|
तस्विर– राजधानी दैनिक

दार्चुला\बाजुरा : प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्मुखमै सुदूरपश्चिमका उच्च पहाडी भेगका मतदाता चिसो छल्न न्यायो खोज्दै बेंसीतर्फ झरेपछि उम्मेदवारहरूलाई उनीहरूको मत आफ्नो पक्षमा ल्याउन चुनौती थपिएको छ।

पहाडी जिल्ला बाजुरा र दार्चुलाका उच्च भेगका बासिन्दा अत्यधिक चिसोका कारण मतदानभन्दा ज्यान प्यारो भन्दै बासस्थान छाडेर अन्यत्रै सरेका छन्। हिमाली गाउँपालिका–२ बौडी, बाजुराका पुरन थापा परिवार  भेडाबाख्राको बथानसहित अछामको बुढाबगर सरेका छन्। उनीसँगै गाउँका ३५ परिवार गाउँमा चिसो बढेसँगै भेडाबाख्रा लिएर मत हाल्नसमेत नफर्किने गरी बसाइँ सरेका हुन्। भोटे जातिको बाहुल्य रहेको यो गाउँ यतिबेला सुनसान छ।

व्यास गाउँपालिका–१ छाँगरु दार्चुलाका ८० वर्षीय नन्दनसिंह लाला आफ्नो परिवारसहित व्यासबाट चिसो छल्न बसाइँ (कुञ्चा) सरेका छन्। गाईबस्तु, लालाबालासहित उनी व्यासबाट सदरमुकाम खलंगा झरेका हुन्। व्यासमा हिमपात हुन थालेपछि सिंगो गाउँ नै चिसो छल्न सदरमुकाम खलंगा झरेका हुन्।

सदरमुकाम खलंगाबाट २८ कोष उत्तरपश्चिममा अवस्थित व्यास गाउँपालिका नेपाल, भारत र चीनको सीमा क्षेत्र हो। व्यासबाट गाईबस्तुसहित पूरै परिवार खलंगा पुग्न ४ दिन लाग्छ। १ सय ५६ घरधुरी रहेको व्यासमा ५ सय ४१ मतदाता छन्।

‘व्यासका दुईवटै मतदान केन्द्र खलंगा सार्ने निर्णय सिफारिस भएसँगै सबै मतदाता खलंगा झरेका छौं,’ स्थानीय वृद्ध नन्दनसिंह लालाले भने। गाउँमा चिसो बढेसँगै बस्न सकिने अवस्था नभएपछि गाउँ रित्तो भएको हो। उस्तै ६ महिना व्यास र ६ महिना खलंगा कुन्चा सर्ने व्यासी सौका समुदाय कात्तिकदेखि मंसिरको समयमा खलंगा झर्ने गर्छन्।

गाउँगाउँमा चुनावको चहलपहलले उम्मेदवार घरदैलोमा व्यस्त छन्। तर, दार्चुलाको व्यास छाँगरुमा अहिलेसम्म न उम्मेदवार पुगे, न त चुनावी प्रचारप्रसार नै भयो। ‘चिसो बढेका कारण सबै मतदाता खलंगा झरेपछि उम्मेदवारसमेत गाउँ आउन नसकेको स्थानीय योगेश बोहराले बताए। बाजुराबाट अस्थायी रूपमा थातथलो छोडेका पुरन परिवार यसपटक चुनावमा भोट नहाल्ने निष्कर्षसहित न्यानो खोज्दै झरेका हुन्।

यसअघि तीनपटक मतदान गरिसकेका पुरन भन्छन्, ‘हाम्रो दुःख हामीसँगै छ, मत दिएकाले कहिले पो हाम्रो दुःख हेरेका छन् र भोट हाल्न जानु।’  उनीहरू बुढीनन्दा नगरपालिका–४ का छन्। जहाँ चुनावको चहलपहल बढ्दो छ। भेडा नभएका गाउँमा ४८ घरधुरी मात्र गाउँमा बाँकी रहेको उनले बताए।

बाजुराकोे हिमाली क्षेत्रमा बसोबास गर्ने भेडापालक किसान हरेक हिउँद याममा हिमाली क्षेत्रतिर हिउँले घाँस छोप्ने भएका कारण बाजुराको दक्षिणी क्षेत्र अछाम, डोटीका हिउँ नपर्ने क्षेत्रमा चरनका लागि पुग्ने गर्छन्।

स्थानीय तहको निर्वाचनमा देशभरिकै सबैभन्दा बढी ८१ प्रतिशत मतदान भएको यस जिल्लामा यस पटकको निर्वाचनमा मतदाताले विभिन्न कारणले मताधिकार प्रयोग गर्न नपाउने अवस्था छ।

दार्चुलाका उच्च क्षेत्रमा गत सातादेखि नै हिमपात र चिसो बढेको छ। चिसो प्रभावित क्षेत्रका सबै मतदाता परिवारसहित खलंगा पुग्न थालेका छन्। ४ मंसिरभित्र सबै मतदाता परिवारसहित सदरमुकाम पुग्दै छन् तर निर्वाचन आयोगले भने उनीहरूका लागि खलंगामा मतदानको व्यवस्था गरेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.