'राजनको क्षमताले प्रचण्ड पराजित भएका थिएनन्'

|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १० चुनावी चर्चामा यसपालि पनि अग्रस्थानमा छ। २०७० सालको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मतद्वारा अश्वीकार गर्ने जनताले यसपाली कसलाई रोज्लान्? भन्ने विषय बहसमा आएको छ।

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वचनमा यो काठमाडौं १० बाट प्रचण्डलाई पराजित गर्ने कांग्रेसका नेता एवं युवा तथा खेलकुदमन्त्री राजन केसी चुनावी मैदानमा छन्। केसीसँग आफ्ना अध्यक्षलाई पराजित गरेको बदला लिने योजनासहित चुनावी मैदानमा उत्रिएका छन् वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्य।

काठमाडौंका १० ओटै निर्वाचन क्षेत्रका वाम  गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमका अवसरमा मंगलबार जमलस्थित एक होटलमा भेटिएका शाक्य गठबन्धनको उम्मेदवार भएकोले जनताको मत आफ्नो पक्षमा आउनेमा ढुक्क देखिए। आफ्नो क्षमता र दुई पार्टीको एकताले जनताको मन जितेको र राजनीतिक स्थायित्वको चाहना गर्ने मतदाताले आफूलाई रोज्ने उनको दावी थियो। 

प्रचण्डलाई पराजित गर्नेसँग प्रतिस्पर्धा

संविधानसभा चुनाव २०७० मा माओवादी अध्यक्ष प्रचण्डलाई पराजित गर्ने नेपाली कांग्रेसका नेता राजन केसीका नामले परिचित राजेन्द्रकुमार केसी शाक्यका प्रतिस्पर्धी हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा २० हजार ३९२ मत ल्याएर प्रचण्डलाई पराजित गरेका उनी कीर्तिपूर चोभारका रैथाने हुन्।

२०७० को चुनावमा प्रचण्ड पराजित हुनुमा राजन केसीको क्षमताले नभइ माओवादी भित्रको फूटले भूमिका खेलेको शाक्य बताउँछन्। प्रतिस्पर्धी केसीबारे शाक्यको भनाइ छ, 'राजन केसीको क्षमताले प्रचण्ड पराजित भएका थिएनन्। उहाँको पक्षमा जनमत भएर जितेको पनि होइन, वाम शक्ति जतिखेर पराजति भएको छ त्यसको पछाडि वाम शक्तिबीच भएको विभाजन मुख्य विषय रहेको छ।' हुनत त्यतिबेला शाक्यकै साथ प्रचण्डले पाएका थिएनन्। उनी मोहन वैद्य नेतृत्वको तत्कालिन नेकपा-माओवादीमा रहेकाले चुनाव बहिस्कार गरेका थिए। 

राजन केसीलाई 'राजनीतिक व्यापारी'को आरोप लगाउँदै शाक्यले भने, 'वामशक्ति विभाजन हुँदाखेरि कार्यकर्ता र जनतामा निराशा आउँदो रहेछ, एउटा अविश्वास पैदा हँदोरहेछ। त्यो चिजलाई उपयोग गरेर उहाँले जित्नुभयो।'

अब माओवादी मिलेको मात्रै नभएर देशका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेकोले अब आफू जित्नेमा ढुक्क रहेको उनको भनाइ थियो। यस्तो अवस्थामा राजन केसीको जित्ने सम्भावना नरहेको बताउदै उनले भने, 'उहाँको क्षमता वा जे भने पनि उहाँले जसरी (धन) कमाउनुभएको छ हुने नहुने तरिकाबाट त्यो कमाइलाई मत खरिद गर्ने गरेर जित्ने सम्भावना छ। त्यो सम्भावनालाई हामीले रोक्छौं।'

