|

बाँके : राप्ती नदी आसपासका जनताले आश्वासन सुनेर थाकिसकेको बताउँदै राजनीतिक दलका नेताहरुलाई नदी नियन्त्रणको लागि स्पष्ट खाका ल्याउन सुझाव दिएका छन्। सदियौँदेखि राजनीतिक दलले आश्वासन दिए पनि समस्या समाधान हुन नसकेको लक्ष्मणपुर बाँध पीडित संघर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए।

उनले हरेक पटक हुने निर्वाचनका बेला राजनीतिक दलले राप्ती नदी डुवान, कटान र पटान समस्या समाधान गर्ने आश्वासन दिने गरेको बताए। ‘भोट माग्ने बेला आफ्नो पहिलो प्राथमिकता नदी कटान, पटान र डुवान समस्या समाधान गर्ने भन्छन्, निर्वाचनपछि अनुहार देखाउँदैनन्,’ उनले भने।

आश्वासन र प्रतिवद्धताले भोको पेट नभरिने भएकोले खोक्रो आश्वासन नबाड्न राप्ती–सोनारी गाउँपालिका–७ की उषा चौधरीले बताइन्। उनले अहिलेसम्म धेरै आश्वासन पाइसकेकोले अब आश्वासनको पछि नलाग्ने स्पष्ट पारिन्। ‘आश्वासनले भेट भरिदैन नेताज्यू अब हामीलाई आश्वासन होइन राप्ती नदी डुवान, कटान र पटान समस्या समाधान गर्ने योजना चाहिएको छ,’ उनले भनिन्।

राप्ती नदीमा आएको बाढीले बर्षेनी हजारौं विघा क्षेत्रफलमा लगाएको अन्नवाली नष्ट गर्नुको साथै धन र जनमा क्षति पुर्‍याउँदै आएको छ। यस बर्षको बाढीले ३ जनाको ज्यान लियो भने कृषितर्फ ५२ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको थियो। हरेक बर्ष आउने बाढीले ठूलो परिमाणको धन, जनमा क्षति पुर्‍याउने भएकोले आफूहरुको पहिलो माग राप्ती नदी नियन्त्रण रहेको राप्ती–सोनारी गाउँपालिका–३, लालपुरकी फुलकुमारी चौधरीले बताइन्। बाढीले घर भत्काउँदा उनका ३ छोरीको ज्यान गएको थियो। उनले राप्ती नदीबाट जोगाउन सक्ने नेतालाई भोट दिने बताइन्। ‘हामीलाई जस्तो पीडा अरुलाई नहोस्, अहिले हाम्रो भन्दा राम्रो उम्मेदवारलाई भोट दिने मनसाय बनाएका छौँ,’ उनले भनिन्।  

उम्मेदवारको चुनावी नारा : नदी नियन्त्रण

अघिल्ला निर्वाचन जस्तै बाँके क्षेत्र नं. १ र २ का प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारले राप्ती नदी नियन्त्रण र बाढीपीडितलाई सुरक्षित बासस्थानको ब्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्। बाँके क्षेत्र नं. २ का एमाले– माओवादी केन्द्रका साझा उम्मेदवार पशुपतिदयाल मिश्रले राप्ती नदी आसपासका बासिन्दाले सदियौँदेखि झेल्दै आएको समस्या समाधानका लागि पक्की तटबन्ध र पीडितलाई सुरक्षित बास स्थानका ब्यवस्था गर्ने आफ्नो प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन्।

उनले धेरै पहिलादेखि आफू राप्ती नदी पीडितको समस्याका बारेमा जानकार भएको बताउँदै उनले आफ्नो पहिलो प्राथमिकता राप्ती नदी नियन्त्रण र सुरक्षित बासको ब्यवस्था गर्ने रहेको बताए। जिल्ला विकास समितिको सभापति भएको बेला आफूले भारतसँग कुरा गरेर पक्की तटबन्धका लागि कुरा गरेको स्मरण गराउँदै उनले प्रतिनिधिसभा सदस्यमा विजयी भए भारतसँग कुरा गरेर समस्या समाधान गरिने स्पष्ट पारे। ‘नदी नियन्त्रणको प्रयास मैले पहिले पनि गरेको थिएँ, अब पनि पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्ने छु,’ उनले भने।

