|

धनकुटा : प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चर्चा यतिबेला जिल्लाका चियापसलदेखि सहर, गल्ली र ग्रामीण बस्तीसम्म पुगेको छ। प्रतिनिधिसभा निर्वाचनका लागि एउटामात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा दुई गठबन्धन सहित छ राजनीतिक दलले उम्मेदवारी दिएको छ।

त्यसमध्ये मुख्य प्रतिस्पर्धी दुई जनामात्र छन्। वाम गठबन्धनबाट एमाले जिल्ला अध्यक्ष राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा उद्योग मन्त्री सुनिलबहादुर थापा चुनावी मैदानमा छन्। यी दुवै जना जिल्लाको पाख्रिबास नगरपालिकाका स्थायी बासिन्दा हुन्। राईलाई नेकपा माओवादी केन्द्रको समर्थन छ थापालाई नेपाली काङ्ग्रेस र संघीय समाजवादी फोरमको समर्थन छ।

थापा लामोसमयसम्म धनकुटाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा स्थान बनाएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्। त्यसो त २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पनि राई र थापा प्रतिस्पर्धामा थिए। त्यतिबेला झिनो मतान्तरले पराजित भएका राई यसपटक बदला लिने दाउमा छन्। थापालाई भने बाबुको साख जोगाउन पनि जित दोहोर्‍याउनुपर्ने दबाव छ।

गत स्थानीय तहको निर्वाचनमा धनकुटा जिल्लाका सबै स्थानीय तहमा नेकपा एमालेले जित हासिल गरेको थियो। अझ एमालेलाई माओवादी केन्द्रले साथ दिएकाले थापाका लागि चुनाव सहज छैन। एमालेपछि जिल्लामा बलियो शक्ति कांग्रेससँगको सहकार्यका कारण पनि थापा पनि बलियो छन्।

एमाले जिल्ला नेतृत्वमा दुई कार्यकाल बिताएका राई र हालै राप्रपाबाट विभाजित राप्रपा प्रजातान्त्रिकको महामन्त्री थापाबीच प्रचार प्रसारमा पनि प्रतिस्पर्धा छ। सबै दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएको खण्डमा स्थानीय तहको निर्वाचनको नतिजाले एमालेको पल्ला भारी देखाए पनि दुवैतिर गठबन्धन र आ–आफ्नै चुनावी रणनीतिका कारणले नतिजा पूर्वानुमान गर्न कठिन छ।

यस्तै प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र भएको धनकुटामा वाम गठबन्धनबाट प्रदेश सभा क्षेत्र नम्बर १ मा एमालेका निरन राई र क्षेत्र नं. २ मा एमालेकै इन्द्रमणि पराजुली उम्मेदवार छन्। यस्तै लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नं. १ मा कांग्रेसका मनोहरनारायण श्रेष्ठ र क्षेत्र नं. २ मा संघीय समाजवादी फोरमका अर्जुन थापा उम्मेदवार छन्। दुवै गठबन्धनका चार उम्मेदवार नै जिल्लामा चर्चित अनुहार हुन्।

कात्तिक १६ गते उम्मेदवारी दर्ता गरेपछि प्रतिनिधिसभाका उम्मेदवार राई र थापा तथा प्रदेशसभाका उम्मेदवारसहित अहिले आआफ्नो पक्षमा मत बटुल्न घरदैलो कार्यक्रममा व्यस्त छन्।

उम्मेदवारहरुले आफू विजयी भए धनकुटालाई प्रादेशिक राजधानी बनाउने र विकासका कामलाई प्राथमिकता दिने घोषणा गरेका छन्। उनीहरुले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली, रोजगारमुलक कामको आश्वसन दिइरहेका छन्।

कस्ता छन् उम्मेदवार?

