|

डडेल्धुरा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारहरु प्रचार–प्रसारमा रहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम् उम्मेदवार रहेको डडेल्धुरामा नेपाली कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै वाम गठबन्धनले विरोध प्रर्दशन गरेको छ। जिल्लामा महिलाहरुलाई धोती, स्विटर र सौल (सल) वितरण गरी मतदाता प्रभावित पार्न खोजेको भन्दै वाम गठबन्धनले मंगलबार साँझ डडेल्धुरामा विरोध प्रर्दशन गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको आडमा जिल्ला सभापति कर्णबहादुर मल्लले आचारसंहिताविपरीत वितरण गरेको भन्दै धोती, स्वीटरलगायत कपडा कब्जा गरी वाम गठबन्धनले सार्वजनिकसमेत गरेको छ। आचारसंहिताविरुद्ध काम गर्नेहरुमाथि छानबिन गर्न निर्वाचन आयोगलाई आग्रह गर्दै गठबन्धनले स्वच्छ र मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्नमा सहयोग गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन्।

मंगलबार मात्रै डडेल्धुराको अमरगढी नगरपालिका– ४ बाट निर्वाचित महिला वडा सदस्य झुपरीदेवी दमाईलाई अपहरणको शैलीमा नियन्त्रणमा लिएर नयाँ कपडा दिई टीका लगाई कांग्रेस प्रवेश गराएको आरोप वाम गठबन्धनले लगाएको छ। महिला वडा सदस्य दमाइले पनि कांग्रेस सभापतिसमेत रहेका प्रदेशसभाका उमेदवार कर्णबहादुर मल्ल र प्रतिनिधिसभा समानुपातिकतर्फका उमेदवार पद्मा गुरुङले स्वीटर, धोती र सौल दिएर कपडा परिवर्तन गर्न लगाई आफुलाई नाटकीय रुपमा पार्टी प्रवेशको टीका लगाइदिएको बताइन्। नेपाली कांग्रेस डडेल्धुराका केही कार्यकर्ताहरुले आफूलाई केही काम छ भनेर बोलाएको अनि टिका लगाएर पार्टी प्रवेशको नाटक गरेको उनको आरोप छ।

डडेल्धुरामा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवा तथा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खगराज भट्टलगायत चुनावी प्रतिस्पर्धामा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.