'जान पाए नेतालाई व्यथा सुनाउन हुन्थ्यो'

|

काठमाडौं : रामेछाप नगरपालिका–८ का समरबहादुर नेपाली (५६) ले नयाँ बानेश्वर चोकको फुटपाथमा लुगा सिलाएर बसेको ५ वर्ष भयो। यो समयमा देशमा दुईवटा चुनाव भयो, दुबै पटक उनी भोट हाल्न गाउँ गए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मतदान गर्न गाउँ गएका उनी गएको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि श्रीमतीसहित भोट हाल्न घर पुगे। 

तर मंसिर २१ गते हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा भने भोट हाल्न जाने कि नजाने उनी अन्योलमा छन्। ‘भोट हाल्न जाने मन त थियो नि। तर एक दिन भोट हाल्न जानलाई आफ्नो छाक नै छाड्नुपर्ने अवस्था आउँछ’,उनले भने। आफ्ना प्रतिनिधि चुन्ने अवसर पाउँदा पनि जान नपाउने हुँदा धेरै दुख लागेको उनी बताउँछन्। ‘एक दिन भोट हाल्न जान भनेर हिँड्यो। चार दिन जति उतै बित्छ। यहाँ दिनैपिच्छे घरको भाडा तिर्नुपर्छ। त्योत्रो दिनमा एक रुपैयाँ पनि कमाई हुँदैन। त्यसैले यस पटक नजाने सोचमा छु’,नेपालीले भने।

यस पटक आफू जान नपाए पनि घरमा रहेका छोरी र दुई बुहारीलाई राम्रा उम्मेदवारलाई छानेर भोट हाल्न लगाएको नेपालीले बताए। उनले भने,‘आफ्नो देश बनाउने कुरा हो। त्यसैले भोट त हाल्नुपर्छ। मैले हाल्न नपाए पनि मेरी छोरी र बुहारीलाई भोट हाल्नु भनेको छु। कुनमा हालौं भन्दै थिए राम्रो मान्छे छानेर हाल्नु भनेको छु।’

३० वर्षदेखि नयाँ बानेश्वर चोकमा नै पुराना जुत्ता सिलाएर बस्दै आएका सर्लाही पिपरियाका महेन्द्र राय यसपटक भोट हाल्न जाने सोचमा छैनन्। २०४८ सालमा गाउँ गएर भोट हालेका उनले त्यसयताका चुनावमा भने भोट हालेका छैनन्। वर्षमा एक पटक घर पुग्ने रायले मतदाता नमावलीमा नाम दर्ता पनि गराएका छैनन्। ‘पहिला त नागरिकताले मात्र पनि हुन्थ्यो। अहिले त खोई के को पत्र चाहिन्छ भन्दा रहेछन्। बनाएको पनि छैन त्यसैले भोटहाल्न जान्न' उनले भने 'अस्ती पनि गइन।’ उनले मत हालेर पनि नेताहरुले गरिब दुःखीका लागि काम नगरेको बताए। राय भन्छन्,‘नेताको चाल देखेकै हो। हामी गरिबका लागि केही गर्ने होइन। बरु उल्टै यहाँ बसेको ठाउँबाट पनि निकाल्न खोज्छन्। भोट दिएर के गर्नु र?’

नयाँ बानेश्वर चोकमा नै साग बेचिरहेकी काभ्रे ६५ वर्षकी देवकी परियारलाई भोट हाल्न गाउँ जाने कि नजाने भनेर सोध्दा भक्कानिइन्। उनले १५ वर्षअघि काठमाडौं आउँदाको समय सम्झिन्। ‘के गर्नु गाउँ छाडेर आउने मन त थिएन। तर बाध्यताले आनुपर्‍यो।’ १५ वर्षअघि उनको श्रीमानलाई क्यान्सर भयो। उपचार गर्न भएको सबै सम्पति बेचेर राजधानी आए उनीहरु। तर उनको श्रीमानको रोग निको भएन। अहिले देवकी काठमाडौंमा नै साग बेचेर एक्लो जीवन जिउँदैछिन्। ‘भएको सबै सम्पति बेचियो। उहाँ पनि बित्नुभयो। तर अहिले पनि वर्षमा एक पटक त पनौतीसम्म पुग्छु। त्यहीँबाट वृद्धभत्ता लिने गरेको छ। भोट लिस्टमा पनि नाम छ। तर भोट हाल्न जाने पैसा छैन’ उनले भनिन्।

भोट हाल्न पाए त आफ्ना प्रतिनिधिलाई आफ्नो समस्या सुनाउन पाउने आशा उनमा छ। ‘भोट हाल्न जान पाए त नेतालाई मेरो कुरा सुनाउन पाउथेँ होला’ उनले भनिन्,‘उहाँहरुले हामी जस्तै गरिबको समस्या समाधानमा केही चासो देखाउनुहुन्थ्यो होला। तर जान नपाइने भयो।’

नयाँ बानेश्वर चोकको फुटपाथमा बदाम बेच्दै गरेकी सिन्धुपाल्चोककी ७० वर्षीया बृद्धा विष्णुदेवी तिमिल्सिनाले भने अहिलेसम्म एक पटक मात्र भोट हालेकी छन्। तर कहिले हालेको भन्ने उनलाई याद छैन। उनी भन्छिन्,‘म काठमाडौं आउँदा ४० वर्षकी थिएँ होला। तर त्यहाँदेखि गाउँतिर गएकी छैन। यस पटक त भोट हाल्ने मन थियो। तर नागरिकताले मात्र नहुने रहेछ। हुन त भोट पनि के हाल्नु र हामीलाई नेताले के गरे र? हाम्रै अगाडिबाट चिल्लो गाडीमा हिँड्छन्। हामी यसरी बसेको देख्दैनन्।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.