केसीले आफ्ना प्रतिवद्धता पूरा नगरेको शाक्यले आरोप लगाए। 'जनतालाई पानीको व्यवस्था गर्छु भनेको थियो रे, अहिलेसम्म त्यो पूरा भएको छैन'  शाक्यले भने। अहिले केसी '१० नम्बर क्षेत्रलाई सुनको टुक्रा बनाउँछु' भने पनि विश्वासयोग्य नभएको उनले जिकिर गरे। शाक्यले भने, 'उहाँले गर्न नसकेका कुराको धेरै आलोचना किन गर्ने? अब गरेर देखाउनुपर्छ भन्ने लागेको छ।'

जितको आधार वाम एकता

काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रबाट २०४८ सालदेखि नै कम्युनिस्ट नेता विजयी बन्दै आएका छन्। खासगरी आन्दोलन र युद्धबाट आएका कम्युनिस्ट नेता प्रचण्डको रोजाइ पनि काठमाडौं क्षेत्र नम्बर १० रह्यो।

अहिले दुई कम्युनिस्ट पार्टी चुनावका लागि वाम गठबन्धन बनाएर अघि बढेका छन्। त्यसले मतदातामा उत्साह थपेको र जितको आधार तय गरेको वाम गठबन्धनका उम्मेदवार शाक्यको भनाइ छ। 'माओवादी र एमालेबीच भएको एकताले जनतामा उत्साह पैदा भएको छ, जुन मेरो जीतको मुख्य आधार हो', उनी भन्छन्, 'साथै वाम गठबन्धनले लिएको स्थिर सरकार बनाउने, देशलाई समृद्धिमा लैजाने र भ्रष्टाचारको अन्त्य गर्ने नीतिप्रति जनताले गरेको विश्वास मेरो जीतको आधार हो।'

वाम गठबन्धनले सार्वजनिक गरेको नीतिप्रति आफ्नो निर्वाचन क्षेत्रका जनतामा विश्वास पलाएको उनको दावी छ। 'स्थिर सरकार बनाउनुपर्छ, जनतालाई एक बनाउनुपर्छ र समृद्धिमा लैजानुपर्छ' भन्ने वाम गठबन्धनको घोषणाले जनतामा विश्वास पलाएको उनको दावी छ। 

दुई पार्टी मिल्दा असम्भव भयो सम्भव

२०७० सालको निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बनेपछि चर्चामा रहेको काठमाडौं क्षेत्र नम्बर १० चुनावपछि झनै चर्चामा रह्यो। त्यसको कारण थियो, २०६४ सालको निर्वाचनमा भोट दिएर पठाएका प्रचण्डलाई मतदाताले अश्वीकार गरेर नेपाली कांग्रेसका नेता राजन केसीलाई विजयी बनाएको थियो।

प्रचण्ड निर्वाचित भएको १० वर्षपछि माओवादीले फेरि जित्ने रणनीतिसहित काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० रोजेको छ। दुई कम्युनिस्ट पार्टीबीच एक हुने घोषणा गरेर चुनावी मैदानमा छन्। त्यही मेलोमा कुन क्षेत्र कसले लिने भन्ने विषयमा खुबै बहस भयो। काठमाडौं १० मा फेरि प्रचण्ड नै आउने कि नेता रामबहादुर थापा बादललाई ल्याउने भन्ने विषय चर्चामा रह्यो। अन्ततः नेता हितमान शाक्य साझा उम्मेदवार बने।

जहिले पनि ठूला नेताहरु चुनावमा आउँदा स्थानीय नेताको नेतृत्व विकासमा समस्या आउने स्थानीय नेता कार्यकर्ताले शाक्यसमक्ष गुनासो पोखे। उक्त कुरालाई सही रुपमा लिएको भन्दै आफूले दिएको जवाफ सम्झिदै शाक्यले सुनाए, 'काम गर्ने कुरो हो। देश, जनता र यो क्षेत्रको प्रगती गर्ने कुरो हो। स्थानीय सबै नेताहरुलाई उचित ठाउँहरुमा लिएर जानुपर्छ भन्ने भावनासहित आएको छु।' 