राजेन्द्र राई  : वाम गठबन्धन

धनकुटाको मुगा गाउँ (हाल पाख्रिबास नगरपालिका) मा २०२२ साल भदौ २९ गते जन्मिएका राजेन्द्र राई धनकुटा सदरमुकामको माथिल्लो गोकुडेश्वर माविमा पढ्ने क्रममा अनेरास्ववियुमा सङ्गठित भए। ०३६ सालमा काठमाडौंको चावहिलमा अनेरास्ववियुको एकताको पाँचौ राष्ट्रिय सम्मेलनमा उनले देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधिका रूपमा सहभागी भए। त्यतिबेला आठ कक्षामा मात्रै पढ्दै थिए।

राईले ०४२ सालमा माथिल्लो गोकुण्डेश्वरबाट एसएससी दिएलगत्तै पूर्णकालीनरूपमा राजनीतिमा होमिए। २०४७ सालमा अनेरास्ववियुको धनकुटा जिल्ला अध्यक्ष भएका उनले एमालेको युवा संगठन तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनमा पनि काम गरे। २०४९ मा जिविस सदस्य निर्वाचित भएका उनी २०५१ मा जिविस उपसभापति निर्वाचित भए।

त्यसपछि पार्टीको सचिवालय सदस्य, किसान महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय कफी तथा चिया विकास बोर्डको उपाध्यक्ष जिम्मेवारी पनि सम्हाल्ले। २०६६ असारमा भएको जिल्ला अधिवेशनबाट उनी एमालेको धनकुटा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए। हाल उनी दोस्रो कार्यकालमा अध्यक्षको जिम्मेवारीमा छन्। स्थानीय तहको निर्वाचनमा ७ वटै तह आफ्नो पार्टीलाई जिताएर धनकुटालाई लालकिल्ला बनाएर एमाले अध्यक्ष केपी ओलीबाट म्यान अफ दि इलेक्सनको उपाधी पाएका राई अहिले  वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका छन्।

सुनिलबहादुर थापा : लोकतान्त्रिक गठबन्धन

२०१६ सालमा धनकुटाको तत्कालीन मुगा गाविस वडा नम्बर ४ (हालको पाख्रिबास नगरपालिका) मा जन्मिएका उद्योग मन्त्री सुनिलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा छोरा हुन्। दुई पटक मन्त्री भइसकेका थापाले नेपाल, भारत र अमेरिकाबाट स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका छन्। २०३२ सालमा पद्मोदय मावि काठमाडौबाट एसएलसी, २०३५ सरस्वती बहुमुखी क्याम्पस काठमाडौबाट प्रवीणता प्रमाणपत्र तह, २०३७ गुजरात विश्वविद्यालय भारतबाट स्नातक तह र २०४० क्यालिफोर्निया अमेरिकाबाट स्नातकोत्तर तहसम्म अध्ययन गरेका हुन्।

२०३८ सालदेखि २०७० सालसम्म देश तथा विदेशका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा जागिरेको रुपमा काम गरेका थापाले स्वदेश तथा विदेशमै २०३५ देखि २०४५ सम्म विभिन्न संघसंस्थाको नेतृत्व गरेको पनि गरिसकेका छन्। २०६९ सालमा राष्ट्रिय जनशक्ति पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थापा सुरुमै राष्ट्रिय जनशक्ति पार्टीको केन्द्रीय सदस्य भएका थिए। बाबु सूर्यबहादुरलाई साथ र सहयोगको लागि भन्दै राजनीतिमा लागेका थापा आफूले राजनीतिक प्रेरणा बाबुबाट नै पाएको बताउँछन्।

२०७० मा राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता पछि बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचित भए। २०७० सालमा भएको संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी २०७१ सालमा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए। थापाले २०७० सालमा धनकुटाका वासिन्दासँग गरेको वाचा पूरा गरेको दावी गर्छन्। २०७३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकमा लागेका थापा मनोनीत महामन्त्री भएका छन्। हाल उनी उद्योग मन्त्रीको जिम्मेवारीमा रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.