|

रुकुम : रुकुम पूर्व जिल्लाबाट प्रतिनिधिसभा उम्मेदवार माओवादी नेतृ कमला रोका अहिले आफ्नो जिल्लामा चुनावी घरदैलो र सभा कार्यक्रममा ब्यस्त छिन्। आफू मन्त्री हुँदा गरेका काम र अब प्रतिनिधिसभामा निर्वाचित भएपछि गर्ने विकास प्रतिबद्धता साथ गाउँ पसेकी उनले कान्छो जिल्लाको मुहार फेर्ने उद्घोष गरिरहेकी छिन्। माओवादी नेता गणेशमान पुनकी पत्नी यनफ यसपटक आफ्ना पतिलाई उछिनेर आफू नै बनेकी हुन्।

रोका २० पेज लामो प्रतिवद्धता पत्रसहित मतदाता माझ पुगेकी छन्। उक्त प्रतिवद्धता पत्रमा पूर्वी रुकुमका दुर्गम गाउँमा इन्टरनेट विस्तारदेखि एयरपोर्ट निर्माणसम्मका योजना समेटिएका छन्। मध्यपहाडी लोकमार्गमा बिच्छ्याइने फाइबर कार्यक्रमलाई तिब्रता दिर्दै सदरमुकाम, सहर र सबै बस्तीमा एडीएसएल सेवासहित ब्रोडल्याण्ड डाटा विस्तार गरी सबै गाउँमा इन्टरनेट पुर्‍याउने उनको योजना छ।

त्यस्तै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका पर्यटकहरुलाई पूर्वी रुकुम सहजरुपमा आउने बनाउन व्यवसायिक जहाज उडान र अवतरणका लागि लागि साँखको ठुलीदहमा एयरपोर्ट बनाउने रोकाको योजना छ। साना जहाजका लागि हुकामको रिसल्लाकोट र महतमा राख्ने गरी विमानस्थल निर्माणको अध्ययन गरिने उनले बताइन्।

रोकाले प्रतिवद्धतापत्रमा रोल्पा सहिदमार्गको थवाङ मैकोट खण्डको खैरे हुकाम मैकाट हुदै डोल्पासम्म ट्रयाक खोल्ने र स्तरोन्नति गर्दै जाने उल्लेख गरेकी छन्। पूर्वी रुकुमको कला संस्कृति र पर्यटनको संस्थागत गर्दै त्यस क्षेत्रमा भएका खोलानालाबाट प्रत्येक गाउँपालिकामा १/१ वटा मझौला विद्युत आयोजना निर्माण गरी स्थानीय जनताको जीवनयापन र उद्योग व्यवसायमा समेत लगाइने प्रतिवद्धतापत्रमा उल्लेख छ।

सदरमुकाममा १ सय शैय्याको अस्पताल निर्माण गर्नेदेखि गाउँपालिकामा २५ शैय्याको अस्पताल निर्माण गर्ने प्रतिबद्धता पनि उनको छ। युवाहरुलाई बिदेश जान रोकेर गाउँमै राजगारी सिर्जना गर्ने, वृद्ध, असहाय, एकल महिला र सहिद परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीमा प्रथामितासँगै सुरक्षाभत्ता घरघरमै पुर्‍याउने योजना अघि सारिएको छ।

के छ कांग्रेस उम्मेदवारको एजेण्डा?

वाम गठबन्धनकी उम्मेदवार रोकासँग प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट हरिशंकर घर्ती प्रतिस्पर्धामा छन्। घर्तीले पूर्वी रुकुमको सडक यातायातको विस्तार गर्दै विकास निर्माण काममा हुने भ्रष्टाचार रोक्ने विषयलाई मुख्य एजेण्डा बनाएका छन्। जिल्लाका सबै गाउँगाउँमा सडक सञ्जाल पुर्‍याउने, पूर्वी रुकुमको सञ्चारको विकासमा तिब्र रुपमा जोड दिने पनि घर्तीको योजना छ। पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा अहिले पनि राम्रोसंग मोवाइल र टेलिफोनले काम गर्दैन।

पूर्वी रुकुमबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रबाट तेजबहादुर ओली र २ मा पूर्ण घर्ती उम्मेदवार छन्। नेपाली कांग्रेसबाट क्षेत्र नम्बर १ मा दूतकुमार पुन र २ मा दत्तबहादुर बस्नेत उम्मेदवार छन्। जनयुद्धको उद्गम थलोको रुपमा चिनिने रुकुमबाट यसअघिको दुईवटा संविधानसभा  निर्वाचन र स्थानीय निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.