|

काठमाडौं : अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वको आर्थिक शक्तिको रुपमा सार्क क्षेत्रका मुलुकहरुलाई स्थापित गर्नुपर्ने बताएका छन्। उनले सार्क क्षेत्रको व्यापार सहजीकरण र पारवहन अवरोधलाई हटाउदै सार्क मुलुकलाई आर्थिक शक्तिको रुपमा विकास गर्नुपर्ने बताएका हुन्।

मंगलबारदेखि काठमाडौंमा सुरु भएको दक्षिण एशियाली राष्ट्रहरुको १० औँ आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले यस्तो बताएका हुन्। वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले सार्क क्षेत्रका राष्ट्रहरुका साझा चुनौती भएको भन्दै यसको सम्बोधनमा केन्द्रित हुनुपर्ने बताए। उनले स्थायीत्व सहितको विकास सार्क राष्ट्रहरुको आवश्यधकता रहेको समेत बताए।

भुटानका अर्थमन्त्री लिम्पो दोर्जीले नेपाल र भुटान आर्थिक विकासको लागि निकै सम्भावना बोकेका राष्ट्र भएको औल्याए। उनले यी दुई राष्ट्रमा भएको जलविद्युतको सम्भावनालाई प्रयोगमा ल्याउनको लागि मिलेर अघि बढ्ने समेत बताए।

माल्दिभ्सका राज्यमन्त्री अब्दुललाथिफ मोहमदले सार्क क्षेत्रका समस्या समान भएकाले समाधान गरेर अघि बढ्न सक्नुपर्ने बताए। उनले सार्क राष्ट्रमा पर्यटनको सम्भावना बढी भएको भन्दै पर्यटक भित्र्याउन केन्द्रित हुनुपर्ने समेत बताए।

मंगलबारदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ। सम्मेलनमा सार्क राष्ट्रहरुका २ सयभन्दा बढी नीतिनिर्माता, विज्ञ, निजी क्षेत्रको सहभागिता रहनेछ। सम्मेलनमा सार्क राष्ट्रका आर्थिक समस्या, समधान, सम्भावना र चुनौतीको विषयमा छलफल गरिनेछ। समावेशी, दिगो र एकीकृत आर्थिक योजनाका विषयमा समेत सम्मेलनमा छलफल गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.