'नेपाली कम्युनिस्ट फरक र क्युबा अनि नर्थ कोरियाको फरक भन्ने हुँदैन'

|

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा देश होमिइरहेका बेला उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन्। नेताहरु जनताको घरदैलोमा पुगिरहेका छन् भने जनता कुन नेतालाई भोट दिँदा उपयुक्त होला भनेर सबैका कुरा सुनिरहेका छन्। बिहीबार नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री राजन केसी काठमाडौं क्षेत्र नम्बर १० को कीर्तिपुर नगरपालिकास्थित नयाँ बजारमा चुनावी तयारीका लागि अगुवा कार्यकर्ता र शुभचिन्तक भेला गर्न पुगेका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पराजित गरेका उनी अहिले वाम गठबन्धनबाट माओवादी नेता हितमान शाक्यका प्रतिस्पर्धी बनेका छन्। मन्त्री केसीसँग चुनावी तयारी र उनका एजेन्डाबारे थाहाखबरका जयसिंह महराले गरेको कुराकानी:

देशमा चुनावी सरगर्मी बढिसक्यो, तपाईंको चुनाव प्रचार कसरी अघि बढेको छ? 

हामीले संगठनात्मक रुपमा तयारी सुरु गरेका छौं। दक्षिणकाली नगरपालिका, कीर्तिपूर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको केही भाग पर्ने यस निर्वाचन क्षेत्रमा कांग्रेसका ४९ इकाइ छ। ती इकाइलाई लिएर प्रचारप्रसार समिति बनेको छ र द्रुत गतिमा तयारी भइरहेको छ। 

घरदैलो अझै सुरु भएको छैन?

घरदैलो भोलिदेखि सुरु गर्नेगरी तयारी पूरा भएको छ। 

अनौपचारिक रुपमा मतदाताको सम्पर्कमा हुनुहुन्छ होला, चुनावबाट जनताले के खोजेका छन्?

जनताको आशा त मुलुक अब समृद्ध होस्। अब कुनै पनि राजनीतिक क्रान्तिको अभियान समाप्त भएको छ। मुलुक समृद्धिको अभियानतिर लागेको छ र, नेपाली कांग्रेसले त्यो अभियानको नेतृत्व लेओस् भन्ने जनताको चाहना छ। स्थानीय विकास निर्माणका पूर्वाधार, स्वास्थ्य, शिक्षा, महिलाको उत्थान, रोजगारका सम्बन्धमा पनि कांग्रेसले काम गरोस्, समग्र रुपले मुलुकको समृद्धिको नेतृत्व गरोस् भन्ने चाहना छ। 

जनताका आशा तपाईंले २०७० सालमा जित्ने बेलाका भन्दा कति फरक पाउनुभएको छ?

त्यतिबेलाका आशा र अहिलेका यथावत छैनन्। मैले यस निर्वाचन क्षेत्रमा करिब ८ सय वटा योजना सञ्चालन गरेको छु। पूर्वाधारका सम्बन्धमा जनताको त्यति ठूलो गुनासो छैन। जनताको एउटै भनाइ छ, नेपाली कांग्रेसको नेतृत्वमा देशले राजनीतिक क्रान्ति गरेको छ, अब समृद्धिको क्रान्तिमा कांग्रेसले नेतृत्व लेओस्। जनताले यो गठबन्धन (वाम गठबन्धन) लाई मन पराएका छैनन्। 

अहिले तपाईंको प्रतिस्पर्धीका रुपमा वाम गठबन्धनबाट माओवादी नेता हितमान शाक्य हुनुहुन्छ, कस्तो प्रतिस्पर्धीको रुपमा लिनुभएको छ उहाँलाई?

उहाँको लोकतन्त्रप्रतिको प्रतिवद्धतामा मलाई शंका छ। अत्यन्त चिन्ता पनि छ। २०७० सालमा हामी दोस्रो संविधानसभाको चुनाव गर्दैगर्दा हितमानजी 'यो चुनाव धोका हो, संसदीय व्यवस्था धोका हो, चुनावको भन्डाफोर गरौं', भनेर प्रचण्डको फोटोमा कालोमोसो दल्दै हिँड्नुहुन्थ्यो। त्यसकारण पनि लोकतन्त्रप्रतिको उहाँको प्रतिवद्धता आस्थामा मलाई शंका छ। अत्यन्त चिन्ता छ। जनताले पनि यहीँ चिन्ता व्यक्त गरिरहेका छन्। 

'अहिले प्रचण्डलाई पराजित गर्नेसँग बदला लिन्छु' भनेर चुनावी मैदानमा हुनुहुन्छ त?

उहाँले त बदला लिनुहोला तर जनताले दिँदैनन्। उहाँले लिन खोज्नुभएको होला तर जनताले दिँदैनन्। 

कांग्रेस किन वाम गठबन्धनप्रति यति आक्रामक र आलोचनात्मक भएको हो?

