|

चितवन : दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चितवनमा यसपटक स्वयंसेवक सहित ४ हजार ८८६ जना कर्मचारी खटाइने भएको छ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार यहाँ कुल १६१ मतदातन स्थलमा १ हजार ६२७ जना स्वयंसेवक तथा ३ हजार २५९ जना कर्मचारी गरेर ४ हजार ८८६ जना खटाउन लागिएको हो। कार्यालयका प्रमुख हरि ढकालले खटाइने कर्मचारीहरुको नामावली संकलन भइरहेको जानकारी दिए।

उनका अनुसार कुल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्रका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृत ८१६ जना, सहायक कर्मचारी १ हजार ६२७ र कार्यालय सहयोगी ८१६ जना खटाइनेछ। स्वयंसेवकहरु भने मतदान अधिकृतले नै नियुक्ति गर्ने छन्।

यसपाली तीन निर्वाचन क्षेत्र मध्य क्षेत्र नम्बर १ मा १ हजार ६४०, क्षेत्र नम्बर २ मा १ हजार ४५८ र क्षेत्र नम्बर तीनमा १ हजार ७८८ जना कर्मचारी र स्वयंसेवक खटाइने निर्वाचन अधिकारी ढकालको भनाइ छ।

उनले जिल्लामा ६६ प्रकारका निर्वाचन सामाग्रीहरु आउनुपर्नेमा अहिलेसम्म १७ प्रकारका सामाग्रीहहरु आइपुगेको र अरु आउने क्रम जारी रहेको जानकारी दिए। निर्वाचनमा जिल्लाका ३ लाख ५४ हजार ३६ मतदाता सहभागी हुँदैछन्। स्थानीय तहको निर्वाचन भन्दा यस निर्वाचनमा ४१ हजार ३३ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए।

चितवनमा प्रतिनिधिसभातर्फ सबैभन्दा बढी क्षेत्र नम्बर ३ मा मतदाता रहेका छन्। यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं. ६, ८, ९, १३ देखि २८ र माडी नगरपालिका रहेको छ। यस क्षेत्रमा कुल एक लाख २५ हजार ८ सय १८ मतदाता रहेका छन्।

यस्तै क्षेत्र नम्बर १ मा एक लाख १९ हजार ९ सय ९८ मतदाता रहेका छन्। क्षेत्र नम्बर १ मा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछन्। क्षेत्र नम्बर २ मा एक लाख ८ हजार २ सय १९ मतदाता रहेका छन्। यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं. १ देखि ५, ७, १०, ११, १२ र २९ वडासँगै, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्दछन्।

जिल्लामा ९ सिटका लागि ९५ जनाको उम्मेदवारी परेको छ। वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको कडा प्रतिस्पर्धा हुने देखिएको छ। अरु उम्मेदवारहरु ओझेलमा परेका छन्। अहिले उम्मेदवारहरु चुनावी प्रचार अभियानमा घरदैलोमा सक्रिय छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.