|

काठमाडौं: राष्ट्रिय जनता पार्टी (राजपा) ले तराई/मधेसका जिल्लामा बहुमत ल्याउन भन्दै संघीय समाजवादी फोरमसँग प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गरे पनि पार्टीभित्रकै असन्तुष्टबाट चुनौती व्यहोर्नुपरेको छ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवलाई समेत पार्टीभित्र र गठबन्धनबाटै निर्वाचनमा सफलता हासिल गर्न अड्चन थापिरहेका छन्। 

राजपा अध्यक्ष मण्डलका संयोजक ठाकुर र सदस्य महेन्द्र राय यादवलाई पार्टी भित्रकै नेता प्रतिष्पर्धामा उठेर चुनौति दिएका छन्। गृह जिल्ला सर्लाही छोडेर महोत्तरी क्षेत्र नंम्वर ३ मा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार बनेका ठाकुरलाई पार्टीको राजनीतिक समिति सदस्य चन्द्रेश्वर झा नैं चुनौति बनेर आए।

अघिल्लो संविधानसभा निर्वाचनमा साविकको महोत्तरी क्षेत्र नम्बर- ४ बाट स्वतन्त्र उम्मेदवार भएर विजयी भएका झा स्थानीय तहको निर्वाचनअघि मात्र राजपा प्रवेश गरेका थिए। झाले ठाकुरलाई 'टुरिष्ट' उम्मेदवारको आरोप लगाएपछि अप्ठ्यारोमा परेका महन्थलाई कांग्रेसले काँध थाप्दै पार्टीका आधिकारिक उम्मेदवार बजरंग नेपालीको उम्मेदवारी फिर्ता नै गर्न लगायो।

ठाकुरलाई वाम गठबन्धनका उम्मेदवार विजयकुमार चौधरीले चुनौती दिइरहेका छन्। चौधरी एमालेको तर्फबाट उम्मेदवार बनेपछि उनलाई माओवादी केन्द्रले पनि समर्थन गरेको छ। ठाकुरलाई चौधरीले भन्दा बढी झाले नै चुनौती दिइरहेका छन्।

अध्यक्ष मण्डलका सदस्य महेन्द्र रायले स्थानीय तहको निर्वाचनमा उम्मेदवार चयन गर्न लोकप्रिय र पार्टीमा योगदान दिएकालाई पाखा लगाएको भन्दै सर्लाही क्षेत्र नम्बर- ५ का तत्कालीन सांसद तथा राजपा महामन्त्री जंगीलाल रायले पार्टी नै परित्याग गरे। रायलाई हालको क्षेत्र नम्बर- ३ बाट पार्टीले उम्मेदवार नबनाउने देखेपछि उनी कांग्रेसमा प्रवेश गरी सोही क्षेत्रबाट उम्मेदवार भएर महेन्द्रसँगै प्रतिष्पर्धामा उत्रिएका छन्।

रायलाई पार्टीका निवर्तमान महामन्त्री जंगीलालले मात्र होइन, पार्टीका जिल्ला सभापति दिनेश यादवले समेत चुनौती दिएका छन्। यादवलाई प्रदेशसभाको प्रत्यक्षतर्फ वा समानुपातिकमा समेत राख्न अध्यक्ष रायले नमानेपछि यादव माओवादीमा प्रवेश गरी उनै रायविरुद्ध उम्मेदवार बनेका हुन्।

अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झालाई भने संघीय समाजवादी फोरमका उम्मेदवार बबन सिंहले चुनौती दिएका छन्। फोरम र राजपाको सहमतिबमोजिम रौतहट- १ राजपाका उम्मेदवारलाई फोरमले समर्थन गर्नुपर्छ, तर फोरम केन्द्रीय सदस्य बबन सिंहले झाविरुद्ध उम्मेदवारी दिएका छन्।

२०६४ सालको संविधानसभा निर्वाचनमा रौतहट- १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी सिंह र माओवादी केन्द्रको तर्फबाट यसअघि रौतहटबाटै निर्वाचित सांसद सत्यनारायण भगत ‘विन’ वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेर झालाई चुनौती दिएका छन्। स्थानीय तह निर्वाचनमा रौतहटका अधिकांश तहमा विजयी कांग्रेसले पार्टी जिल्ला सभापति श्रीकृष्णप्रसाद यादवलाई उम्मेदवार बनाएको छ।

