|

पोखरा : प्रधानमन्त्री बनिसकेका, पटक-पटक प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गरेका, बारम्बार मन्त्री भएका, युवादेखि 'डन'को समेत पहिचान बनाएका उम्मेदवार प्रदेश नम्बर ४ का जिल्लामा चुनावी मैदानमा छन्। उनै चर्चित उम्मेदवारका कारण ती जिल्लाको निर्वाचन परिणामप्रति धेरैको चासो छ। लोकतान्त्रिक र वाम गठबन्धनबाट उम्मेदवार बनेका 'हेभीवेट' नेताको हारजितको आकलन अहिले धेरैतिर चलिरहेको छ।

माओवादी छाडेर नयाँ शक्तिको संयोजन गरेका डा. बाबुराम भट्टराई र अर्का नेता नारायणकाजी श्रेष्ठका कारण गोरखा सबैभन्दा बढी चर्चामा छ। दुवै नेता चर्चित भएका कारण उनीहरुमध्ये कसले जित्ने भन्ने अनुमान गर्न सहज छैन। त्यस्तै तनहुँ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण चर्चामा छ। पटक-पटक प्रधानमन्त्रीको दाबेदार बनिसकेका पौडेलका लागि पार्टीको आन्तरिक गुटबन्दीले अप्ठ्यारो पारिदिएको छ।

युवा नेता रवीन्द्र अधिकारीका कारण कास्कीले थोरै भए पनि चर्चा बटुलेको छ। स्याङ्जा पनि हेभीवेट नेता गोपालमान श्रेष्ठका कारण अन्यत्रको तुलनामा चर्चामा छ। मनाङमा 'डन' उम्मेदवारको रुपमा चिनिएका दीपक मनाङे (राजीव गुरुङ) का कारण सबैतिर चर्चा चलिरहेको छ। पार्टीभित्र हाई प्रोफाइल बनाए पनि निर्वाचन आफ्नो पक्षमा पार्न हेभीवेट र चर्चित नेताहरुलाई सहज नभएको विश्लेषक बताउँछन्। 

पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल ४ नं. प्रदेशभित्रका कुनै पनि शीर्ष नेतालाई निर्वाचनमा आफ्नो पक्षमा परिणाम ल्याउन सहज नभएको बताउँछन्। 'पार्टीभित्र जति नै बलियो भए पनि मतदाताको मन पगालेर आफ्नो पक्षमा मत तान्न नेतालाई फलामको च्यूरा चपाउनुसरह छ,' उनले भने, 'प्रतिस्पर्धा बढेकाले सहजै भन्न सकिन्न। यसपटक वाम दलबीचको गठबन्धनले पनि थोरै फरक पार्न सक्छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.