा गर्ने रहन्छ’, उनले भने। ललितपुर संस्कृतिको धनी जिल्ला भए पनि उचित प्रवर्द्धन गर्न नसक्दा पर्यटन विकास गर्न नसकिएको महर्जन बताउँछन्। ‘मेरो योजनाचाहिँ मुर्त अमुर्त संस्कृतिको जगेर्ना गर्नु हो। यहाँ भक्तपुरभन्दा पनि धेरै सांस्कृतिक सम्पदा छन्। संस्कृतिको धनी भन्ने तर स्रोत केही नहुने, त्यसकारण समस्या छ, उनी भन्छन्, 'गुठी, मन्दिरका जग्गा पनि नापी हुँदा व्यक्तिको नाममा गएको छ।’ 

लगनखेलमा रहेको मानसिक अस्पताल अहिले जेल जस्तो भएको उनले बताए। ‘पहिले जंगल हुँदा यो मानसिक अस्पताल ठीकै थियो तर अहिले त जेल जस्तो भएको छ’, उनी भन्छन्, ‘सबै ध्वनि प्रदुषण भएका कारण मानसिक बिरामीलाई धेरै समस्या छ। त्यसकारण यो अस्पताललाई लामाटारको जंगलतिर लाने योजना छ।’ 

आफ्ना प्रतिष्पर्धीलाई कसरी हेर्छन्?

उनले आफ्ना प्रतिष्पर्धी तथा नातामा दाइ वाम गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जनलाई चुनौतीका रूपमा हेरेका छैनन्। आफू २०४९ सालदेखि नै ललितपुरका जनतासँग नजिक भएकाले पनि आफूले प्रतिष्पर्धीलाई चुनौतीका रूपमा नहेरेको बताउँछन्। उनी भन्छन्, ‘उहाँलाई २०५६ सालमा जनताले जिताएका हुन्। तर खासै उल्लेखनीय काम गर्न सक्नुभएन। २०७० को निर्वाचनमा पनि उहाँ तेस्रो हुनुभएको हो। अहिले गठबन्धन भए पनि २०७० को निर्वाचनलाई हेर्दा एमाले र माओवादीका उम्मेदवारको भन्दा धेरै नै मत छ।’ 

को हुन् कृष्णलाल महर्जन?

ललितपुर क्षेत्र नम्बर- २ मा वाम गठबन्धनबाट उम्मेदवारी दिएका कृष्णलाल महर्जन नेकपा एमालेको प्रदेश नम्बर- ३ सदस्य हुन्। उनी २०२४ सालदेखि विद्यार्थीकालबाट नै राजनीतिमा प्रवेश गरेका हुन्। विद्यार्थी जीवनमा आफूहरूको मुख्य काम नेताहरूलाई सुरक्षा दिने भएको सम्झन्छन्। उनी २०२८ सालमा ललितपुरमा भएको आन्दोलनका क्रममा पक्राउ परे। त्यसपछि झन् आन्दोलनमा लाग्न उनलाई प्रेरणा मिल्यो। उनी भन्छन्, ‘पक्राउ परेपछि त झन् ऊर्जा पाएँ। त्यसपछि बैठकहरूमा सक्रिय सहभागी हुन थालेँ।’ उनले पछि इँटाभट्टा उद्योग थाले।

उद्योगसँगै राजनीतिलाई पनि अघि बढाए। २०३६ सालको आन्दोलनमा पनि उनी सक्रिय सहभागी भए। २०४८ पछि उनले आफ्नो व्यवसाय पूर्ण रूपमा छाडेर पूर्णकालीन राजनीतिमा होमिए। उनले पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका छन्। २०६२/०६३ को आन्दोलनमा पनि सक्रिय सहभागी भएर काम गरे। २०५३ सालमा भक्तपुर इँट्टा कारखानाको अध्यक्षसमेत भए।

२०५६ सालको आम निर्वाचनमा ललितपुर क्षेत्र नम्बर- २ बाट निर्वाचित भए। आफू निर्वाचित भएर पनि सोचेजस्तो काम गर्न नसकेको उनी बताउँछन्। ‘त्यसबेला स्थिर सरकार भएकाले सोचेजस्तो काम गर्न सकिएन’, उनले भने, ‘तर चन्द्रजीले पनि मैले त्यसबेला बनाएका योजनामा मात्र काम गर्नुभयो। मैले सुरुवात गरेँ, उहाँले पुरा गर्नुभयो। जस उहाँले लिनुभयो।’

ललितपुरको विकासमा के छ उनको योजना?

