|

काठमाडौं : संविधानअनुसार मुलुकको पुन:संरचना भएपछि पहिलोपटक प्रदेशसभाको निर्वाचन हुँदैछ। सातै प्रदेशमा हुने निर्वाचनबाट चुनिने प्रदेशसभा सदस्यले सम्बन्धित प्रदेशको मुख्यमन्त्री चुन्नेछन्। मुख्यमन्त्रीका लागि दलहरुमा को-को छन् त आकांक्षी?

कांग्रेस-

प्रदेश नम्बर १
अधिकांश जिल्ला सभापति दाबेदार

कांग्रेसका ठूला नेता प्रदेश सभाको उम्मेदवार छैनन्। त्यसैले जिल्ला सभापतिहरू नै मुख्यमन्त्रीका दाबेदार देखिन्छन्। ताप्लेजुङबाट जिल्ला सभापति लीला बोखिम, पाँचथरबाट नरेन्द्र केरुङ, सुनसरीबाट राजीव कोइराला, उदयपुरबाट विदुर बस्नेत, सोलुखुम्बुबाट आङगेलु शेर्पा, खोटाङबाट विष्णु राई, धनकुटाबाट मनोहरनारायण श्रेष्ठ र तेह्रथुमबाट गोविन्द ढुंगाना उम्मेदवार छन्। उनीहरू नै मुख्यमन्त्रीका दाबेदार हुन्। यीमध्ये सभापति शेरबहादुर देउवाका सबैभन्दा निकट आङगेलु शेर्पा हुन्।

प्रदेश नम्बर २
पूर्वराष्ट्रपति र कोषाध्यक्षका छोरासम्म

पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन धनुषा र कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. सुभाषचन्द्र सिरहाबाट उम्मेदवार छन्। त्यस्तै, नेविसंघका पूर्वसभापति रञ्जित कर्ण सप्तरी, पूर्वसांसद डा. गणेश मण्डल सिरहा, प्रेमकिशोर साह तथा रामसरोज यादव धनुषा र जनार्दन क्षेत्री पर्साबाट उम्मेदवार छन्। उनीहरू नै मुख्यमन्त्रीको दाबेदार हुन्।

प्रदेश नम्बर ३
केन्द्रीय सदस्यदेखि पूर्वसांसदसम्म

सिन्धुलीका श्याम घिमिरे, मकवानपुरका इन्द्र बानियाँ, चितवनका दिनेश कोइराला, काभ्रेका कञ्चनचन्द्र बादे श्रेष्ठ, काठमाडौंका लोकेश ढकाल, भक्तपुरका गणेशमान चक्रधर र नुवाकोटका जगदीश्वरनरसिंह केसी मुख्यमन्त्रीका उम्मेदवार हुन्।

प्रदेश नम्बर ४
तीन केन्द्रीय सदस्य दाबेदार

प्रदेश नम्बर ४ मा भने केन्द्रीय नेताहरू नै दाबेदार छन्। कृष्णचन्द्र नेपाली नवलपुर पूर्व १ (क), महेन्द्रध्वज जिसी (ख), तनहुँ १ (क) गोविन्द भट्टराई, तनहुँ २ (क) प्रदीप पौडेल, (ख) मा धु्रव वाग्ले, कास्की १ (क) जीवन परियार उम्मेदवार छन्। उनीहरु नै मुख्यमन्त्रीका दाबेदार हुन्। भट्टराई, पौडेल र परियार केन्द्रीय सदस्य हुन्। यीबाहेक कास्की ३ (क) शारदा पौडेल, स्याङ्जा १ (क) कमलप्रसाद पंगेनी पनि मुख्यमन्त्रीका दाबेदार हुन्।

प्रदेश नम्बर ५
मुख्यमन्त्रीका दाबेदार लो–प्रोफाइलका

प्रदेश नम्बर ५ बाट कांग्रेसमा केन्द्रीयस्तरका नेता मुख्यमन्त्रीका दाबेदार छैनन्। कपिलवस्तु ३ (ख) बाट वीरेन्द्रकुमार कनौडिया, दाङ ३ (क) बाट डिल्लीबहादुर चौधरी, दाङ २ (क) बाट कमलकिशोर घिमिरे मुख्यमन्त्रीका दाबेदार हुन्।

प्रदेश नम्बर ६
शाही र विष्ट दाबेदार

प्रदेश नम्बर ६ बाट कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही हुम्ला (ख) बाट प्रदेश सभामा उम्मेदवार बनेका छन्। सुर्खेत २ (ख) बाट तप्तबहादुर विष्ट पनि अर्कोे सम्भावित नाम हो।

