|

झापा (दमक) : संविधानसभाबाट संविधान जारी भएपछि पहिलोपटक हुन लागेको संघ र प्रदेशको चुनावले यतिबेला देशभर राजनीतिक माहोल छ। यसमा पनि केही क्षेत्रले देशकै ध्यान आफूतर्फ खिच्न सफल भएका छन्। त्यस्तै चर्चामा रहेको क्षेत्र हो झापा- ५। यस क्षेत्रबाट नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिस्पर्धामा छन्। वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा मैदानमा रहेका ओलीका मुख्य प्रतिस्पर्धी कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारी हुन्। यहाँ राप्रपाको उपस्थिति पनि राम्रै छ। राप्रपाकोसमेत समर्थन यसपटक ओलीलाई नै छ। देशव्यापी रुपमा कांग्रेस र राप्रपाबीच तालमेल भए पनि झापामा राप्रपाले वाम गठबन्धनसँग सहकार्य गरेको छ।

माओवादी र राप्रपासमेतको समर्थन रहेकाले ओलीको मुख्य प्रतिस्पर्धी कांग्रेस उम्मेदवार अधिकारी नै हुन्। यही क्षेत्रमा पर्ने गौरादह नगरपालिका प्रमुख जितेको कांग्रेसको यस क्षेत्रमा प्रभाव राम्रै छ। लामो समय प्राध्यापन गरेका ओली नेपाली राजनीतिका एक शीर्षस्थ नेता तथा पूर्वप्रधानमन्त्रीसँग प्रतिस्पर्धामा रहेका हुन्।

गठबन्धनका बलिया उम्मेदवार ओली

२००८ साल फागुनमा तेह्रथुमको इवामा जन्मिएका केपी शर्मा ओली हालको नेपाली राजनीतिका एम महत्वपूर्ण खम्बा हुन्। सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीको अध्यक्ष अनि पूर्वप्रधानमन्त्री हुनुको नाताले उनी एउटा शक्तिशाली राजनीतिक पात्रका रुपमा स्थापित छन्। २०२२ सालदेखि झापाका स्थायी बासिन्दा ओली २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा झापाबाट निर्वाचित भएका थिए।

मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकार २०५१ मा ओली पहिलो पटक मन्त्री बनेका थिए। त्यतिबेला उनले ९ महिना गृहमन्त्रीको भुमिका निर्वाह गरे। त्यसपछि २०६३ मा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका ओली २०७२ असोज २४ गते नेपालको ३८औं प्रधानमन्त्रीमा निर्वाचित भए।

२०२२ सालदेखि कम्युनिष्ट राजनीतिमा प्रवेश गरेका उनी २०२८ सालको झापा विद्रोहको अगुवासमेत थिए भने सोही कारण जेल पनि परे। १४ वर्षसम्म जेल जीवन बिताएका उनी २०४४ सालदेखि सार्वजनिक राजनीतिमा छन्। २०४९ सालदेखि नेकपा एमालेको स्थायी कमिटीमा रहँदै आएका उनी २०७१ असारमा भएको पार्टी महाधिवेशनबाट भने अध्यक्षमा निर्वाचित भएका हुन्।

पार्टीको प्रमुख जिम्मेवारीमा नरहे पनि वाकपटुताका धनी प्रष्टवक्ता ओली झण्डै एक दशकदेखि नेपाली राजनीतिको चर्चाको केन्द्रमा छन्। पहिलो संविधानसभा  निर्वाचनमा आफ्नै पुरानो गृहक्षेत्र झापा क्षेत्र नम्बर ७ बाट पराजित भएका ओली दोस्रो पटकको निर्वाचनबाट भने भारी मतसहित विजयी भए।

माओवादीको सशस्त्र युद्धका समयमा माओवादीका कटुआलोचक मानिने ओली पछिल्लो समय माओवादीसँग उत्तारचढावपूर्ण सम्बन्धमा छन्। आफ्नै सरकारमा रहेका बेला माओवादीबाट अविश्वासको प्रस्ताव झेलेका ओली अहिले माओवादीसमेतका साझा उम्मेदवार बनेका छन्।

