|

दमक (झापा) :  झापामा पहिलो पटक होटलको वर्गीकरण सुरु भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरको अगुवाईमा होटलहरुको अनुगमन गरी वर्गीकरण सुरु गरिएको हो। कार्यालयका विज्ञ तथा निरीक्षकहरु सहितको टोलीले बिहीबारदेखि दमकका होटलमा अनुगमन गरी वर्गीकरण सुरु गरेको हो।

कार्यालयका क्षेत्रीय प्रमुख प्रमोद कोइराला, झापा र मोरङका खाद्य निरीक्षक, दमक नगरपालिका, होटल व्यवसायी संघ, दमक उद्योग वाणिज्य संघ, ईलाका प्रशासन, प्रहरी लगायतको संयुक्त टोलीले होटलको अनुगमन गरी चार तहमा वर्गीकरण गर्न सुरु गरेको छ। यसअघि मोरङ र सुनसरीमा यस प्रकारको अनुगमन र स्तरीकरणको काम गरिएको कार्यालयका खाद्य निरीक्षक प्रमोद अर्यालले जानकारी दिए।

झापामा भने पहिलो पटक दमकबाट यो कार्य शुरु गरिएको उनले जनाए। झापामा यो कार्यको सुरुवात दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले होटल व्यवसायी संघका अध्यक्ष राजन दंगालको होटलमा स्टिकर टाँसेर उद्घाटन गरेका हुन्।

कसरी वर्गीकरण गरिएको छ होटल?

होटललाई चार तहमा वर्गीकरणका लागि ५० वटा सुचकहरु तय गरिएको छ। सरसफाइ, व्यवस्थापन, पकाउने ठाउँ, औजार, उपकरणको अवस्था, मानवीय सरसफाइ, सेवा प्रवाह, शौचालय तथा खानेपानी, खाद्य तथा अखाद्य वस्तुहरुको व्यवस्थापन लगायतका विषय समेटिएको ५० वटा सूचकहरु तय गरिएको अनुगमन टोलीमा सहभागी खाद्य निरीक्षक दिनेश ढुंगानाले जानकारी दिए।

ती सूचकहरु पूरा गरेको आधारमा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार प्रकारका वर्गीकरण गरिनेछ। वर्गीकरण गरिएको पहिचान देखिने गरी स्टिकर अनुगमन टोलीले नै होटलमा टाँस्नेछन्। जसमा अति उत्तमलाई ३ तारा, उत्तमलाई २ तारा र सन्तोषजनकलाई १ तारा सहितको हरियो रंगको स्टिकर प्रदान गरिएको छ। गुणस्तर, सरसफाइ तथा व्यवस्थापनमा निक्कै सुधारको खाँचो देखिएको सामान्य होटलमा भने तारा बिनाको पहेँलो स्टिकर लगाइएको छ।

स्तरीकरणको पनि अवसर

होटल सञ्चालकहरुले आफ्नो होटललाई अनुगमन टोलीले स्टिकर टाँस गरेर गइसकेपछि समेत स्तरीकरणको अवसर भने पाउनेछन्। यसका लागि स्तरीकरणका लागि आवश्यक पर्ने सूचकहरुमा सुधार गरी कार्यालयमा निवेदन दिन सक्ने खाद्य निरीक्षक अर्यालले बताए। होटल सञ्चालकको निवेदन पछि पुनः अनुमगन टोली आएर सुधार भएको पाइएमा सुधारको आधारमा नयाँ स्टिकर लगाइदिने जनाइएको छ। सरकारी अनुगमन टोलीले अनुगमन गरेपछि वर्गीकरणमा स्तरीय पाइएका होटलले वस्तु तथा सेवामा मुल्यवृद्धि भने गर्न नपाइने उनले जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.