यो मुलुकमा कम्यनिस्ट शासन आउँछ कि? एकदलीय अधिनायकवाद आउँछ कि भन्ने आशंका हामीलाई छ। लोकतन्त्रको माध्यमबाट मुलुकको विकास हुन्छ, जनताको स्वतन्त्रताको रक्षा हुन्छ र जनताको अधिकार लोकतन्त्रबाट आउँछ भन्ने कांग्रेसको मान्यता हो।

त्यो विपरीत फेरि कम्युनिस्टहरु यो मुलुकमा संसारबाट तिरस्कृत भएको, बहिस्कृत भएको यो कम्युनिस्ट व्यवस्था नै मुलुकमा आउँछ कि भनेर कांग्रेस आक्रामक भएको हो। 

नेपाली कम्युनिस्टहरुको आचारण हेर्दा कांग्रेस आक्रामक भइहाल्नुपर्ने अवस्था छ र? उसको लोकतन्त्रप्रतिको प्रतिवद्धताको आलोचना गर्नभन्दा आफ्ना एजेन्डा लिएर जनतामा जानुको सट्टा?

कम्युनिस्ट फिलोसफी (दर्शन) भनेको एउटै हुन्छ। नेपाली कम्युनिस्ट फरक र क्युबा, नर्थ कोरियाको कम्युनिस्ट फरक भन्ने हुँदैन। कम्युनिस्ट दर्शन भनेको पनि एउटै हो। संसारमा भएका डेमोक्रेटिक शासन पद्धति, मूल्य, मान्यता एउटै हुन्छ। हामीले छुट्टै प्रतिपादन गरेका होइनौं। लोकतन्त्रको माध्यमबाट मुलुकको विकास हुने, जनताको स्वतन्त्रताको रक्षा हुने र जनताको अधिकार लोकतन्त्रबाट आउँछ भन्ने कांग्रेसको मान्यता हो। 

नेपालका कम्युनिस्ट पार्टीहरुको उम्राइ र हुर्काइ त कांग्रेससँगै भयो नि होइन र?

उम्राई र हुर्काइसँग होन मुख्य कुरो त दर्शन हो नि त। हामी त दर्शनको कुरा गर्ने हो नि त। हुर्काइमा कम्युनिस्ट दर्शन एउटा हो लोकतान्त्रिक दर्शन अर्को हो।नेपाली कम्युनिस्ट र नर्थ कोरियाका कम्युनिस्टको दर्शन एउटै हुन्छ। डेमोक्रेसी पनि एउटै हो, अमेरिकामा हुने डेमोक्रेसी र नेपालमा हुने डेमोक्रेसी र बेलायतमा हुने डेमोक्रेसी पनि एउटै हो। डेमोक्रेसीमा जनताको अधिकार सुरक्षित हुन्छ। जनता स्वतन्त्र हुन्छन्। स्वतन्त्रतापूर्वक आफ्नो वृत्ति विकास गर्छन्। निर्भिकताका साथ आफ्नो व्यवसाय गर्छन्।  

अहिलेको चुनावमा पनि कांग्रेसले वाम गठबन्धनको लोकतन्त्रप्रतिको प्रतिवद्धताप्रति आशंका गर्ने र वाम गठबन्धनले सफाइ दिँदै जाने, फेरि पनि जनताका विकास र समृद्धिका कुरा ओझेलमा पर्ने हुन् कि!

होइन होइन, अब समृद्धिमा गयो मुलुक। यो समृद्धिको अभियानमा नेपाली कांग्रेसले नेतृत्व लिन्छ। आफ्नो घोषणापत्रमार्फत यी कुरा जनतासँग अपिल गरिसककेको छ। नेपाली कांग्रेसले इतिहासमा जहाँ जहाँ गाह्रो पर्छ त्यो बेला मुलुकको नेतृत्व गरेको छ। २००७ सालकै कुरा गरौं, २०४६ सालकै कुरा गरौं, २०६२/६३ को आन्दोलनकै कुरा गरौं। संविधानसभाकै कुरा गरौं न, २०६४ सालमा संविधानसभा चुनाव गर्दा नेपाली जनताले कम्युनिस्टलाई ठूलो पार्टी बनाइदिएको हो नि। दुई वर्षको कार्यकाल लिएर चार वर्ष समय थप्दा पनि चारचार जना कम्युनिस्ट प्रधानमन्त्री हुँदा पनि आएन नि त संविधान। संविधान नेपाली कांग्रेसको बनाउनुपर्‍यो नि। अबको अभियान भनेको समृद्धिको अभियान हो, नेपाली कांग्रेसले नेतृत्व गर्छ त्यसका लागि नेपाली जनताले नेपाली कांग्रेसलाई भोट हाल्छन्। 

कुरा बदलौं, १० नम्बर क्षेत्रका लागि तपाईका विकासका एजेन्डा के के छन्? अबको ५ वर्षमा के के गर्नुपर्ने देख्नुहुन्छ?

