|
फाइल फोटो थाहाखबर

दमकः झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा चर्च व्वाइजलाई पाखा लगाउँदै आयोजक सतासीधाम स्र्पोटिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

राष्ट्रिय खेलाडीहरू अनन्त तामाङ, बिमल घर्तीमगर, सुनिल बल, विशाल श्रेष्ठलगायत सम्मिलित आयोजकको टिमले चर्च व्वाइज काठमाडौंलाई ३-० गोल अन्तरले हराएको हो। हाफ टाइमसम्म कुनै गोल नभएको बेला जर्सी नं. १० का बिमल घर्तीमगरले दोस्रो हाफको ९औँ मिनेटमा जर्सी नं. ११ का खेलाडी तीर्थ बस्नेतको सुन्दर क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए। 

त्यसैगरी खेलको ६६औँ मिनेटमा अन्दाजी १५ यार्डको दूरीबाट आयोजकका जर्सी नं. १५ का सुनिल बलले फ्रि किक गरेको प्रहार चर्च व्वाइजका किपरले जज गर्न नसकेपछि पोष्टको दिशा लिएको थियो। तेस्रो गोल भने ७१औँ मिनेटमा बिमलले चर्च व्वाइजका तीन खेलाडीलाई कटाएर गोल गरेर चमत्कार गरेका थिए। 

सुरुवातदेखि नै आक्रामक शैलीमा उत्रिएको आयोजकले तीन विदेशी खेलाडीसहित मैदानमा आएको चर्च व्वाइजलाई नियन्त्रणमा राखेको थियो। 

खेलको म्यान अफ द म्याच आयोजकका बिमल घर्तीमगर भए। उनले म्यान अफ द म्याच स्पोन्सर महालक्ष्मी प्रा.लि. आइटेल टेक्नोमोबाइल कम्पनीमार्फत नगद १० हजार रुपैयाँ प्राप्त गरे। 

शुक्रबार हुने खेल मोरङ ११ र रूपन्देही ११ बीच हुने आयोजक समितिका योगेन लावतीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.