|

भद्रपुर, (झापा) :  जंगली हात्तीले साँझ परेपछि दैनिक आहारको खोजीमा गाउँवस्तीमा प्रवेश गर्न थालेपछि भद्रपुर र बिर्तामोड नगरपालिका केही वडाबासी वर्षौदेखि पीडित छन्। हात्ती पीडित स्थानीयको दवाबपछि बुधबार भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आफूहरु हात्ती समस्याको बारेमा गम्भीर रहेको बताए। हात्ती समस्या सामाधानका लागि जिल्ला वन कार्यालयसंग सहकार्य गर्नुका साथै मन्त्रलायसम्म यस बारेमा जानकारी गराउने प्रजिअ तिवारीले बताए।

भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले चाराआली र जलथलको चारकोशे जंगलका हात्तीले भद्रपुर वडा नम्बर ४, ७, ६, ९ र १० मा आंतक मचाउँदै आएको बताए। उनले भने  ‘नगरपालिकाले यी वडासंग जोडिएका वनजंगल क्षेत्रमा सडक बत्ती लगाउनुका साथै हात्ती खेदाउन स्थानीयलाई सहयोग गर्दै आएका छौ तर हात्ती नियन्त्रण हुन सकेन।’

झापामा जंगली हात्तीको समस्या स्थानीय तहको मात्र जिम्मेवारी नभएको बताउदै उनले भने यस बारेमा राज्यपक्ष पनि गम्भीर हुनपर्ने उल्लेख गरे। विर्तामोडको वडा नम्बर ६, ७ र ८ हात्ती आतंक क्षेत्र भनेर नगरपालिकाले घोषणा नै गरिसकेको बिर्तामोड नगर प्रमुख सिवाकोटीले बताए। 'हात्ती नियन्त्रणका लागि स्थानीय तहबाट हुने सबै काम कारवाही गरिसकेको छौं, तर त्यसको प्रभाव केही परेको छैन' उनले भने।

भद्रपुरमा दिनहुँ हात्ती आतंक

भद्रपुर ९ र १० वडा दिनहुँ जंगली हात्तीले उपद्रो मचाउन थालेको छ। कात्तिक १४ गते हात्तीको आक्रमणमा परी वडा नम्बर ९ बस्ने ३७ वर्षीय दुर्गाबहादुर कटुवालको मृत्यु भएपछि नगरबासीमा त्रास फैलिएको छ। यसअघि हात्तीले भद्रपुर १० बस्ने ७० वर्षीय डम्बरबहादुर लिम्बुको ज्यान लिइसकेको छ।

चाराआली जंगलभित्र रहेका आधा दर्जन बढी जंगली हात्ती साँझ परेपछि गाउँवस्तीमा आउने गरेकाले स्थानीय पीडित बनेका छन्। धान भित्र्याउने समयले गर्दा हात्ती आतंक बढेको स्थानीय बताउँछन्। बर्षभरी खाने धानसहितको अन्नवाली हात्तीले क्षति पुर्‍याइदिएको छ। सयौं विगाहा जमिनमा लगाएको अन्नबाली समेत नष्ट गरिदिएको चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिरा पोखरेलले बताए।

अहिलेसम्म भद्रपुर ९ र १० वडाका ४७ किसानको भौतिक तथा अन्नवालीमा क्षति पुर्‍याएको पोखरेलले बताए। हात्ती नियन्त्रणका लागि जिल्ला वन कार्यालय झापाबाट कर्मचारीसहित सुरक्षाकर्मी खटिदै आए पनि पर्याप्त स्रोतसाधनको अभावले हात्ती नियन्त्रणमा हुन नसकेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.