|

रुपन्देही : एक वर्षअघि बुटवलको एक लघुवित्तमा सिइओको जागिर गर्दै थिए मनिकर कार्की। रामेछापको मन्थलीमा जन्मिएर अध्ययनको शिलशिलामा काठमाडौं पसेका उनी अध्ययन र रोजगारीका लागि बुटवल आइपुगे। बुटवलमा बैंकको जागिर, कलेजमा प्राध्यापन, लघुवित्तमा सिइओ र एक सञ्चारमाध्यममा सिओओका रुपमा काम गर्दै गर्दा उनले नेपालको राजनीतिकै कारण धेरै कुराहरु अस्तव्यस्त रहेको बुझे। सबै नीतिहरुको नीति राजनीति नसुध्रिएसम्म नेपालको आर्थिक, सामाजिक परिवर्तन सम्भव छैन भन्ने चेत भएपछि उनी सबै छाडेर राजनीतिमा लागे।

‘जसले पनि राजनीति बिग्रियो र नेताहरु खत्तम भए भन्ने कुरा सुन्थेँ, तर कसैले म राजनीतिमा लागेर सुधार गर्छु भनेको सुनिन, भ्रष्टहरु झन् भ्रष्ट भएको, जेलनेल खाएको भन्दै क्षमताभन्दा बढी जिम्मेवारी पाएर छाडातन्त्र मौलाएको देखेँ, अनि म राजनीति सुधार्न भन्दै लागेँ,’ उनी भन्छन्। 

झण्डै १ लाख रुपैयाँ तलब, अरु सुविधाहरुलाई त्यागेर मनिकर राजनीतिमा लाग्दै गर्दा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिबारे बहस चलिरहेको थियो। डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी नेपाल गठन गरेको केही समयभित्रै उनी पार्टीको केन्द्रीय परिषद् सदस्यको रुपमा मनोनित भएर काम गर्न थाले। 

‘म खासगरी व्यवस्थापनको विद्यार्थी, त्यसमा पनि अर्थशास्त्रको विद्यार्थी र मिडिया क्षेत्रको अनुभवी भएकाले पार्टीको मिडिया र व्यवस्थापनको पाटोमा चासो राखेँ,’ उनी भन्छन्, ‘मलाई राजनीतिका बारेमा धेरै कुरा सिक्नु थियो, नेपालको शासनप्रणाली र यसको जनतासँगको सम्बन्धका बारेमा जान्न थियो, त्यसैले यतिका समय मैले खुला राजनीतिभन्दा पनि अध्ययनमूलक काममा धेरै बिताएँ, प्रतिनिधि सभाको चुनावमार्फत अब फिल्डमै आएको छु।’ 

कार्की रुपन्देही क्षेत्र नंं. २ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन्। मनोनयन दर्तापछि युवाहरुसँग छलफल र वैकल्पिक राजनीतिको बहसमा रहेका उनी नेपाली राजनीतिमा रहेको पुरानो शैली र परम्परालाई बदल्नुपर्छ भन्ने अभियानमा छन्। ‘हरेक कुरालाई नयाँ र समाज सुहाउँदो गरी गर्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनी भन्छन्, ‘हामी अरु पार्टीले जस्तो तुल ब्यानर राख्ने, भित्ता रंग्याउने, माइकिङ गर्ने, गाडीका गाडी मानिसहरु ओसारेर सभाहरु गर्ने जस्ता अनावश्यक र भड्किला कार्यक्रमहरु गर्दैनौँ, बरु सूचना र प्रविधिको उच्चतम सदुपयोग गर्छौं।’ उनी भोट माग्न आफ्ना योजनाहरु भिडियो प्रदर्शन, मोबाइलसभा, मत हाल्न निम्तो कार्ड वितरणजस्ता नयाँ शैलीका काम गरेका छन्। 

उनीजस्तै ३४ वर्षका अर्का युवा हुन्, हरिकृष्ण अधिकारी। बुटवलमा डेन्टल व्यवसाय गरिरहेका अधिकारी पनि राजनीतिलाई परम्परागत ढंगबाट युग सुहाउँदो शैलीमा लैजान चाहन्छन्। ‘हामीले हिजोसम्म गरिरहेकै थियौं, चलेकै थियो भनेर त्यसलाई ठीक भनिरहेका छौं, त्यसैलाई आधार मानेर काम गरिरहेका छौं,’ उनी भन्छन्, ‘अब यो परम्परागत शैलीको राजनीतिले चल्दैन, पूरा जीवन राजनीतिमा लगाउने र त्यसैबाट फाइदा लिने उद्देश्य राखेर मुलुकलाई सुधार्न सकिँदैन।’
विवेकशील साझा पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार रहेका उनी राजनीतिलाई पूर्णकालीन बनाउन नहुने बताउँछन्। उनको तर्क छ, ‘जब राजनीति पूर्णकालीन हुन्छ, तबदेखि पार्टीमा दिएको समय र लगानीको प्रतिफल खोजिन्छ, त्यसैले राजनीतिलाई सामाजिक सेवासरह नै अघि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो।’ 

कार्की र अधिकारीजस्ता अरु केही युवा पनि राजनीति सुधार्ने भन्दै चुनावमा होमिएका छन्। नयाँ शक्ति पार्टी नेपालका तर्फबाट रुपन्देही २ को १ मा प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेका पंकज राई र विवेकशील साझाबाट रुपन्देही २ को २ मा प्रदेशसभा सदस्य पदको उम्मेदवार बनेका निलम अधिकारी राजनीतिलाई होलटाइमर बनाउन नहुने तर्क गर्छन्। अधिकारी भन्छन्, ‘राजनीति जसरी अघि बढिरहेको छ, यसको ट्र्याक नै चेन्ज गर्नुपर्छ, यो शैलीको राजनीतिले हाम्रो देशको विकास गर्न सक्दैन, हामीजस्ता युवाहरु यो अभियानमा लागेर नै मुलुकलाई समृद्ध बनाउन सकिन्छ।’ 

चुनावलाई हारजितको रुपमाभन्दा बढी अभियानको रुपमा अघि बढाएको बताउने कार्की नयाँ सोचको थालनी गराउनका लागि आफुले उम्मेदवारी दिएको बताउँछन्। उनी भन्छन्, ‘अहिले नै मैले जितुँला या हारुँला भन्ने मेरो प्राथमिकतामा छैन, मेरो प्राथमिकतामा त आम मानिसको सोचलाई परिवर्तन गर्नुपर्छ र पुरानै ढर्राबाट जे जसरी गरिएको छ त्यसलाई बदल्न नसकेसम्म समृद्धितर्फको यात्रामा अघि बढ्न सकिँदैन भन्ने विचारलाई स्थापित गर्नु छ।’

उनी जस्तै सोच बोकेर राजनीतिमा होमिएका प्रदेशसभाका उम्मेदवार राई भन्छन्, ‘हामीले परिवर्तन त धेरै ल्यायौं, तर दलीय भागवण्डाको राजनीति र पुरानै शैलीको राज्य संरचनाका कारण विकासमा जुन फड्को मार्नुपर्ने थियो त्यो हुन सकेन, अब पुरानालाई धन्यवाद दिएर नयाँले नयाँ ढंगले काम गर्ने बेला आएको छ।’ ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा २३ दलले चुनावमा भाग लिँदैछन्। मंसिर २१ मा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि २३८ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.