|

दमक( झापा) : दुई दशकदेखि झापा र मोरङमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वास प्रक्रिया बन्द भएको छ। दमकस्थित शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) को शाखामा भएको शरणार्थी प्रतिनिधि र दातृ निकायबीचको छलफलमा पुनर्स्थापनाको प्रक्रिया बन्द गर्ने सहमति भएको शरणार्थी अगुवाहरुले जनाएका छन्।

बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीका अनुसार बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्व सचिव र अन्य जिम्मेवार पदाधिकारीसँग यूनएचसीआर र पुनर्वास सम्बन्धी अमेरिकी सरकारका प्रतिनिधिबीचको छलफलमा पुनर्बास प्रक्रिया बन्द भएको जानकारी गराइएको हो। शरणार्थी समस्या समाधान गर्ने भन्दै ९ वर्ष अघिदेखि अमेरिका तथा युरोपका विभिन्न देशमा शरणार्थीहरुलाई लाने क्रम शुरु भएको थियो।

विकल्पबारे अन्यौल

पुनस्थार्पना रोकिए पनि बाँकी रहेका शरणार्थीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे कुनै निर्णय हुन सकेको छैन। शरणार्थी समन्वय ईकाईका कार्यकारी निर्देशकसमेत रहेका झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले पुनर्स्थापनाको प्रक्रिया रोकिएको अनौपचारिक रुपमा थाहा पाएको बताए। बाँकी शरणार्थीहरुको हकमा पनि के गर्ने भनेर छलफल भए पनि कुनै निर्णय भने नभएको उनले जनाए।

शरणार्थीको सहायतामा क्रियाशील दातृ निकाय, संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग तथा नेपालका सरोकारवालाबीच छलफल भई विकल्प खोजी गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए। बाँकी रहेका भुटानी शरणार्थीहरुको विषयमा यूनएनएचसीआरले नेपाल सरकारसँग स्थानीयकरणका विषयमा समेत छलफल भएको पथरी शिविरका सचिव चम्पासिंह राईले जानकारी गराए।

पुनर्मिलनमा लचकता

अमेरिकी सरकारका प्रतिनिधिसहितको टोलीको छलफलमा प्रक्रिया जारी रहेकालाई भने आवश्यक मापदण्ड पूरा गरी पुनर्वास गराउने सहमति भएको छ। पुनर्वासका लागि नयाँ फारम भर्न बन्द गरिए पनि पारिवारिक पुनर्मिलनका लागि अमेरिकी सरकारले परिवारको सदस्यमार्फत आवेदन गरिने भिसाबाट आफ्ना सदस्यहरु भने लैजान सक्ने शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज साङ्पाङले बताए। पछिल्लो समय भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीमा गरी करिब ९ हजारको संख्यामा भुटानी शरणार्थीहरु रहेको यूएनएचसीआरले जानकारी दिएको छ।

अमेरिका, अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, नर्वे, बेलायत र न्युजिल्याण्डमा सन् २००८ बाट शरणार्थीहरुको पुनर्वास प्रक्रिया शुरु भएको हो। पछिल्लो तथ्याङ्कअनुसार यी देशमा १ लाख ९ हजार शरणार्थी पुगिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.