अहिले चुनावी अभियान चलाउनका लागि एमाले र माओवादी केन्द्रका नेता रहेको निर्वाचन प्रचारप्रसार समिति बनेको छ। दुवै दलका नेता र कार्यकर्तालाई विभिन्न तहमा प्रशिक्षण दिने र एकताभाव पैदा गर्ने काम सकिएको छ। शाक्य भन्छन्, 'सुरुमा झिना मसिना मतभेद थिए, अहिले हल भइसकेको छ।'

उम्मेदवारी दर्ता गर्ने समयमा मात्र काठमाडौं १० बाट गठबन्धनले उम्मेदवार तोकेकोले केही असहज भए पनि अहिले तिक्तता मेटिइसकेको शाक्यको भनाइ छ। दुई पार्टी एक हुँदा सामान्य समस्या आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ। 'एउटै पार्टी हुँदा पनि टिकट वितरणमा समस्या हुने विषय हो,  दुई पार्टी हुँदा अलि समस्या हुनु स्वभाविक नै हो', शाक्य भन्छन्, 'असम्भव चिज पनि सम्भव हुने रहेछ भन्ने छ।' 

विकासका एजेन्डा: बन्जीजम्पदेखि शैक्षिक हब

वाम गठबन्धनका तर्फबाट शाक्य जब १० नम्बर क्षेत्रको उम्मेदवार बनेर गए त्यहाँका जनताको भनाइ थियो, 'राजधानी काठमाडौंबासी हामी जहिले पनि पछि पर्‍यौं, यो क्षेत्र पछाडि परेको छ। नेताज्यू, हामीलाई छोड्नुभएन। हामी सँगसँगै हाम्रो साथमा रहेर जनताका दुःख दूर गर्न लाग्नुपर्‍यो।'

शाक्यले तीन दशकदेखि यही क्षेत्रमा रहेकाले आफ्नो अनुभूति पनि अन्य मतदाताको जस्तै भएकाले समस्या समाधानका लागि आफू लागिपर्ने र सधैं जनताको साथमा रहने प्रतिवद्धता व्यक्त गरेको बताए।

प्रचण्ड निर्वाचित भएपछि विकासमा ध्यान दिएनन् भन्ने गुनासो गरिरहेका जनतासमक्ष शाक्यले अब बन्ने सरकारले विकास र समृद्धिमा ध्यान दिने प्रतिवद्धता व्यक्त गर्दै चुनाव प्रचारमा जुटेका छन्। हिजो प्रचण्ड संविधान बनाउनमा व्यस्त हुनुपर्दा विकासमा ध्यान पुर्‍याउन नसकेको स्पष्टीकरण दिँदै शाक्यले अब विकासमा ध्यान दिने प्रतिवद्धता जनाएका छन्। 

नेवार, खस, आर्य, तामाङ, गुरुङ, दलित, मगरको बसोबास रहेको यस क्षेत्रमा सामाजिक र सांस्कृतिक सम्पन्नता र विविधता रहेको छ। २०१६ सालमा स्थापना भएको देशको पहिलो र ठूलो विश्वविध्यालय त्रिभुवन विश्वविद्यालय १० नम्बर क्षेत्रमै पर्छ। विश्वविद्यालयकै कारण बढेको बस्ती पनि धेरै ठूलो बनिसकेको छ। जसले विकासको आधार समेत खडा गरेको शाक्यको धारणा छ।

नेपालको पहिलो जलविद्युत गृह रहेको फर्पिङ यही क्षेत्रमा पर्छ। यसको संरक्षण गर्न सके इतिहासको रक्षा र पर्यटकको आकर्षण बढाउन सकिने शाक्यको भनाइ छ। यो क्षेत्रमा जंगल र जलाधार क्षेत्र रहेकोले चिडियाखाना निर्माण गर्ने उनको भनाइ छ।

