|

झापा : झापाको शिवसताक्षीस्थित झिलझिलेमा दोस्रो सताक्षी गोल्डकप सुरु भएको छ। मंगलबार भएको उद्घाटन खेलमा घरेलु टोली रमपम झापा ११ ले पोखरा ११ लाई ५-० गोल अन्तरले पराजित गरेको छ। 

घरेलु दर्शकको समर्थन पाएको झापा ११ ले लगभग एकपक्षीय बनाएको खेलमा झापाका स्ट्राइकर कर्ण लिम्बूले २ गोल गरेका थिए भने बाँकी गोलहरू विशाल राई, विदेशी खेलाडी मार्टिन अजय र खमिर गिल्सन कन्दङ्वाले गरे। 

खेलको पहिलो हाफको ९औँ मिनेटमा विदेशी खेलाडी मार्टिन अजयले गोलको खाता खोलेका थिए भने दोस्रो गोल खेलको १७औँ मिनेटमा कर्ण लिम्बू, १९औँ मिनेटमा विशाल राई, ५१ औँ मिनेटमा खमिर गिल्सन कन्दङ्वा र अन्तिम गोल कर्ण लिम्बूले ७२औँ मिनेटमा गर्दै आफ्नो टिमका लागि जीत सुनिश्चित गराएका थिए। 

यता पोखराका खेलाडीले पाएको एक मात्र पेनाल्टी सुटमा पनि गोल गर्न नसक्दा पोखरा नील काट्नसमेत नसकी घर फर्किएको छ। 

स्थानीय सताक्षीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद पाँच लाख र दुई लाख ५० हजार रुपैयाँ पाउनेछन्। बुधबारको खेल पाहुना टिम भारतको डाइमण्ड अफ एकाडेमी मध्यप्रदेश भारत र विभागीय टिम एपीएफबीच हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए।

उद्घाटन खेलको म्यान अफ द म्याच विजेता टिमका क्याप्टेन योगेश गुरुङले पाए। उनले म्यान अफ द म्याच स्पोन्सर महालक्ष्मी प्रा.लि. आइटेल टेक्नोमोबाइल कम्पनीमार्फत नगद १० हजार रुपैयाँ प्राप्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.