नेपाली कांग्रेस–राप्रपा गठबन्धन क्षेत्र नं. २ का उम्मेदवार ओमप्रकाश आजादले पनि राप्ती नदी नियन्त्रणलाई मुख्य एजेन्डा बनाएका छन्। उनले बाढीले हरेक बर्ष करोडौंको क्षति पुर्‍याउँदै आएकाले नदी आसपासका बासिन्दाको सुरक्षाका लागि पक्की तटबन्ध गरिने बताएका छन्। ‘समस्याको पहिचान गरी नियन्त्रणका लागि पहल गर्नेछु,’ उनले भने।

संघीय समाजवादी फोरम क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईले राप्ती नदी नियन्त्रणका लागि आफूले विगतमा गरेको सुरुवातलाई निरन्तरता दिने बताएका छन्। उनले आफू मन्त्री भएको बेला पक्की तटबन्ध निर्माणको माग गरेको दावी गर्दै जनताको तटबन्ध मार्फत आसपासका बासिन्दालाई सुरक्षित बनाउने अभियान आफूले थालेको बताए। ‘मेरो पहिलो प्राथमिकता राप्ती आसपासका बासिन्दालाई नदीबाट सुरक्षित बनाउने हुने छ,’ राईले भने।

बाँके क्षेत्र नं. १ का वाम गठबन्धनका उम्मेदवार महेश्वर गहतराज (अथक) ले राप्ती नदीले हजारौं विघा जमिन बगरमा परिणत भएको बताउँदै उनले राहतका लागि विशेष योजना ल्याउने बताए। उनले नदी डुवान, कटान, पटान समस्या समाधानका लागि आफूले गूरु योजना बनाइसकेको बताए। उनले आफूले गुरु योजना तयार गरेरै निर्वाचनमा होमिएको बताए। ‘नदी नियन्त्रणका लागि के के गर्ने र बगरमा परिणत भएको जमिनलाई उपयोगमा ल्याउने खाका तयार भइसकेको छ,’ उनले भने।

कांग्रेस–राप्रपाका उम्मेदवार माधवराम खत्रीले आफू राप्ती नदी पीडित भएको बताउँदै समस्या समाधान गर्ने आफ्नो पहिलो दायित्व भएको बताए। उनले आफै पीडित भएकोले समस्यासँग जानकार रहेको बताए। ‘जसको सवाल उसको नेतृत्व भने झैँ नदी नियन्त्रणको काम मेरै नेतृत्वमा हुने छ,’ उनले भने, ‘पीडा नभोगेकालाई नदी नियन्त्रणको मतलवै भएन।’

बाँके क्षेत्र नं. १ का साविक बैजापुर, विनौना, फत्तेपुर, कचनापुर, कुसुम, गंगापुर, मटेहिया गाविसका बासिन्दा राप्ती नदीबाट पीडित हुँदै आएका छन्।

उम्मेदवारको पूरानै मुद्ध

बाँके निर्वाचन क्षेत्र नं. १ र २ का प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारले राप्ती नदी नियन्त्रणलाई पहिलो मुद्धा बनाएर चुनावी मैदानमा होमिएका छन्। हरेक पटक हुने निर्वाचनका बेला राजनीतिक दल र उनीहरुका उम्मेदवारले प्रतिवद्धता गरेझैँ यसपालीको निर्वाचनमा पनि उम्मेदवारले राप्ती नदी नियन्त्रणलाई पहिलो मुद्धा बनाएका छन्। विक्रम सम्वत् २०४८ सालमा भएको आम निर्वाचन, २०५१ सालमा भएको मध्यावधि निर्वाचन र २०५६ सालमा भएको आम निर्वाचनका उम्मेदवारको मुख्य मुद्धा राप्ती नदी नियन्त्रण नै थियो।

विक्रम सम्वत् २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचन र २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनका बेला पनि राप्ती नदी नियन्त्रणले ठूलै चर्चा पाएको थियो। २०७० सालको संविधान सभा निर्वाचनका बेला तत्कालिन प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयं राप्ती नदी कटान, पटानको स्थिति बुझ्न प्रभावित क्षेत्रमा पुगेका थिए।  

यस अवधिमा राजनीतिले ठूलै कोल्टे फेरिसकेको छ। राप्ती नदीमा धेरै पानी बगिसकेको छ। नेताहरु धेरै फेरिएका छन्। तर, बाढीपीडितको पीडा कम नभएको डुडुवा गाउँपालिका ४ का रामफेरन बर्माले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.