गौर नगरपालिकासहित अन्य तह समेटिएको १ नम्बर क्षेत्रबाट नेपाली जनता दलका अध्यक्ष तथा पूर्व सांसद हरिश्चरण साह र मधेस आन्दोलनका नेता रामनरेश राय यादवले समेत झाकै मत काट्ने देखिन्छ। रौतहट नगरपालिकामा राजपाका उम्मेदवारले प्रमुखमा जिते पनि झाले श्रीमती डा. डिम्पल झालाई पुन: समानुपातिकको बन्द सूचीमा अग्रस्थानमा राखेको भन्दै जिल्लामा पार्टीभित्रैबाट असन्तुष्टि बढेको छ।

फोरमका अध्यक्ष उपेन्द्र यादव गृहजिल्ला सुनसरी छाडेर सप्तरी- २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिए पनि उनलाई राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले पार्टीको पद त्याग गर्दै यादवविरुद्ध उम्मेदवारी दिएका छन्। सप्तरीमा मधेस आन्दोलनको नेतृत्व गरेका ठाकुर अघिल्लो संविधानसभा निर्वाचनमा माओवादीका उमेश यादवसँग पराजित भएका थिए।

फोरम अध्यक्ष यादवलाई राजपाका असन्तुष्ट नेता ठाकुर र माओवादी केन्द्रका उम्मेदवार पूर्व सिँचाइमन्त्री उमेश यादवले टक्कर लिइरहेका छन्। यादव संसदमा कुर्सी फालेको घटनाका चर्चित पात्र हुन्। यादवलाई निर्वाचनमा सहज होस भनेर कांग्रेसले आफ्ना उम्मेदवार सकलदेव सुतिहारको उम्मेदवारी नै फिर्ता गर्न लगाएको छ।

गृहजिल्ला सर्लाही छाडेर धनुषा- ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवारी दिएका राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई भने आफ्नैबाट भन्दा कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले टक्कर दिइरहेका छन्। महतोलाई अघिल्लो संविधानसभा निर्वाचनमा धनुषा- ४ बाट विजयी भएर हाल कैद सजाय काटिरहेका सञ्जय साह (टक्ला)ले असहयोग गरेका छन्।

धनुषा- ३ मा सधैँ साह समुदायको बोलबाला रहने भएकाले पूर्व सांसद साहको समर्थन निधिलाई रहेको बताइन्छ। साहलाई सजायबाट मुक्त गर्न नसकेको र निर्वाचनमा साहकी श्रीमतीलाई टिकट दिने भनेर वाचा पूरा नगरेको भन्दै महतोविरुद्ध लागेपछि महतोलाई चुनाव जित्न सकस परेको छ।

राजपा अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवलाई सिरहा- ४ मा फोरमले समर्थन जनाए पनि उक्त क्षेत्रबाट चुनाव जित्न साहलाई निक्कै सकस पर्ने देखिन्छ। स्थानीय तहका अधिकांश स्थान माओवादीले जितेको उक्त क्षेत्रमा वाम गठबन्धनले माओवादी केन्द्रकै अजयशंकर नायकलाई उम्मेदवार बनाएको छ।

राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी महोत्तरी- २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्। उनका विरुद्ध पार्टी निकटका प्रवीणकुमार लाभले उम्मेदवारी दिएका छन्। मधेसी बुद्धिजीवीको रूपमा पहिचान बनाएका लाभले भण्डारीलाई केही चुनौती दिने देखिन्छ। 

भण्डारीलाई लाभभन्दा कांग्रेस केन्द्रीय सदस्य किरण यादव चुनौती भएर देखिएकी छन्। अघिल्लो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित यादव नै भण्डारीको प्रतिष्पर्धीको रूपमा चुनावी मैदानमा उत्रिएकी छन्। वाम गठबन्धनले भने माओवादीका काशिम नदाफलाई उम्मेदवार बनाएको छ।

फोरमका नेता अशोक राईलाई नेपाली कांग्रेसले सुनसरी- १ मा प्रतिनिधिसभा उम्मेदवारतर्फ समर्थन जनाएको छ। तर अढाई दशकयता एमालेले चुनाव जित्दै आएको सुनसरी- १ मा एमाले उम्मेदवार जयकुमार राईले अशोक राईलाई टक्कर दिनेछन्। फोरम नेता राईलाई एमाले नेता राईले चुनौती दिँदा विजयको माला पहिरिन त्यति सहज देखिँदैन।