ओलीले यसपटक आफ्नो प्रतिस्पर्धी नै नरहेको बताउँदै आएका छन्। यस क्षेत्रको जनप्रतिनिधि भएका बेला र नहुँदा पनि विकास निर्माणका लागि गरेका काम, राष्ट्रिय राजनीतिमा खेलेको भुमिका, राष्ट्रियताका पक्षमा लडेका लडाई लगायतले जनताले आफुलाई विगत देखिनै पत्याउँदै आएको उनको भनाई छ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा पनि आफू स्थानीय क्षेत्रको विकासका लागि मात्र चुनावी मैदानमा नआएको बताएका ओलीले यसपटक राष्ट्रिय राजनीतिमा खेल्ने भूमिकालाई नै केन्द्रमा राखेर भोट मागिरहेका छन्। स्थानीय र प्रदेश तहबाट हुन नसक्ने काम आफूले गर्ने उनको भनाइ छ। ‘स्थानीय साथीहरु योजना ल्याउनुस्, स्थानीय वा प्रदेश तहबाट हुन नसक्ने कामहरु म पूरा गरि दिनेछु,’ ओलीले हालै आयोजित एक चुनावी सभामा भनेका थिए।

को हुन् अधिकारी?

ओलीका प्रतिस्पर्धी अधिकारी राजनीतिक भन्दा प्राज्ञिक व्यक्ति हुन्। राजनीतिक अनुभवका हिसाबले ओलीभन्दा पछि भए पनि विषय विज्ञताका हिसाबले अधिकारी अब्बल छन्। भारतको सौराष्ट्र विश्वविद्यालयबाट गैंडाको इकोलोजीमा विद्यावारिधि गरेका अधिकारी साढे १७ वर्ष लामो प्राध्यापन पेशा छाडी हालैमात्र पूर्णकालीन राजनीतिमा होमिएका हुन्। अधिकारी आफ्नो राजनीतिक जीवन २०४६ सालको राजनीतिक परिवर्तनपछि सुरु भएको बताउँछन्।

२०३१ सालमा गौरादहको धिमधिमेमा जन्मिएर प्रारम्भिक शिक्षा स्थानीय सूर्याेदय निमावि, त्यसपछि गौरादहको जनता माविबाट लिएका उनी हाल नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन्। २०४७ मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरी धरानको केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार भर्ना भएका उनले त्यहिँबाट नेविसंघको राजनीति सुरु गरेका थिए। आईएस्सी अध्ययनका क्रममा उनी नेविसंघको क्याम्पस इकाई सभापतिसमेत बने।

त्यसपछि बिएस्सी अध्ययनका लागि महेन्द्र मोरङ क्याम्पस विराटनगर आए। महेन्द्र मोरङमासमेत अध्ययनसँगै राजनीतिलाई निरन्तरता दिएका उनी इकाई सभापति भए भने त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरबाट एमएस्सी पूरा गरेपछि २०५७ सालदेखि प्राध्यापन पेसामा संलग्न रहे। साढे १७ वर्ष लामो प्राध्यापन पेसालाई छाडेर समाज र राष्ट्रको सेवाका लागि राजनीतिको मैदानमा आएको उनको तर्क छ। डेढ दशकभन्दा लामो समय सरकारको नोकर भएर अब जनताको नोकर हुन राजनीतिमा आएको बताउँदै अधिकारीले भोट मागिरहेका छन्।

आफू युवा हुनु, विषयविज्ञ हुनु, नागरिकमा परिवर्तनको अपेक्षा रहनु, लोकतन्त्रको पक्षधर हुनु र काँही पनि बसाई सरेर नगई निरन्तर स्थायी बसोबास गरिरहनु आफ्ना जितको आधार रहेको उनको तर्क छ। यस्तै राप्रपासँगको देशव्यापी गठबन्धनका कारण झापामा वाम र राप्रपाबीचको गठबन्धन औपचारिक मात्र हुनुले पनि राप्रपाको भोटसमेत आफुले तान्ने उनको तर्क छ।

यस्तै कम्युनिष्टको किल्ला मानिने गौरादह नगरपालिकामा केही वडाध्यक्षसहित प्रमुख, गौरीगञ्जमा उपप्रमुखसहित केही वडाध्यक्ष् जित्नु, कमल गाउँपालिकामा बराबरी मत पाउनु र दमकमा अहिले पार्टीभित्र कुनै विवाद र गुट नरहनुले आफ्नो जित सुनिश्चित गरेको उनको जिकिर छ।

दुवैको आ-आफ्नै दाबी भए पनि नतिजा यही नै हुन्छ भन्न सकिने अवस्था छैन्। हेभीवेट उम्मेदवार ओली तुलनात्मक रुपमा बलियो देखिए पनि अधिकारीले उनलाई राम्रै चुनौती दिने अनुमान स्थानीयले गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.