|

गोरखा : तनहुँको तुरतुरेबाट पूर्व मर्स्याङ्दी तरेपछि पालुङटार फाँट आउँछ। यो क्षेत्र प्रवेश गर्नेबित्तिकै जसरी भूगोल परिवर्तन हुन्छ, त्यसरी नै चुनावी दृश्य पनि बदलिन्छ। प्रत्येक घरमा फ्लेक्स प्रिन्टसहितका ब्यानर राखिएका छन्।

बिजुलीका पोल र रूखका हांँगामा छपक्कै सूर्य र गोलाकारभित्र हँसिया–हथौडा, आंँखा र रूख चिह्न अंकित झण्डा फहराइरहेका छन्। ओहोरदोहोर गर्ने गाडीबाट चुनावी गीत गुञ्जिन्छन्। ठूला रूखका छहारी र बिसौनीमा सर्वसाधारणको झुरुप्प जमघट भेटिन्छ। ती जमघटहरूमा दुई पात्रको चर्चा सुनिन्छ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ।

विगतमा एकै पार्टी माओवादीका सहयोद्धा यी दुई नेता गोरखा २ बाट चुनावी प्रतिस्पर्धामा छन्। कांग्रेसको समर्थन प्राप्त नयाँ शक्तिका भट्टराई र वाम गठबन्धनका उम्मेदवार श्रेष्ठबीचको प्रतिस्पर्धाले जसरी राष्ट्रिय ध्यान केन्द्रित गरेको छ, त्योभन्दा बढी स्थानीय माहोल तताएको देखिन्छ। 

एकअर्कालाई हराउने उनीहरूको प्रतिस्पर्धाले यहाँको चुनाव अन्यत्रभन्दा केही भडकिलो बन्दै गरेको देखिन्छ। करिब एक दर्जन गाडी, मोटरसाइकलको लस्कर अघिपछि लगाएर भट्टराई र श्रेष्ठ दुवै आफ्नो क्षेत्रमा मत मागिरहेका छन्। उम्मेदवारी दर्ता गरेदेखि नै दुवैले जिल्ला छाडेका छैनन्। एक जना पुगेको स्थानमा लगत्तै अर्का पुग्छन्।

खोप्लाङका भट्टराई र जौबारीका श्रेष्ठ दुवै यहीँका हुन्। त्यही कारण यस क्षेत्रका तटस्थ मतदाता कसलाई छान्ने भन्ने दोधारमा छन्। दुवै उम्मेदवारका सबल र दुर्बल पक्षको लेखाजोखा गर्न मतदाताको ध्यान केन्द्रित छ। ‘दुवै नेता हाम्रो जिल्लालाई चाहिने खालका हुन्, त्यसैले दुवै जना एउटै क्षेत्रबाट नउठुन् भन्ने थियो तर उहाँहरू एकै ठाउँमा लड्न आउनुभयो,’ गाईखुर खत्रीटारको चौतारीमा चुनावी गफ गरिरहेका स्थानीय बलबहादुर कँडेलले भने, ‘नचाहँदा नचाहँदै अब हामीले एक जनालाई हराउनुपर्ने स्थिति आयो।’ 

दुवै नेताको विगत, राजनीतिक भविष्य र जिल्लासँगको आत्मीयताका आधारमा मतदाता भट्टराई र श्रेष्ठलाई तौलिइरहेका छन्। ‘यो वा ऊ भन्ने छान्न हामीलाई नै गाह्रो परेको छ, त्यसैले भोट हाल्न छिरेपछि त्यहीं निर्णय गर्नुपर्ने अवस्था छ,’ स्थानीय शिवजी बानियाँ भन्छन्। 

गोरखामा भट्टराईको यो तेस्रो चुनावी प्रतिस्पर्धा हो। श्रेष्ठ पहिलोपटक चुनाव लड्न आएका हुन्। संविधानसभाका दुइटा चुनावमा भट्टराईले अत्यधिक मत ल्याएर जितेका थिए। श्रेष्ठ भने संविधानसभामा मकवानपुरबाट चुनाव लडेका थिए। दुई सहयोद्धा मात्र होइन, वामपन्थी र लोकतान्त्रिक गठबन्धनले नै यो क्षेत्रको चुनावलाई प्रतिष्ठाको विषय बनाएका छन्। वामपन्थी गठबन्धनले देशव्यापी चुनावी सभाको सुरुवात नै गोरखाबाट गर्दैछ।

जित वा हारले राजनीतिक भविष्य निर्धारण हुने भएकाले दुवै नेताका अभिव्यक्तिमा एकअर्काप्रति निकै छेडछाड भेटिन्छ। एमाले र माओवादी केन्द्रको वामपन्थी गठबन्धनका उम्मेदवार भएकाले श्रेष्ठलाई संगठनको मुख्य बलमा जित हासिल गर्छु भन्ने विश्वास छ। त्यसैले उनी भट्टराईलाई आफ्नो प्रतिस्पर्धी नै ठान्दैनन्। ‘लोकतन्त्रमा उम्मेदवार हुन पाउने हक छ, त्यसैले उहाँ (भट्टराई) उम्मेदवार हुन आउनुभएको छ,’ श्रेष्ठले भने, ‘मलाई उहाँ प्रतिस्पर्धी भएर कुनै पनि चुनौती छैन, निष्ठा र विचारमा उहाँसँग तुलना नै हुँदैन।’

भट्टराईलाई आफ्नो संगठन बलियो नभए पनि विगतमा जिल्लामा गरेको विकास र कांग्रेसको समर्थनमा श्रेष्ठलाई सजिलै हराउन सकिन्छ भन्ने लागेको छ। गोरखामा जन्मे पनि जिल्लासँग श्रेष्ठले कुनै सम्बन्ध नै नराखेको भट्टराईको भनाइ छ। ‘गोरखाका जनताले मलाई यसअघि ऐतिहासिक मत दिएर विजयी गराएका छन्। गोरखालाई मैले कार्यक्षेत्र बनाउँदै आएको छु,’ भट्टराईले भने, ‘तर उहाँले कहिल्यै गोरखालाई कार्यक्षेत्र बनाउनुभएन, उहाँसँग मेरो प्रतिस्पर्धा नै छैन।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.