|

जनकपुरधाम : चुनावको बेला मतदातालाई प्रभावित पार्न उम्मेदवारहरुले के सम्म गर्दैनन्? उनीहरुले घरायसी कामदेखि खेतबारीको कामसमेत गरेर मतदातालाई आकर्षित गर्ने गरेका छन्।

धान काट्ने चटारोका बीच चुनाव परेकाले अधिकांश मतदाताहरु खेतमा मात्र भेटिन्छन्। त्यसैले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार खेतमा नै गएर किसानलाई सघाउदै भोट मागिरहेका हुन्छन्। धनुषाको क्षेत्र नं. ४ मा वाम गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार नेकपा एमालेकी जुली महतो मतदातालाई रिझाउन तथा मत माग्न धान काटिरहेकै ठाउँमा पुगिन्। क्षिरेश्वरनाथ नगरपालिका हारसरमा धान काटिरहेको महिलाहरुसंग मत माग्न गएकी उनले केहीबेर कुराकानी गरिन् र धान समेत काटिन्। उम्मेदवारसँगै गएका अन्य नेता कार्यकर्ताहरुले पनि केही बेर धान काटेका थिए।

यस्तै महोत्तरीको क्षेत्र नं. २ को (ख) मा प्रदेशसभाको उम्मेदवार सूरिता साह खेतवारीमा भोट माग्दै गरेको भेटियो। अहिले विभिन्न सभा, जुलुस, घरदैलो लगायतका प्रचार–प्रसारमुखी कार्यक्रम मार्फत् सबै जसो राजनीतिक दलका नेता कार्यकर्ता मतदातालाई रिझाउन घरदैलोमा मात्रै नपुगेर खेतबारीमा समेत पुग्न थालेका हुन्। मधेसको अधिकार स्थापित गराउनका लागि खेतमै गएर मत मागेको पूर्व राज्यमन्त्री समेत रहेकी सरिता साहले बताइन्।

यो समयमा यहाँका किसानहरु गहुँ छर्न, आलु रोप्न तथा धान भित्र्याउन खेतवारीमा व्यस्त हुने भएकाले उम्मेदवारहरु खेतवारीमै पुग्ने गरेका छन्। मत माग्न घरदैलो र खेतबारीमा पुगेका उम्मेदवारहरुलाई मतदाताले विशेष गरी सडक, खानेपानी, विद्युत लगायतका मागहरु राख्ने गरेका छन्। आफ्ना मागहरु तत्कालै पुरा गर्ने उम्मेदवारलाई भोट हाल्ने महोत्तरी रामगोपुर नगरपालिका वडा नं. २ का मतदाता उर्मिला महतो बताउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.