२०५६ सालको आम निर्वाचनमा आफूले गर्न नसकेका अधुरा काम यस पटक पूरा गर्ने उनको लक्ष्य छ। पूर्वाधार निर्माणसँगै ललितपुरलाई विकसित जिल्ला बनाउन आफूले विभिन्न योजनाहरू बनाएको उनी सुनाउँछन्। २०५६ मा आफ्नो सरकार नहुँदा पूरा गर्न नसकेका योजनाहरू यसपटक वाम गठबन्धनको सरकार निर्माण हुने र ललितपुरको विकासमा आफूले महत्त्वपूर्ण काम गर्न पाउनेमा उनी विश्वस्त छन्। 

ललितपुरको लाकुरी भञ्याङलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय स्थल बनाउने आफ्नो लक्ष्य भएको उनी बताउँछन्। उनी भन्छन्, ‘ललितपुरमा नै अन्तर्राष्ट्रियस्तरको पर्यटकीय स्थल बनाएर विदेशी पर्यटक भित्र्याउने मेरो उद्देश्य हो। पर्यटन व्यवसायबाट यहाँका स्थानीयको आर्थिक विकास गर्नुपर्छ।’ पाटन दरबार खुला संग्रहालय भएकाले यसको विकासमा आफू लागिपर्ने उनले बताए। उनी आफ्नो अर्को महत्त्वपूर्ण काम भनेको ट्राफिक व्यवस्थापन भएको बताउँछन्। 

भूकम्पले जीर्ण भएका तथा भत्किएका मठमन्दिर तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्न आफू लागिपर्ने उनको सोच छ।

वाम गठबन्धन : जित्ने आधार 

आफ्नो जित्ने आधार नै वाम गठबन्धन भएको कृष्णलाल बताउँछन्। ललितपुरका जनताले कम्युनिस्टलाई भोट हाल्ने उनको दाबी छ। उनी भन्छन्, ‘ललितपुरका जनताले कम्युनिस्ट एक भएको हेर्न चाहन्थे। हामी एक नभएकाले नै यसअघि हराए। त्यसकारण अब हामी जित्छौँ।’ उनले दिगो विकासका लागि पनि वाम गठबन्धनलाई ललितपुरका जनताले जिताउने दाबी गरे।

‘कांग्रेसले धेरै पटक बहुमत ल्यायो, सरकार पनि चलायो तर ललितपुरको विकास गर्न सकेन। त्यसकारण जनताले अब हामीलाई जिताउँछन्। हामी ललितपुर र समग्र देश बनाएर देखाउछौँ’, उनी भन्छन्। कम्युनिस्ट धरातल भएको ललितपुरमा अब कम्युनिस्ट एक भएकाले कम्युनिस्ट उम्मेदवारको जीत निश्चित भएको उनको भनाइ छ। 

यस्तो छ स्थानीय तहको मत परिणाम

ललितपुर क्षेत्र नम्बर- २ मा ललितपुर महानगरपालिकाका नौवटा वडा र महालक्ष्मी नगरपालिका पर्छ। महालक्ष्मीका १० वटा वडासहित यो निर्वाचन क्षेत्रमा १९ वटा वडा छन्। गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा यी १९ वटा वडामा आएको वडा अध्यक्षको मत परिणाम हेर्ने हो भने वाम गठबन्धन सात हजार बढी मतले अगाडि देखिन्छ। 

राप्रपा र कांग्रेसले पाएको भन्दा वाम गठबन्धनले पाएको मत सात हजार ६३ मतले अगाडि छ। उक्त क्षेत्रमा पर्ने ललितपुर महानगरपालिकाका वडा नम्बर ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ तथा महालक्ष्मी नगरपालिकाका १ देखि १० नम्बर वडासम्मका वडा अध्यक्षको मत परिणामअनुसार वाम गठबन्धनको २६ हजार ८५४ मत छ। यी वडाहरूमा एमालेको १७ हजार ३९८ मत छ भने माओवादी केन्द्रको नौ हजार ४५६ मत छ। कांग्रेसको १७ हजार ३६ मत छ भने कांग्रेससँग तालमेल गरेको राप्रपाको दुई हजार ७५५ मत रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.