|

बैतडी : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीमा निर्वाचन शिक्षा कार्यकर्ता तथा स्वयंसेवकहरुले घरदैलो अभियान सुरु गरेका छन्। दुई निर्वाचन एकैपटक हुन लागेकाले बदर मतसंख्या घटाउन निर्वाचन शिक्षा कार्यकर्ता तथा स्वयंसेवकहरुले घरदैलो अभियान सुरु गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालयबाट तालिम दिएर एक सय ८२ मतदाता शिक्षा कार्यकर्ताहरु मतदाता शिक्षा सामग्रीसहित गाउँगाउँमा खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन आयोगले प्रत्यक्षतर्फ प्रदेशसभा र प्रतिनिधिसभाका लागि अलग अलग मतपत्र छापेको भए पनि समानुपातिक मतपत्र भने प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र एकै पत्रमा छापेको छ । 

प्रत्यक्ष चुनावका लागि कम मतदान चिह्न भएको र प्रदेश र प्रतिनिधिसभाको अलग अलग मतपत्र भएकाले मतदातालाई सहज भए पनि समानुपातिक मतपत्र भने प्रदेश र प्रतिनिधिसभाका लागि एउटै भएकाले मतदाताहरु झुक्किन थालेको निर्वाचन शिक्षा कार्यकर्ताहरू बताउँछन्।

पुचौडी नगरपालिका– ७ को ऐरीगाउँ दलितटोलमा मंगलबार ९१ घरमा मतदाता शिक्षा दिएपछि निर्वाचन शिक्षा कार्यकर्ता भुवनप्रसाद बडुले प्रत्यक्ष मतपत्रबारे बुझाउन सजिलो भएको र समानुपातिक मतपत्रमा दुई छाप लगाउनुपर्ने विषयमा मतदाता झुक्किएको बताए । ‘प्रत्यक्षमा एक चिह्नमा छाप लगाउनुपर्ने र समानुपातिकमा प्रतिनिधीसभा र प्रदेशसभाका लागि माथिल्लो र तल्लो भागमा दुई चिह्नमा छाप लगाउने कुरा मतदातालाई बुझाउन गाह्रो भयो’, उनले भने। 

समानुपातिक मतपत्रमा मतदाताले एकै छाप लगाउने तथा उल्टो मतपत्र समातेर आफुले चुनेको उम्मेदवारलाई भोट नजाने खतरा देखिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले बताए। मतदाता स्वयंसेवकहरुले अहिले विकट गाउँ, दलित बस्ती र सञ्चारमाध्यामको पहुँचमा नभएका गाउँमा प्राथामिकताका साथ मतदाता शिक्षा दिन थालेका छन् । यस्तै राजनीतिक दलहरुले पनि अहिले चुनाव प्रचारप्रसारका क्रममा मत खसाल्ने तरिकाबारे मतदातालाई जानकारी गराइरहेको जनाएका छन् ।  

यसअघिका निर्वाचनमा मतदाता शिक्षा स्वयंसेवकहरू गाउँघरमा कमै पुगेको मतदाताहरुले गुनासो गरिरहेका बेला यो चुनावमा भने ढिलो गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदा झन् समस्या हुने देखिएको छ। तर मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउनका लागि प्रत्येक गाउँपालिकाका कार्यकारी अधिकृत, वडा अध्यक्ष लगायतलाई आग्रह गरिएकाले मतदाता शिक्षा प्रभावकारी हुने निर्वाचन कार्यालयको विश्वास छ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको बैतडीमा एक लाख ३२ हजार ३१९ मतदाता छन्। जिल्लामा एक सय २० मतदानस्थल तथा एक सय ८२ मतदान केन्द्र छन्। यहाँ पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.