शाक्यले काठमाडौंको कीर्तिपुर र चन्द्रागिरि डाँडाको बीचमा रहेको खोँचमा मिनी बञ्जीजम्प बनाउन सकिने योजना बनाएका छन्। त्यहाँ बञ्जीजम्प राख्न सकेमा काठमाडौंका पर्यटक आकर्षित गर्न सकिने उनी बताउँछन्। 

त्यस्तै, कृषिलाई अर्गानिकीकरण गर्ने, लप्सी कुरिलो खेतीलाई प्रोत्साहन गर्ने र टनेलमा गरिने गोलभेडा खेतीलाई बढावा दिने अनि च्याउ खेतीलाई व्यवस्थित गरेर रोजगारी सिर्जना गर्न सकिने शाक्यको सोचाइ छ। 

उनले १० नम्बर क्षेत्र ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यका हिसाबले आन्तरिक र बाह्य पर्यटकको गन्तव्य स्थल बनाउन भूमिका निर्वाह गर्ने बताए। चोभार, दक्षिणकाली, मातातीर्थ र चन्द्रागिरी लगायतका स्थललाई पनि पर्यटकीय स्थलमा विकास गर्ने गरी आफूले काम गर्ने उनले बताए। त्यस्तै भत्किएका धेरै सडकको निर्माणमा जनताले ध्यान दिन आग्रह गरेकोले चक्रपथ निर्माण लगायतको योजना शााक्यले बनाएका छन्। उनी भन्छन्, 'हाम्रो निर्वाचन क्षेत्रमा सबै पूर्वाधार छन्। योजनागत रुपमा काम हुन नसकेको हो, अब हामीले त्यो काम गर्नेछौं।'

मतदाताको सहानुभूति मप्रति छ

केही दिनयता आफू मतदाताकोमा पुगिरहेको हितमान शाक्यको भनाइ छ। रैथाने र पछि बसोबासमा आएका समुदायबीचको फरक फरक मनोविज्ञान हावी रहेको निर्वाचन क्षेत्र भए पनि मतदाताको अपेक्षा आफूप्रतिमात्रै रहेको शाक्य बताउँछन्। 

यस निर्वाचन क्षेत्रको पछि बसेको बस्तीमध्ये कीर्तिपुरको ट्याङ्लाफाँटको बस्ती पनि एक हो। त्यहाँ पुगेर समेटेको अनुभव उनले सुनाए, 'भर्खरै पनि ट्याङ्लाफाँटमा पुगेको थिएँ, त्यहाँको सहानुभूति म प्रति पाएँ। अब त्यहाँको स्थानीय नेवार जातिको स्वतः हुने भइहाल्यो दक्षिणकालीमा पनि वाम गठबन्धनप्रति जनलहर छ।'

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १० र ११ तथा कीर्तिपुर र दक्षिणकाली नगरपालिका समेटिएको छ। स्थानीय चुनावमा माओवादी केन्द्रले सबैभन्दा बढी मत प्राप्त गरेको यही क्षेत्र हो। यस क्षेत्रबाट एमालेभन्दा कांग्रेसले बढी मत ल्याए पनि माओवादीको मत जोड्दा कांग्रेस/राप्रपाभन्दा वामपन्थी गठबन्धन निकै अगाडि छ।

यो क्षेत्रमा वाम गढबन्धनका दलहरुमा एमालेको १६ हजार ८८७ मत थियो भने नेकपा माओवादी केन्द्रको ९ हजार ४५०। यी दुबैको २६ हजार ३३७ हुन्छ। त्यसमा कांग्रेसको १७ हजार १६७ छ भने उसलाई सघाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ३३३ छ। यी दुईको जोड्दा वाम गठबन्धनको भन्दा ६ हजार ८ सयले कम अर्थात् १९ हजार ५०० हुन आउछ। शाक्यलाई हौसला दिने कारण यो पनि रहेको छ। 

यो पनि पढ्नुहोस् : काठमाडौंका १० वटा क्षेत्रमा कसले मार्ला बाजी? यस्तो छ मतको लेखाजोखा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.