|
Photo : BBC

जिम्बाबेमा सैन्य शासन सुरु भएको छ। राष्ट्रपति मुगावेलाई सेनाले हिरासतमा लिएको छ। ९३ वर्षीय मुगावे सन् १९८० देखि राष्ट्रपतिको पदमा आसिन थिए। मुगावेले उपराष्ट्रपति इमरसन मनगावालाई बर्खास्त गरेपछि सेनाले सत्ता हातमा लिएको हो।

जिम्बावेको सेनाले बुधबार बिहानै सरकारी सञ्चारमाध्यमहरुका मुख्यालयहरु नियन्त्रणमा लिएको छ। ती सञ्चारमाध्यमको बाहिर सेनाका बख्तरबन्द गाडीहरु तैनाथ छन्।

सैनिकले रक्तपात रहित रुपमा सत्ता कब्जा गरेर सैनिक शासन लगाएको राष्ट्रपति रोबर्ट मुगाबेको दलले जनाएको छ। सत्तारुढ दलले सेना प्रमुखले विद्रोहलाई बढावा दिएको आरोप लगाएको छ। 

लामो समयदेखि राष्ट्रपति पदमा रहेका मुगावे आफूलाई भगवानले मात्रै सत्ताबाट हटाउन सक्ने दावी गर्थे। 

जिम्बावेको राष्ट्रिय सेनाका प्रमुखले सोमबार एक विज्ञप्ति जारी गर्दै सत्तारुढ दलले अपराधी र घुसखोरहरुलाई संरक्षण प्रदान गरेको भन्दै आवश्यक परे सेनाले देशको शासन सत्ता हातमा लिएर शुद्धिकरण अभियान सञ्चालन गर्ने जनाएको थियो।

उक्त कुराको थप पुष्टि बुधबार भएको भनी सत्तारुढ दलले भनिरहँदा सेनाले पनि त्यसको पुष्टि गरेको छ। 
सेनाले सरकारी रेडियो र टेलिभिजन कब्जामा लिएको स्वीकार गरेको छ र भनेको छ– गत सोमबारको प्रेस विज्ञप्तिभन्दा हामी एक कदम अगाडि बढेका छौँ।

Photo : Reuters

देशमा पछिल्लो समयमा बढ्दै गएको राजनीतिक कलह सुल्झाउन जिम्बावेको सेनाले हस्तक्षेपको तयारी गरिरहेको बताइएको छ।

तर सत्तारुढ दलले भने देशको राजनीतिक कलह सुल्झाउन नभई सेना प्रमुखले सैनिक विद्रोहलाई नै बढावा दिएको आरोप लगाएको छ।

राष्ट्रपति रोबर्ट मुगाबेले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। सेनाले उनको सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ।

सेनाले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– सबैभन्दा पहिला त हामी जिम्बावेका राष्ट्रपति र उनको परिवारलाई सुरक्षित राख्न चाहन्छौँ, उनीहरुको सुरक्षा व्यवस्था चुस्त रुपमा गर्न चाहन्छौँ। राष्ट्रपति मुगावेका बारेमा सेनाले अगाडि भनेको छ- हामी राष्ट्रपतिलाई केही गर्दैनौँ, हाम्रो तारो भनेको उनको वरिपरी रहेका राजनीतिक नामका अपराधीहरु हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.