|

  • मिलन विश्वकर्मा

पाल्पा : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पाल्पामा पनि चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरु अहिले गाउँगाउँमा पुगेर आ–आफ्नो पक्षमा मत माग्न व्यस्त छन। यसअघि तीनवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा हाल २ निर्वाचन क्षेत्र कायम भएसँगै मतदाताहरु पनि बाँडिएका छन्। मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार पुरानै भए पनि लागि कतिपय मतदाताले यसअघि अर्कै क्षेत्रमा चुनाव लडेका उम्मेदवारलाई भोट दिनुपर्ने छ।

निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेस र वाम गठबन्धका उम्मेदवारबीच कडा टक्कर हुने देखिएको छ। यद्यपि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय समाजवादी फोरम लगायत दलबाट गरी झण्डै तीन दर्जन उम्मेदवार चुनावी मैदानमा छन्। यहाँ कांग्रेस र राप्रपा प्रजातान्त्रिकको लोकतान्त्रिक गठबन्धन र एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन बनेको छ। चुनावी मैदानमा उत्रिएका दलहरुले आ–आफ्नै उम्मेदवारको जित हुने दाबी गर्दै आएका छन्। नेपाली कांग्रेसका तर्फबाट विजयराज घिमिरे र वाम गठबन्धनका तर्फबाट पूर्वमन्त्रीसमेत रहेका एमाले नेता दलबहादुर राना चुनावी मैदानमा छन्। 

जागिर छाडेर राजनीतिमा लागेका राना

पूर्वमन्त्री राना पाल्पाको रामपुर नगरपालिका–१ बर्दाकोटमा २०१६ सालमा जन्मिएका हुन्। एसएलसी उत्तीर्ण गरेर सिएमएसमेत हुन्। राना २०२८ सालमा कक्षा ८ मा पढ्दै गर्दा राजनीतिमा लागेको बताउँछन्। ०३९ सालमा अर्धभूमिगत बनेका उनी ४२ सालदेखि गाँडाकोट स्वास्थ्य चौकीमा खाइपाई आएको सरकारी जागिर छोडेर पूर्णरुपमा भूमिगत बने। त्यतिबेला जागरिको विषयलाई लिएर विपक्षीहरुले विभिन्न मुद्दा दिएका थिए। विभागीय कारबाहीस्वरुप उनलाई बागलुङ्गको बुर्तिबाङ सरुवा गरिएको थियो। तर, उनी जागिर नै छोडेर गुल्मीतिर राजनीति गर्न लागे।

२०४६ सालको आन्दोलनमा मोर्चाले दिएको जिम्मेवारी अनुसार उनले गुल्मी नै बसेर आन्दोलनको कमाण्ड गरेका थिए र बहुदल आएलगत्तै उनि पाल्पा फर्किए। पाल्पा आएर पार्टीको सचिव बनेर काम गरे। ४८ सालको निर्वाचनमा क्षेत्र नं. १ बाट चुनाव लडेका उनी पराजित भएका थिए। ४९ सालमा जिल्ला सभापतिमा पराजित भएका उनी पार्टीको तर्फबाट जिल्ला सचिवको जिम्मेवारी बहन गर्ने मौका पाएका थिए। ५१ सालको संसदीय निर्वाचनमा जितेका उनी २०६४ सालको निर्वाचनमा सभासद् बने।

२०७० मा उनी तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा सहभागी भई भूमिसुधार तथा व्यवस्था मन्त्री बनेका थिए। एमाले लुम्बिनी अञ्चल सदस्य, सह–इन्चार्ज बनेका उनी आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बने। हाल राना वैकल्पिक पोलिटब्यूरो सदस्य र प्रदेश नम्बर पाँचको सह–संयोजकको जिम्मेवारीमा छन्।

को हुन घिमिरे?

जिल्लाको रामपुर नगरपालिका–५ भम्बकमा जन्मिएका घिमिरे हाल काठमाडौं बस्दै आएका छन्। २०२५ सालमा जन्मिएका उनले स्नातक उत्र्तीण गरेका छन्। २०३६ सालबाट राजनीतिमा रुची राख्न थालेको बताउने घिमिरे ०३७ सालमा नेविसंघ रामतुल्सी माध्यमिक विद्यालय रामपुर कमिटीको सचिव बनेका थिए। त्यसलगत्तै काठमाडौंमा रहेको अमृत साइन्स क्याम्पसको स्ववियू सदस्य पदमा निर्वाचित भएका थिए। २०४४ सालमा नेपाली कांग्रेस पाल्पाको जिल्ला सदस्य बनेका उनी २०४६ सालमा नेविसंघको जिल्ला सचिव बनेर जिम्मेवारी सम्हालेका थिए। यससँगै २०४६ सालमा भएको आन्दोलनको जिल्लाको पूर्वी कमाण्ड गरेका थिए। जुन बेला उनका सहोदर दाइ सूर्य घिमिरे सहिद बनेका थिए।

२०४८/०४९ मा कांग्रेसको जिल्ला सचिव, नेविसंघको जिल्ला सचिव र त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्ववियू सचिव भएर काम गरेका थिए। २०५० सालमा चाटर्ड एकाउन्टेन्ट अध्ययन गर्न भारतको मुम्बई पुगेका उनी पढाइ सकाएर नेपाल फर्केलगत्तै फेरी राजनीतिमा लागेका थिए। उनी २०५६ सालको संसदीय निर्वाचनमा पाल्पा क्षेत्र नं. १ बाट उम्मेदवार बने। यद्यपि एमाले उम्मेदवार भद्रबहादुर थापासँग उनी पराजित भए। काठमाडौंमा बसेर चार्टर्ड एकाउन्टेन्टको काम गर्दै आएका घिमिरे हाल कांग्रेस महासमिति सदस्य हुन्।

कस्ले मार्ला यसपालीको बाजी ? 

