|

काठमाडौं: २०७२ वैशाख १२ गतेको भूकम्पको कारण क्षेति पुगेका सम्पदा पुनर्नर्माणको काममा ढिलाई भएको छ। भूकम्प गएको ३१ महिनामा विश्‍व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा भत्किएका ६४ वटा ऐतिहासिक स्थलमध्ये एउटाको मात्र पुर्निर्माण भएको छ।

भूकम्पले पशुपति क्षेत्रका मन्दिरमा भत्किएका संरचनामध्ये हालसम्म लालगणेश मन्दिरको मात्र पुर्निर्माण सम्पन्‍न भएको छ।बाँकी ६३ वटा सम्पदा पुर्निर्माणको प्रक्रियामा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 'अन्य ठाउँका सम्पदा पुर्निर्माणमा प्रगति भएको देखिए पनि पशुपति क्षेत्रकै सम्पदा पुर्निर्माणमा ढिलाइ भएको छ, छिटो निर्माण सम्पन्न गराउने उद्देश्यले यसै साता छलफल गरिने भएको छ' प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटा भने।

कोषमा प्राविधिक जनशक्तिको कमी रहेकाले पुर्निर्माणमा ढिलाइ भएको हो। पाँच वर्षमा पशुपति क्षेत्रका पुरातात्विक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक दृष्टिले महत्व बोकेका सम्पदा पुर्निर्माण गर्न  दुई अर्ब २० करोड रुपैयाँ लाग्‍ने अनुमान गरिएको छ।

भूकम्पपछि गत आर्थिक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुर्निर्माणका लागि २५ करोड रुपैयाँ निकासा गरेको थियो। सार्वजनिक खरिद ऐन र नियमावलीको प्रक्रिया पूरा गरेर निकासा भई आएको बजेटको एक तिहाई पनि कोषले खर्च गर्न सकेन। गत वर्ष कोषले चार करोड २५ लाख रुपैयाँ बराबरको पुर्निर्माण सम्पन्न गरेको निर्देशक भरत मरासिनीले जानकारी दिए।

'प्राधिकरणबाट पुर्निर्माणका लागि आएको बजेटको २० प्रतिशतमात्र गत वर्ष खर्च हुनसक्यो, बाँकी बजेट फ्रिज भयो, चालु आर्थिक वर्षमा २० करोड ७५ लाखको ठेक्का भई काम शुरु भएको छ' उनले भने। भूकम्पले भत्किएका ६४ सम्पदामध्ये कोषले पाँचवटा सम्पदा पुर्निर्माणको जिम्मेवारी दातालाई दिएको छ।

दातालाई पुर्निर्माण गर्न जिम्मेवारी दिइएका सम्पदामा चार शिवालयमध्ये गौरीघाट र गौरीघाट चौघेरा सत्तल तीन करोड, बज्रेश्‍वरी सत्तल  ५० लाख, जयवागेश्‍वरी मन्दिर दुई करोड र महास्नानघर  तीन करोड रुपैयाँको लागतमा जिम्मेवारी दिइएको हो।

भत्किएका सम्पदामध्ये हालसम्म आठ करोड ५० लाखको लागतमा दातालाई बनाउने अनुमति दिइएको छ। प्राधिकरणले दिएको बजेबाट पुर्निर्माण शुरु भएका सम्पदामा चन्दनपाटी (घ्याम्पे सत्तल) को काम ८०, शंकराचार्य मन्दिर ६०, कुलानन्द झा सत्तल ८०, वनकाली सत्तल ८० र अमरकान्तेश्‍वर मन्दिर ४० प्रतिशत सम्पन्न भएको कोषले जनाएको छ।

सुरेशकान्तेश्‍वर मन्दिर, गुह्‍येश्‍वरी चौघेरा सत्तल पश्‍चिम खण्ड र ताराप्रकाशेश्‍वर मन्दिरको निर्माण प्रारम्भ भएको छ। कोटीलिंगेश्‍वर मन्दिरको जगको काम भई अरु काम शुरु भएको निर्देशक मरासिनीले बताए। गुह्‍येश्‍वरीस्थित वाग्मती किनाराको सत्तल ४५, पन्ध्रशिवालय सत्तल ८०, चौतरिया शिवालय २ वटाको गजुरको काम मात्र बाँकी रहेको छ। मृगस्थली परिसरका शिवालय पुर्निर्माणका लागि एकपटक ठेक्का भएकामा प्रक्रिया नमिलेको भनी पुनः ठेक्का भएको छ।

पशुपति क्षेत्रका सम्पदा भूकम्पबाट भन्दा पनि समयमा जीर्णोद्धार नभएकाले बढी क्षति भएको कोषले अध्ययन गरेको प्रतिवेदनमा उल्लेख छ। भष्मेश्‍वर सत्तल २०७२ साल वैशाख १२ गते अघि नै कोषले जीर्णोद्धार गर्ने कार्यक्रम बनाएको थियो। तर कोषले जीर्णोद्धार गर्न नपाउँदै भूकम्पबाट भत्किएकाले पुर्निर्माण गर्नुपरेको हो।

भूकम्पले अन्य स्थानका सम्पदा पूर्णरुपमा क्षति पुग्दा बढी ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक स्थल रहेको पशुपतिमा कम क्षति पुगेकाले विदेशी विज्ञ एवम् पर्यटकको चासोको विषयको बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.