|

काठमाडौ : एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै जाँदा भविश्यमा यस्ता औषधीले काम नै नगर्ने अवस्था आउने भन्दै सचेत हुन चिकित्सकहरुले आग्रह गरेका छन्। एन्टिबायोटिक औषधीको प्रयोगप्रति बिरामी आफै सचेत नहुने र चिकित्सकले पनि यसको प्रयोगबारे राम्रोसँग जानकारी नदिनाले दुरुयोग बढेको उनीहरुको भनाइ छ।

चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक खाने प्रचलनले दुरुपयोग बढेको त्रिवि शिक्षण अस्पतालका फर्माकोलोजिष्ट विभागका सह प्रध्यापक डा.सतिश देवले बताए। 'मानिसहरुले आफूखुशी एन्टिबायोटिक किनेर खाने, चिकित्सकले दिएको एन्टिबायोटिक पूरा नखाने जस्ता कारण पछिल्लो समय एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको छ' उनले भने, 'यस्तै हो भने भविष्यमा हामीले खाने औषधीले शरीरमा राम्रो प्रभाव पार्ने सम्भावना कम हुदै जान्छ।'

सामान्यतया एन्टिबायोटिक औषधी ३ देखि ७ दिनसम्म खानुपर्छ। बिरामीले एक दुई दिनमै खान छोड्ने, छिटो सन्चो हुने विश्वासले आवश्यक भन्दा धेरै एन्टिबायोटिक खाइदिने र डाक्टरले पनि यसले पार्ने असरबारे नबताउने कारण दुरुपयोग बढेको डा. देव बताउँछन्।

एन्टिबायोटिकको सबैभन्दा धेरै दुरुपयोग कृषि र पोल्टी फर्महरुमा हुने गरेको छ डा. देवले बताए। कुखुराको वृद्धि छिटो इन्जेक्सन मार्फत एन्टिबायोटिक औषधी दिने गर्दा यसले मानव स्वास्थ्यमा पनि हानी पुग्ने उनी बताउँछन्।

एन्टिबायोटिकको दुरुपयोग यही क्रममा बढ्ने हो भने भविष्यमा हाल प्रयोग भएका एन्टिबायोटिकले समेत काम नगर्ने त्रिवि शिक्षण अस्पताल, आईसीयूका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्य बताउँछन्।  'रुघाखोकी लाग्दा पनि एन्टिबायोटिक किनेर खाने, चिकित्सकहरुले सामान्य ज्वरो आउँदा पनि एन्टिबायोटिक सिफारिसत गर्ने हुँदा भविष्यमा हाल प्रयोग भएका एन्टिबायोटिकले कामै नगर्ने दिन आउन सक्छ' उनले भने, 'अनावश्यक एन्टिवायोटिक औषधी प्रयोग गर्दा रोगको व्याक्टेरियाले आफ्नो स्वरुप परिवर्तन गर्ने हुनाले एन्टिवायोटिकले समेत काम नगरेर बिरामीको मृत्यु हुने खतरा हुन्छ।'

हाल त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा आउने ९५ प्रतिशत बिरामीले पहिले नै आफूखुसी एन्टिबायोटिक प्रयोग गरेको पाइएको  डा. आचार्य बताउँछन्।

के हो एन्टिबायोटिक, यसको अनावश्यक प्रयोगले के हुन्छ?

बिरामीको शरीरमा भएको ब्याक्टेरियालाई मार्न वा शरीरमा थप संक्रमण फैलिनबाट रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ। भाइरसले गर्दा हुने संक्रमण (रुघाखोकी, घाँटी खस्खसाउने) जस्ता भाइरसजन्य संक्रमणमा एन्टिबायोटिकको प्रयोग गर्नुहुँदैन।

पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधी एन्टिबायोटिकको पत्ता लाग्न सकेको छैन। यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएको छ। हाल विश्वमा एन्टिवायोटिक औषधीले काम नगर्दा प्रत्येक ४५ सेकेन्डमा १ जनाको मृत्यु हुने गरेको अनुमान गरिएको छ।

यो संख्या अझ बढ्दै गएर सन् २०५० सम्ममा ३ सेकेन्डमा १ जनाको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ। हाल कृषि क्षेत्रमा र पोल्ट्रीफर्महरुमा पनि एन्टिवायोटिक औषधीको प्रयोग बढ्दै गएको छ। त्यसैले त्यस्ता फर्मका कुखुरा र अण्डाको उपभोग गर्दा मानिसको शरीरमा समेत असर देखिन थालेको छ।

डाक्टरले एन्टिबायोटिकको बारेमा जानकारी राख्न, आफूले प्रयोग गरेको औषधी अरुलाई प्रयोग गर्न नदिन र हात राम्रोसँग धोएर खान खुवाउन सल्लाह दिने गरेका छन्। 'चिकित्सकको सल्लाह अनुसार मात्र एन्टिबायोटिक प्रयोग गरौँ' भन्ने नारासहित नोभेम्बर १३ देखि १९ तारेख अर्थात कात्तिक २७ देखि मंसिर ३ गतेसम्म एन्टिबायोटिकसम्बन्धी जनचेतनामूलक सत्ताहव्यापी कार्यक्रम भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.