स्थानीय तह निर्वाचन २०७४ मा प्राप्त मतलाई आधारमा मान्ने हो भने वाम गठबन्धन जिल्लाका दुवै क्षेत्रमा अघि छ। तर फरक समय र फरक परिस्थितिमा हुन लागेको निर्वाचनमा त्यस्तै परिणम दोहोरिन्छ भन्ने पक्का हुँदैन। स्थानीय तहको निर्वाचनमा जिल्लामा पाएको कुल मत नेपाली कांग्रेसको ४७ हजार २ सय ३ छ। नेकपा एमालेले ५४ हजार ९४ तथा नेकपा माओवादी केन्द्रले १६ हजार २ सय ६६ मत पाएका छन्। यस्तै राप्रपाले १ हजार ८ सय ९३ र अन्य दल तथा स्वतन्त्र उम्मेद्वारले १ हजार ५ सय ८ मत ल्याएका छन्। 
 
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र तिनाउँ गाउपालिकाको वडा नं. ५ र तानसेन नगरपालिकाको वडा नं. ८ पर्दछन्। स्थानीय तहको निर्वाचनपछि पाल्पामा १८ हजार ७ सय नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ। हाल पाल्पामा कुल १ लाख ८१ हजार २ सय ५५ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी धर्मा अर्यालले बताइन। थपिएका मतदाता अबको निर्वाचनमा निर्णायक बन्न सक्ने देखिन्छ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार नेपाली कांग्रेसले क्षेत्र नं. १ को रामपुर, निस्दी, पूर्वखोला, रम्भा गाउँपालीका गरी १७ हजार ६ सय ३८ मत प्राप्त गरेको छ। यस्तै नेकपा एमालेले २३ हजार ३ सय ९९ र नेकपा माओवादी केन्द्रले ३ हजार ७ सय ४५ मत प्राप्त गरेका छन्। राप्रपासहित अन्य दलले ८ सय ७२ मत पाएका छन्।

अहिले तानसेन नगरपालिका, माथागढी  र तिनाउ गाउँपालिका भने दुवै निर्वाचन क्षेत्रमा विभाजित भएका छन्। स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकामा नेपाली कांग्रेसले ८ हजार ६७ सय, नेकपा एमालेले १० हजार ४ सय ५०, नेकपा माओवादी केन्द्रले १ हजार १ सय ३७ मत प्राप्त गरेका थिए भने राप्रपाले ५३ र अन्यल २ सय ९५ मत पाएका थिए।

तिनाउ गाउँपालिकामा नेपाली कांग्रेसले २ हजार ७ सय ७, नेकपा एमालेले २ हजार ८ सय १०, नेकपा माओवादी केन्द्रले २ हजार ३ सय ८८ मत प्राप्त गरेको थियो भने राप्रपाले ४१ र अन्यले १ सय ६७ मत पाएका थिए। माथागढी गाउँपालीकामा नेपाली कांग्रेसले ५ हजार ७ सय १९, नेकपा एमालेले ३ हजार ८ सय ६, नेकपा माओवादी केन्द्रले ५ सय ७३ मत प्राप्त गरेका थियो भने अन्यले ४सय ४४ मत पाएका थिए।

दुवैका आ–आफ्नै दाबी

स्थानीय तह निर्वाचनमा पछि देखिएको नेपाली कांग्रेसका उम्मेदवार विजयराज घिमिरे विगतको मतलाई हेरेर अनुमान गर्न नमिल्ने बताउँछन्। ‘त्यसैलाई मान्ने हो भने त चुनाव नै किन गर्नुप¥यो र?’ उनी प्रश्न गर्छन्। उनी अघि भन्छन्, ‘०५६ सालदेखि निरन्तर एमाले आइरहेको छ, तर विकास भएको छैन। उल्टै समाज विभक्त भएको छ, यहाँका मतदाताले नयाँ अनुहार खोजिरहेका छन्, त्यसैले मेरो विकल्प छैन।’ आफूले जितेमा समाजमा एकता हुने र विकासले फड्को मार्ने उनको जिकिर छ।

एमाले उम्मेदवार दलबहादुर राना आफू भूमिसुधार मन्त्री भएका बेला आफ्नो क्षेत्रमा पर्ने रामपुर नगरपालिकामा मालपोत, नापी, इलाका प्रसासन ल्याउन सफल भएको भन्दै यहाँका जनताले आफूबाट नै विकासको सम्भावना देखेको जिकिर गर्छन्। ‘निरन्तर यहाँको विकासमा म लागिरहेको छु, जनताले मलाई सकारात्मक रुपमा बुझेको मैले पाएको छु,’ उनी भन्छन्, ‘मेरो राजनीतिक जीवनमा कुनै पनि आरोप वा दाग लागेको छैन, त्यसैले अझै एकपटक मलाई काम गर्ने मौका दिनेछन् भन्ने आशामा छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.