प्रदेश नम्बर ७
पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म

प्रदेश नम्बर ७ मा डडेल्धुरा (क) बाट रघुराज भट्ट, (ख) बाट कर्णबहादुर मल्ल, डोटी १ (क) बाट भरतबहादुर खड्का, बाजुरा (क) बाट जनकराज गिरी मुख्यमन्त्रीका दाबेदार हुन्। यीमध्ये गिरी पूर्वसहायकमन्त्री हुन्। खड्का सांसद भइसकेका छन्। मल्ल कांग्रेस डडेल्धुरा सभापति हुन्। बझाङ (ख) बाट उम्मेदवार बनेका पूर्वराज्यमन्त्री नरेशबहादुर सिंह पनि दाबेदार हुन्।

एमाले-
प्रदेश नम्बर १
आचार्य र राई दाबेदार

एमाले सचिव भीम आचार्य, पोलिटब्युरो सदस्य तथा पूर्वसञ्चारमन्त्री शेरधन राई मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्। आचार्यले सुनसरी १ (ख) बाट उम्मेदवारी दिएका छन्। त्यस्तै,पूर्वमन्त्री शेरधन राई भोजपुर (क) बाट उम्मेदवार छन्।

प्रदेश नम्बर २
संयोजक र सहसंयोजक दुवै दाबेदार 

स्थायी समिति सदस्य तथा पार्टी प्रदेश संयोजक सत्यनारायण मण्डल र सहसंयोजक नागेन्द्र चौधरी दुवै प्रदेश सभामा उम्मेदवार छन्। मण्डल सप्तरी १ (क) बाट तथा चौधरी पर्सा ३ (क) बाट उम्मेदवार छन्। एमालेले मुख्यमन्त्री पाएको अवस्थामा उनीहरू नै प्रमुख दाबेदार हुन्। यद्यपि, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच यो प्रदेशमा मुख्यमन्त्री माओवादीलाई दिने अनौपचारिक छलफल चलेको स्रोतको दाबी छ।

प्रदेश नम्बर ३
उपाध्यक्षसहित पाँच नेता दाबेदार 

यो प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित पाँचजना पोलिटब्युरो सदस्य मुख्यमन्त्रीका दाबेदार छन्। पाँचैजनाले आफूलाई सम्भावित मुख्यमन्त्रीका रूपमा सामाजिक सञ्जालमा प्रचार गरिरहेका छन्। शाक्य काठमाडौं ८ (ख) बाट उम्मेदवार बनेकी छिन्। उनी प्रदेश सभामा उम्मेदवार बनेकामध्ये सबैभन्दा उच्च तहकी नेतृ हुन्। 
त्यस्तै, दुईपटक पोलिटब्युरो सदस्य भइसकेका पशुपति चौलागाईं दोलखा, राजेन्द्रप्रसाद पाण्डे धादिङबाट उम्मेदवार छन्। अर्का पोलिटब्युरो सदस्य अरुण नेपालले सिन्धुपाल्चोक तथा वैकल्पिक पोलिटब्युरो सदस्य सानु श्रेष्ठ काठमाडौं २ बाट प्रदेश सभामा उम्मेदवार छन्। चौलागाईंलाई शीर्ष तहमा भावी मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमतिपछि प्रदेश सभामा उठाइएको स्रोतले जनाएको छ।

प्रदेश ४
सचिवदेखि स्थायी समिति सदस्यसम्म दाबेदार 

प्रदेश नम्बर ४ बाट एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार हुन्। पृथ्वीसुब्बा लमजुङ र किरणले तनहुँबाट प्रदेश सभामा उम्मेदवार छन्। दुवैले मुख्यमन्त्रीका रूपमा प्रदेश नम्बर ४ लाई ‘पर्यटन हब’का रूपमा विकास गर्ने एजेन्डा अघि सारेका छन्। 

प्रदेश ५ 
शंकर पोखरेल प्रमुख दाबेदार 

प्रदेश नम्बर ५ बाट एमालेबाट स्थायी समिति सदस्य शंकर पोखरेल र वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ चौधरी मुख्यमन्त्रीका दाबेदार छन्। पोखरेलले दाङ २ (ख) बाट र चौधरी परासी २ (ख) बाट प्रदेश सभामा उम्मेदवार छन्। माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई प्रतिनिधिसभामा उठाउनुपर्ने भएपछि पोखरेललाई अध्यक्ष केपी ओलीले मुख्यमन्त्री बनाउने आश्वासनका साथ प्रदेश सभामा उठाएको स्रोतले जनाएको छ। सम्भावित मुख्यमन्त्रीका रूपमा उनले प्रदेशको समग्र विकासबारे पूर्वाधार, यातायात, पुँजी परिचालनलगायत १० वटा मुख्य एजेन्डा अघि सारेका छन्।

