|
फाइल फोटो

सनातन धर्मअन्तर्गत पर्ने थुप्रै चाडपर्वमध्ये बालाचतुर्दशीको विशेष महत्त्व छ। चान्द्रमानको पात्रोअनुसार प्रत्येक वर्ष हेमन्त ऋतुको मार्ग कृष्ण चतुर्दशीमा पर्ने बालाचतुर्दशीलाई शतबीज रोपण पर्व भनिन्छ। 

बालाचतुर्दशी विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ। मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अन्य शिवालयहरूमा दीप प्रज्ज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीका दिन बिहान सबेरै शतबीज रोपण गरिन्छ। बोलीचालीको भाषामा ‘सद्बिउ छर्ने’ भनिने शतबीज रोपण कार्यले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास छ। 

अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ। यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका सर्वसाधारण आफ्ना पितृहरूको उद्धार गर्नै उद्देश्यले पशुपति परिसरमा आइपुग्छन्। पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमाद्रिले भनेका छन्– सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म नविद्यते।

बालाचतुर्दशी विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ। मार्गकृष्ण त्रयोदशीको साँझमा उपत्यकाको पशुपतिनाथ लगायत अन्य शिवालयहरूमा दीप प्रज्ज्वलन गरी रातभरि जाग्राम बसी भोलिपल्ट अर्थात् चतुर्दशीका दिन बिहान सबेरै शतबीज रोपण गरिन्छ। बोलीचालीको भाषामा ‘सद्बिउ छरिने’ भनिने शतबीज रोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास छ। 

संस्कृत शब्द शतको अर्थ सय र बीजको अर्थ बिउ हुन्छ। यसरी शतबीज भन्नाले सयथरी बिउ भन्ने बुझिन्छ। तरपनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइन्छ। यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूल पनि हुने गर्छन्। यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूलहरू पनि मिसाइन्छ।

आफ्ना मातापिताको आशौच वा बरखी बारेको समय बाध्यताले गर्दा गर्नुपर्ने विविध नियमहरूको पालन गर्न नसकिने हुनाले मार्गकृष्ण त्रयोदशीको साँझमा बत्ती जगाई रातभरि जाग्राम बसी भोलिपल्ट शतबीज छर्नाले आध्यात्मिक र आधिभौतिक र आधिदैविक पापहरू नष्ट हुने विश्वास गरिन्छ।

भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुमे, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक दाना बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ। भगवान् शिवले पनि आफ्नो बालककालमा शतबीज छरेकोले यो दिनको नाम बालाचतुर्दशी रहेको हो भन्ने पनि किंवदन्ती पाइन्छ। यसैगरी शिवजीले कुनै समयमा श्लेषमान्तक वनमा बालाचतुर्दशीको दिन शतबीज छर्नेका पितृहरूले मोक्ष प्राप्त गर्ने वरदान दिएको कथा चलेको पाइन्छ।

बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको र थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको भनाइ पनि पाइन्छ। बालाचतुर्दशी मनाउने सन्दर्भमा बालानन्द नामका मानिस कर्मका प्रभावले बालासुर राक्षसमा परिणत भएको र मित वृषसिंहले उसको हत्या गरेको किंवदन्ती समाजमा चलेको छ। पछि उनै वृषसिंहले पशुपति, मृगस्थली वरिपरि बत्ती बालिदिँदा बालासुरले मोक्ष पाएको बताइन्छ।

बालाचतुर्दशीका दिन छरेका अन्नहरू उम्रिएपछि पशुपति क्षेत्र वरपर रहने मृग, गाई आदि जनावरले खाने र उनीहरूको तृप्ति हुने तथ्य अर्कोतिर छ। तर हिजोआज सिमेण्टले ढलान गरिएका र ढुंगा छापिएका ठाउँमा गरिने शतबीज रोपणले भने यो तथ्यसँग मेल खाँदैन।

वर्षदिन यता मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरै वर्षअघि दिवंगत भएका पितृका सन्तानहरूले मार्ग कृष्ण त्रयोदशीका साँझ पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्छन्। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास गरिन्छ। राति बालिएको बत्ती चतुर्दशीको बिहानै वागमती वा आफ्नो पायक पर्ने नदीमा सेलाए (बगाए) पछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, चौसठ्ठी लिंग आदि विभिन्न चौध स्थानमा शतबीज छर्छन्। लगातार दुई वा तीन वर्ष बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा चतुर्थी गर्छन्।

धर्मसिन्धुको भनाइअनुसार बाबुआमा आदिको मृत्यु भएको वर्ष अशौची पुत्रादिले शिवालयमा जानु, शिवजीको दर्शन गर्नु, पूजा गर्नु आदि केही गर्न हुँदैन भन्ने वचन पाइन्छ। त्यसैले बरखी बारेको वर्ष पशुपतिनाथमा आदिमा बत्ती बाल्ने, शतबीज छर्ने जस्ता कार्य गर्नु उचित नहुने पं. बालमुकुन्द देवकोटा बताउँछन्।

तर धर्मसिन्धुको भनाइअनुसार बाबुआमा आदिको मृत्यु भएको वर्ष अशौची पुत्रादिले शिवालयमा जानु, शिवजीको दर्शन गर्नु, पूजा गर्नु आदि केही गर्न हुँदैन भन्ने वचन पाइन्छ। त्यसैले बरखी बारेको वर्ष पशुपतिनाथमा आदिमा बत्ती बाल्ने, शतबीज छर्ने जस्ता कार्य गर्नु उचित नहुने पं. बालमुकुन्द देवकोटा बताउँछन्।

पहिलो र दोस्रो वर्ष वत्ती बाल्नेहरूभने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन्। कैलाशमा बसेर दहीच्युरा खानाले भगवान शिव खुशी हुन्छन् भन्ने लोकोक्ति छ। तर पशुपति वा शिवालयमा गई वत्ती बाल्न अनुकुल नहुनेहरू घरैमा बत्ती बालेर भोलिपल्ट नदी वा जलाशयमा गई पितृको नाममा बत्ती बगाउँछन्। 

बालाचतुर्दशी वा शतबीज रोपण पर्वको मुख्य सन्देश के हो भने हामीले आफू बाँचेको समाजलाई मात्र नहेरी दिवंगत भएका पितृहरूको पनि सम्झना गर्नुपर्छ।एकातिर पितृको उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र परिवारको पनि कल्याण हुने सनातन धर्मको मान्यता छ। श्रुति, स्मृति र पुराणहरूमा ‘देवता रिझाउन भन्दा पितृ रिझाउन कठिन हुन्छ, पितृ खुशी भए परिवारमा सुख, समृद्धि र ऐश्वर्य वृद्धि हुन्छ’ भनिएकाले पनि यस पर्वको महत्त्व प्रष्ट हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.