राजपा–फोरमका नेता, जो एकआपसमै प्रतिष्पर्धा गर्दै छन् 

तराई-मधेसकेन्द्रित दल राजपा र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल गर्ने निर्णय भए पनि दर्जनौँ क्षेत्रमा तालमेल तोडिएको छ। राजपा उपाध्यक्ष सवेन्द्रनाथ शुक्लाले रूपन्देही- ४ बाट उम्मेदवारी दिएका छन् तर उनीसँग राजपाका पूर्व सांसद ओमप्रकाश यादव गुल्जारी एमालेबाट प्रतिष्पर्धामा उत्रिएका छन्। फोरमले पनि ओमप्रकाश यादवलाई नै उम्मेदवार बनाएको छ, जसले गर्दा शुक्लालाई निर्वाचनमा सफलता हात पर्न चुनौती थपिएको छ।

मोरङ क्षेत्र नम्बर- ६ मा राजपा नेता तरवेज अख्तर आलमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि उनका विरुद्ध फोरमका राजेश्वर विश्वासले पनि उम्मेदवारी दिएका छन्। प्रदेशसभाका दुवै क्षेत्रमा दुवै दलले उम्मेदवार उठाएका छन्। 

राजपा नेता मृगेन्द्रकुमार सिंह यादवलाई फोरमले समर्थन गरेको थियो तर फोरमका मोहम्मद इस्लामले वागी उम्मेदवारी दिएका छन्। यसले यादवलाई निर्वाचनमा सफलता पाउन चुनौती थपिएको छ। यहाँ यसअघिका सांसद कांग्रेसका तेजुलाल चौधरी उम्मेदवार बनेका छन्।

सर्लाही- ४ मा राजपाले राकेश मिश्रलाई उम्मेदवार बनाए पनि राजपा छोडर माओवादी प्रवेश गरेका शिवपुजन रायले वाम गठबन्धबाट उम्मेदवारी दिएका छन्। 
राजपा परित्याग गरी एमालेको चुनाव चिह्न लिएर नवलपरासी (पश्चिम) क्षेत्र नम्बर- १ बाट उम्मेदवार भएका हृदयेश त्रिपाठीविरुद्ध संघीय समाजवादी फोरमले नरेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ।

राजपाका उपाध्यक्ष गोविन्द चौधरीले नवलपरासी- २ बाट उम्मेदवारी दिएका छन्। तर फोरमले वीरेन्द्र चौधरीलाई गोविन्दविरुद्ध उठाएको छ। कपिलवस्तु- २ मा राजपाले शत्रुधनविलास सिंहलाई र फोरमले रामनेवास यादवलाई उम्मेदवार बनाएको छ। राजपा महासचिव परित्याग गरी बृजेशकुमार गुप्ता सोही क्षेत्रमा एमालेको उम्मेदवार बनेका छन्। तीन उम्मेदवारको टकरावले कांग्रेसका सुरेन्द्रराज आचार्य प्रतिष्पर्धाको दौडमा बलियो उम्मेदवार देखिएका छन्।

राजपाले कपिलवस्तु- ३ बाट उपाध्यक्ष नरसिंह चौधरीलाई उम्मेदवार बनाएको छ तर सोही क्षेत्रबाट राजपा नेता ईश्वरदयाल मिश्र पार्टी परित्याग गरी एमालेको चुनाव चिह्न लिएर प्रतिष्पर्धामा उत्रिएका छन्। फोरमले मंगलप्रसाद गुप्तालाई उम्मेदवार बनाएको छ। उक्त क्षेत्रबाट कांग्रेसले फोरम परित्याग गरेका अभिषेकप्रताप साहलाई उम्मेदवार बनाएको छ। यस क्षेत्रमा चौधरी, मिश्र, गुप्ता र साहबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ।

फोरमका पूर्व सांसद मोहम्मद इस्तियाक राई र राजपाका विजय गुप्ता बाँके क्षेत्र नम्बर- २ मा प्रतिष्पर्धा गरिरहेका छन्। यहाँ राजपाका नेता पशुपतिदयाल मिश्र एमालेको चुनाव चिह्न लिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका छन्। 

कैलाली क्षेत्र नम्बर- १ मा राजपाका रेशमलाल चौधरी र फोरमका भगतराम थारू प्रतिष्पर्धा गरिरहेका छन् भने कैलाली- ३ मा राजपाकी मीना चौधरी र फोरमका भानुराम डगौरा थारू प्रतिष्पर्धा गर्दै छन्। कैलाली- ५ मा फोरमका सुरेन्द्र यादव र राजपाका लक्ष्मण चौधरीबीच प्रतिष्पर्धा हुँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.