|

भरतपुर: वाम गठबन्धनका शीर्ष नेताहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा स्थिरता र समृद्धिको युग आउने बताएका छन्।

बुधबार स्याङ्जाको पुतलीबजार, स्याङ्जाको वालिङ, बाग्लुङको गल्कोट र पर्वतको कुस्मा बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेताहरूले उक्त कुरा बताएका हुन्। सभालाई सम्बोधन गर्दै नेताहरूले पुसको पहिलो साता बामपन्थीको बहुमतको सरकार बन्ने दाबी पनि गरे।

वीपीले आवेसमा समाजवाद भनेका थिएनन्: प्रचण्ड
'नेपाल जहिले पनि राजनीतिक अस्थिरताको भुमरीमा फस्यो। २००७ सालदेखिको राजनीतिक स्थिरता र विकासको चाहना अधुरै रह्यो। हामी त्यसको अन्त्य चाहन्छौँ, समृद्ध नेपाल चाहन्छौँ, संविधानमा व्यवस्था भएको समाजवादको यात्रामा अघि बढ्न चाहन्छौँ, चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, 'अहिले कांग्रेसका नेताहरूले सेन्टिमेन्टमा आएर वीपीले समाजवाद भने भन्न थालेका छन्। वीपीले आवेसमा समाजवाद भनेका थिएनन्। कांग्रेस वीपीको आदर्शबाट नराम्रोसँग चिप्लिएको छ।'

कम्युनिष्ट मिल्दा कांग्रेसका नेताहरू आत्तिनुपर्ने कुनै कारण नभएको भन्दै प्रचण्डले भने, 'तपाईंहरू पनि महन्थ ठाकुर, राजेन्द्र महतोहरूलाई मिलाउनुस्। नेपालमा धेरै पार्टी आवश्यक छैन।' गल्कोटमा आयोजित सभामा प्रचण्डले नेपालमा कम्युनिष्ट र कांग्रेसबीच लोकतान्त्रिक प्रतिस्पर्धा गरेर विकास र समृद्धिका लागि प्रतिस्पर्धा गर्न आग्रहसमेत गरे।

'राजनीतिक स्थिरता र स्थिर सरकारका लागि प्रतिस्पर्धा गरौँ। के त्यसमा तपाईंहरू डराउनुभएको हो? आत्तिनुभएको हो?', उनले भने, 'तपाईंहरूले नेपालमा धेरै वर्ष शासन गर्नुभयो तर राष्ट्रिय उद्योगहरू कौडीको मूल्यमा बेचिए। विकास आयोजना ठप्प भए। अहिले आएर फेरि राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी रोक्नुभयो। चुनावमा यसको मूल्य तपाईंहरूका लागि चर्कै पर्नेछ।'

उनले राप्रपासँगको कांग्रेसको तालमेलप्रति लक्षित गर्दै भने, 'गिरिजाबाबू जीवित भए हलो बोकेर हिँड्नुहुने थिएन। राजावादी पार्टीलाई काँधमा बोक्नु हुने थिएन। अहिलेको कांग्रेसले गिरिजाको आदर्श बिर्स्यो।' प्रचण्डले कांग्रेसको गणतन्त्रप्रतिको निष्ठा कमजोर हुँदै गएको आरोपसमेत लगाए। 'नेताहरूले समाजवादी आदर्शमाथि हमला गर्दै छन्, यो कांग्रेस सक्किने लक्षण हो। तपाईंहरूले पचासौँ वर्ष देशमा शासन गर्नुभयो। एकपटक कम्युनिष्टको पूर्ण बहुमतको शासन हेर्नुस्, हामी देशलाई नयाँ युगमा लैजान्छौँ।' उनले आफूहरू लोकतान्त्रिक प्रणालीबाटै जाने भन्दै अधिनायकवाद भूत मात्र भएको बताए।

जनयुद्धका घाइतेका गोली हामी निकाल्छौँ: ओली
चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धका घाइतेहरूका शरीरका गोली बामपन्थी सरकारले निकाल्ने बताए। 'तपाईंहरूले परिवर्तनका लागि लडाइँ लड्नुभयो। जनयुद्ध र जनआन्दोलनमा तपाईंहरूले गर्नुभएको योगदानको म सम्मान गर्छु', गल्कोटमा आयोजित चुनावी सभामा ओलीले भने, 'जनयुद्ध लडेका साथीहरूले चिन्ता नलिनुस्, तपाईंहरूको शरीरका गोली हामी निकाल्छौँ। रोजगारीको वातावरण सिर्जना गर्छौं। तपाईंहरूले गरेको त्याग र बलिदानको सम्मान गर्छौं।'

पुसको पहिलो हप्ता वामपन्थी सरकार बन्ने र त्यसैका लागि आफूहरू देशव्यापी अभियानमा रहेको भन्दै अोलीले बामपन्थी सरकारलाई कसैले रोक्नै नसक्ने दाबी गरे। कुस्मा बजारमा आयोजित कार्यक्रममा ओलीले भने, 'अब नेपालमा राजनीतिक स्थिरताको युग सुरु भयो, समृद्धिको युग सुरु भयो। कम्युनिष्टहरूको एकता कसैले रोक्न सक्दैन। हामी नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाएर देखाउँछौँ। चुनावपछि एमाले र माओवादीको पुच्छर हटाउँछौँ, शक्तिशाली कम्युनिष्ट पार्टी बनाउँछौँ।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.