समग्रतामा मैले विकासको अभियान थालेको छु। स्वास्थ्य, शिक्षा, खानेपानीमा विकासको अभियान सञ्चालन गरेको छु। करिब करिब ६०-७० प्रतिशत काम अगाडि बढिसकेको छ। त्यो अभियानकै निरन्तरता हो भन्ने जनतालाई  थाहा छ। १० नम्बर क्षेत्रको पूर्वाधार, स्वास्थ्य, शिक्षादेखि लिएर तमाम कुरा छन्। मेरो अभियान कीर्तिपूरलाई र १० नम्बरलाई सुन्दर पर्यटकीय क्षेत्र बनाउने हो। 

यहाँ कृषिमा धेरै विकास गर्न सक्दैनौं। विद्युत उत्पादन गर्न सक्दैनौं। पर्यटन विकासको सम्भावना बोकेको १० नम्बर क्षेत्र, विशेष गरेर कीर्तिपूरको नेवार जातीहरुको संस्कृति र सम्पदालाई संरक्षण गरेर पर्वर्द्धन गरेर पर्यटकीय क्षेत्र बनाउने मेरो अभियान छ। त्यसको सुरुवात भइसकेको छ। 

यो विविधताले भरिएको क्षेत्र हो चाहे जातीय होस् या सांस्कृतिक, यसलाई कसरी विकसित र समृद्ध पार्ने र एकतावद्ध राख्ने योजना छन्?

नेपाल नै विविधताले भरिएको देश हो। भौगोलिक, सांस्कृतिक, भाषिक, जातीय विविधता नेपालको विशेषता हो। अनेकताको बीचको एकता नेपाल हो। यसलाई सबै जाति, भाषा र धर्मलाई त अत्यन्त सम्मान गरेर सबैको विकास गरेर सबै जाति र भाषालाई सम्मान र विकास गरेर अगाडि बढ्ने हो। त्यहीँ नै हाम्रो पहिचान हो। त्यसलाई मैले बुझेको छु। 

म यहीँको भूमिपुत्र हुँ। मलाई थाहा छ सबै जातिको, भाषाको र सम्प्रदायको उच्च मूल्यांकन गर्दै नेपालको अनेकताको बीचको एकता कायम गर्दै उच्च सम्मान कायम गर्दै नेपालको पहिचानलाई अगाडि बढाउने हो। त्यो मैले बुझेको छु।

पूराना सम्पदा छन् जस्तो कि विश्व सम्पदा सूचीमा परेको बाघ मैरव मन्दिर छ। उमामहेश्वर लगायत सबै छन् र तिनको सम्वर्द्धन हुँदैछ। यहाँका संस्कृति संस्कार सम्पदा मठ मन्दिर देवालय सबैलाई संरक्षण प्रवर्द्धन गरेर यो ठाउँलाई सुन्दर पर्यटकीय क्षेत्र बनाउने मेरो अभियान हो। 

यो क्षेत्रका समस्याहरु के हुन्?

यहाँ समस्यै समस्या छन्। बेरोजगारी छ खानेपानीको समस्या छ। घना बस्तीका कारणले केही समस्या भएको छ। हाम्रो सुन्दरीघाटबाट पानी आइरहेको छ। मेलम्चीको पानी आउने तयारीमा छ। अब केही समयमा समस्या समाधान हुन्छ। 

निर्वाचित भएपछि नेताहरु जनताकोमा आउँदैनन् भन्ने गुनासो हुन्छ, तपाईलाई के भन्छन् मतदाता?

मेरो त धेरै आयो भनेर गाली गर्छन्, सोध्नुस् न! धेरै नै आयो, हरेक दिन किन आएको होला सांसद भएर मन्त्री भएर पनि भन्ने छ। 

यसरी धेरै जनताको घरदैलोमा जादा जनताका गुनासा के हुन्छन्? 

गुनासो मसँग केही छैनन्। जनता प्रशन्न छन्, खुसी छन्। सधैं आउने, सधैं विकासको कुरा गर्ने भएकोले जनता त अत्यन्तै खुसी छन्। 

जातीय रुपमा भोट पर्ने सम्भावना कत्तिको छ? 

त्यस्तो हुँदैन। यदि त्यसो हुन्थ्यो भने पहिले पनि जित्थे नि! कीर्तिपुरका जनताहरु जाति, भाषा, धर्मको प्रति आश्था हुन्छ। तर, जातीयता, धर्म, भाषाका आधारमा मतदान हुँदैन। दर्शनका आधारमा भोट दिन्छन्।

जीतलाई निरन्तरता दिन्छु भन्ने आशा कत्तिको छ? 

हन्ड्रेड पर्सेन्ट (शत प्रतिशत), त्यसमा कुनै शंका नै छैन। जनता त मलाई कन्टिन्यू गर्न (निरन्तरता दिन) चाहन्छन्।

यो पनि पढ्नुहोस्: 

प्रचण्डलाई पराजित गर्ने राजनसँग बदला लेलान् हितमानले?, भन्छन् : मतदाताको सहानुभूति मप्रति छ, राजनको क्षमताले प्रचण्ड पराजित भएका थिएनन्

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.