प्रदेश ६
ज्वाला र कँडेल प्रतिष्पर्धी

प्रदेश नम्बर ६ मा दुई पोलिटब्युरो सदस्य प्रकाश ज्वाला र यामलाल कँडेल मुख्यमन्त्रीका दाबेदार छन्। ज्वालाले सल्यान (ख) बाट तथा कँडेलले सुर्खेत (ख) बाट प्रदेश सभामा उम्मेदवारी दिएका छन्। तर, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच यो प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने गरी छलफल चलिरहेको स्रोतले जनाएको छ। 

प्रदेश ७
थापा एकल दाबेदार 
प्रदेश नम्बर ७ बाट पोलिटब्युरो सदस्य कर्णबहादुर थापा एमालेबाट मुख्यमन्त्रीमा एकल दाबेदार देखिएका छन्। बाजुराबाट प्रदेश सभामा उम्मेदवारी दिएका थापालाई उपाध्यक्ष तथा प्रदेश नम्बर ७ का संयोजक भीमबहादुर रावलले प्रदेश सरकार बन्दा थापा नै मुख्यमन्त्री बन्ने सार्वजनिक घोषणा गरिसकेका छन्।

प्रदेश सभामा दलको नेता मुख्यमन्त्री 
कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालय, सचिव, एमाले 

अहिले नै कुन प्रदेशमा को मुख्यमन्त्रीका उम्मेदवार तोकिसकेका छैनौँ। तालमेलका कारण पोलिटब्युरोदेखि सचिव तहसम्मका नेता प्रदेश सभामा उठ्नुभएको छ। अहिले जो चर्चामा हुनुहुन्छ, उहाँहरूमध्येबाटै मुख्यमन्त्री बन्ने हो। एमालेले जबजलाई अंगीकार गरेकाले पार्टीभित्र पनि खुला प्रतिस्पर्धा स्विकार्छौँ। भोलि प्रदेश सभा सांसद निर्वाचित भएर आएपछि प्रतिस्पर्धाबाट जो दलको नेता चुनिन्छ, ऊ नै मुख्यमन्त्रीको उम्मेदवार बन्नेछन्।

माओवादी
प्रदेश नम्बर २
भरत साह चर्चामा

माओवादीले प्रदेश नम्बर २ मा पूर्वसांसद भरत साह आफूलाई मुख्यमन्त्रीको दाबेदार भनेर प्रचारप्रसार गरिरहेका छन्। उनी ०६३ मा सांसदका रूपमा सिंहदरबार प्रवेश गरेका थिए। दोस्रो संविधानसभा निर्वाचनमा भने महोत्तरी ६ बाट पराजित भएका थिए। त्यस्तै, समानुपातिक सूचीमा रहेका जगत यादवले पनि मुख्यमन्त्रीको दाबी गरेका छन्। 

प्रदेश नम्बर ४
‘पर्ख र हेर’को रणनीतिमा 

माओवादी केन्द्र प्रदेश नम्बर ४ मा ‘पर्ख र हेर’ को अवस्थामा छ। प्रदेश नम्बर १, ३, ४ र ७ मा प्रदेश सभामा उठेका माओवादी केन्द्रका नेताले मुख्यमन्त्रीमा दाबी गरेका छैनन्। इच्छा भएकाले पनि मुख खोलेका छैनन्। निर्वाचन जितेपछि मात्र मुख्यमन्त्रीको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने रणनीति उनीहरूले बनाएका छन्। 

प्रदेश नम्बर ५ 
कुलप्रसाद केसीको दाबी 

माओवादी केन्द्रले प्रदेश नम्बर ५ बाट कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेको छ। उनी रोल्पा (क) बाट उम्मेदवार बनेका छन्। तर, एमालेका तर्फबाट स्थायी समिति सदस्य शंकर पोखरेललाई अगाडि सारिएकाले अवसर कसले पाउने भनेर निक्र्योल हुन निर्वाचन नै पर्खिनुपर्ने स्थिति छ। 

प्रदेश नम्बर ६ 
भण्डारी र शाही दाबेदार

विना विभागियमन्त्री महेन्द्रबहादुर शाही, पूर्वसांसद नरेश भण्डारीले मुख्यमन्त्रीमा दाबी गरेका छन्। शाहीले कालिकोट (ख) बाट उम्मेदवारी दिएका छन्। भण्डारी जुम्ला (क) बाट उम्मेदवार छन्। शाही दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट निर्वाचित भएका थिए। भण्डारी पहिलो र दोस्रो संविधानसभामा सभासद् थिए। प्रदेशसभामा समानुपातिक उम्मेदवार पूर्वमन्त्री सत्या पहाडी पनि मुख्यमन्त्रीको दाबेदार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.