|

रुकुम : प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन मिति नजिकिँदै गर्दा पहिलो चरणमा निर्वाचन हुने जिल्लाका उम्मेदवारहरु घरदैलो तथा चुनावीसभामा व्यस्त छन्। मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरु विभिन्न उपाय अपनाइरहेका छन्।

उम्मेदवारहरु जनताको घरमा गएर विकासको सपना बाँड्ने त छँदै छ कसैले गाई दुहिदिएको, कसैले खेतबारीमा गएर धान काटिदिएको, कसैले घरमा गएर खाजा बनाइदिएको र कसैले खेत खनिदिएका समेत समाचार बाहिर आइरहेका छन्।

रुकुम पश्चिममा उम्मेदवारहरु भने माथि उल्लिखित गतिविधिभन्दा फरक ढंगले जनताको मत तान्ने प्रयास गरिरहेका छन्। उनीहरुको जनतालाई प्रभावित पार्ने काम भनेकै जनतासँग जहाँ गयो त्यहीँ आमसभा गरेर नाच्ने हो।

 रुकुम पश्चिमबाट प्रतिनिधिसभामा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका विनाविभागीय मन्त्री तथा माओवादी नेता जनार्दन शर्मा चुनावी अभियानका लागि रुकुमका गाउँगाउँमा गएसँगै दिनदिनै नाच्ने गरेका छन्।

उनले नाच्ने मात्र होइन उनको स्वागतका लागि बाजागाजा र झाँकीसहित आएका स्थानीयहरुबाट बाजाहरु नै तानेर बजाउने गरेका छन्। जिल्लाका धेरै ठाउँमा उनले दमाह आफैँ बोकेर बजाउँदै नाचेका छन् भने धेरै ठाउँमा मयूर नाचमा प्रयोग हुने मयूरको प्वाखसमेत भिरेर नाँचेका छन्।

त्यस्तै, जनार्दन शर्माका मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका गोपालजी जंग शाह पनि दैनिकजसो गाउँमा शर्माको जस्तै गरेर मयूर नाँचसँगै स्थानीय अन्य नाचगानको कार्यक्रममा आफैँ सहभागी भएर जनताको मत तानिरहेका छन्। कपाल सेतै फूलेका र उमेरले ६८ वर्षीय भइसकेका उम्मेदवार शाह चुनावी कार्यक्रमहरुमा निकै सक्रियताका साथ  उफ्रिउफ्री नाच्ने गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.